प्रदेश अधिवेशन २६ जेठबाट सुरु हुने

२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीका वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भएपछि आज र भोलि देशव्यापी रूपमा जिल्ला अधिवेशन आयोजना गरिएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ गते ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन भइरहेको छ। भोलि जेठ २४ गते थप २७ जिल्लामा निर्वाचन हुनेछ।

विशेष सांगठनिक परिस्थितिका कारण एक जिल्लामा भने जेठ २६ गते निर्वाचन गरिनेछ। सोही दिनदेखि बागमती प्रदेशबाट प्रदेश अधिवेशनसमेत सुरु हुने जनाइएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनलाई पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण चरणका रूपमा व्याख्या गरेका छन्। उनले स्वच्छ र निष्पक्ष निर्वाचनमार्फत नेतृत्व चयन गरिने भन्दै तदर्थ जिम्मेवारीलाई स्थायी मान्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे।

निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ। सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन भइसकेको आयोगले जनाएको छ।

केन्द्रीय पोर्टलमा अद्यावधिक तथ्यांकअनुसार चार हजार २४६ वडा समिति र ५१२ पालिका समितिका अधिवेशन सम्पन्न भइसकेका छन्। साथै केही तदर्थ समितिहरू पनि अद्यावधिक गरिएको उल्लेख गरिएको छ।

७७ मध्ये ६७ जिल्लामा राष्ट्रिय महाधिवेशनअघि नै निर्वाचन सम्पन्न गरिने योजना रहेको आयोगले जनाएको छ। बाँकी १० जिल्लामा भने महाधिवेशनपछि क्रमशः अधिवेशन गरिनेछ।

आयोगले सम्पूर्ण सरोकारवालाहरूलाई आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।