सीमा
नेपाल-भारत सिमानामा रहेको एक लौहस्तम्भबारे नापी विभाग र सुरक्षा निकायसँग नै आधिकारिक जानकारी उपलब्ध छैन।
मधेस प्रदेशको महोत्तरी जिल्लास्थित मटिहानी नगरपालिका-८ र भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाको मधवापुर बजारको सीमारेखामा एउटा फलामको स्तम्भ छ। नेपाल-भारत सीमामा रहेका अन्य स्तम्भभन्दा यो लौहस्तम्भ फरक छ। फरक यस कारणले पनि छ कि यसको इतिहास, उद्देश्य र आधिकारिक अभिलेखबारे राज्यका निकायहरूसँगै स्पष्ट उत्तर छैन।
स्तम्भ महोत्तरी र धनुषाको सीमा छुट्याउने बिग्ही नदीमा बनेको पक्की पुलभन्दा दक्षिण-पश्चिमतर्फ छ। जसमा अंग्रेजी र देवनागरी दुवैमा ‘५५’ लेखिएको देखिन्छ। तर, लम्बाइ, मोटाइ वा निर्माणकालबारे आधिकारिक विवरण उपलब्ध छैन।
आकारका हिसाबले बिजुलीको तार तानिएको फलामे पोल जस्तो देखिन्छ। सामान्यतया फलामका सामग्री खियाले बिगार्छन्, तर स्तम्भमा त्यस्तो खराबी देखिँदैन। संरक्षणका लागि जगमा सिमेन्ट ढलान गरिएको छ भने सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीको उपस्थिति पनि देखिन्छ।

मटिहानीस्थित आइरन पिलर। तस्बिर : राकेश चौधरी
मटिहानी नगरपालिकासँग पनि त्यसबारे पर्याप्त जानकारी छैन। जानकारी लिन पंक्तिकारले नापी विभागमा सूचनाको हक प्रयोग गरी निवेदन दर्ता गराउँदा विभागले यसबारे सशस्त्र प्रहरी बल वा परराष्ट्र मन्त्रालयसँग जानकारी हुन सक्ने संकेत गर्यो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेडक्वार्टर महोत्तरीमा सम्पर्क गर्दा फलामको सीमास्तम्भ रहेको भन्ने सुनिएको भए पनि विस्तृत जानकारी नभएको जवाफ प्राप्त भयो।
विज्ञ नै अनभिज्ञ
नेपाल-भारत सीमा र सीमास्तम्भबारे सीमाविद्हरूले धेरै लेखेका छन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठको कार्यपत्रअनुसार नेपाल-भारत सीमारेखाको सर्वेक्षण र सीमांकन सन् १८१६ देखि १९४१ को अवधिमा विभिन्न चरणमा गरिएको थियो। उनका अनुसार सन् १८१६-१८२०, १८६०, १८८०-१८८६, १९०६, १९२०-१९२४ र १९४०-१९४१ का बिचमा सर्वेक्षण भएका हुन्। पहिलो सीमा नक्सा सन् १८१८ मा प्रकाशन भएको थियो। ती सर्वेक्षणका क्रममा जंगे पिलर र अन्य सीमास्तम्भ गाडिएको उल्लेख पाइए पनि मटिहानीको फलामे स्तम्भबारे स्पष्ट चर्चा भेटिँदैन।
नेपाल-भारत सीमामा ठूला, मझौला र साना गरी आठ हजार ५५३ सीमास्तम्भ रहेको तथ्यांक नापी विभागले मान्दै आएको छ भने सशस्त्र प्रहरी बलले भारत र चीनसँग सिमाना जोडिएका ३५ जिल्लामा आठ हजार १८१ नेपाली सीमास्तम्भ रहेको दाबी गर्ने गरेको छ। भारतसँगको सीमा लम्बाइ एक हजार ७५१ तथा चीनसँगको सीमा लम्बाइ एक हजार ४१४ किलोमिटर छ। तथ्यांकमै यस्तो फरक देखिनुले सीमा अभिलेख व्यवस्थापनमा राज्यको कमजोरी देखिन्छ।

नापी विभागको सूचना।
फरक खालका सीमास्तम्भका विषयमा पहिले पनि छिटपुट चर्चा भएको देखिन्छ। असोज २०५३ मा प्रकाशित मूल्याङ्कन मासिकमा झापाका तत्कालीन सांसद पुष्प पोखरेलको अन्तर्वार्तामा ब्रिटिसकालमा गाडिएको फलामको सीमास्तम्भबारे उल्लेख गरिएको पाइन्छ। उनले झापा क्षेत्रका केही स्थानमा आरपी लेखिएका फलामका स्तम्भ भेटिएको चर्चा गरेका थिए। यसले नेपाल-भारत सीमाका अन्य भागमा पनि यस्ता स्तम्भहरू हुन सक्ने सम्भावना देखाउँछ। तर, त्यसबारे व्यवस्थित खोज र अभिलेखीकरण भएको देखिँदैन।
मधेस मामिलामा लामो समयदेखि लेख्दै आएका पत्रकार तथा लेखक चन्द्रकिशोरका अनुसार मटिहानी-मधवापुर सीमामा रहेको लौहस्तम्भबारे अहिलेसम्म सत्यतथ्य पत्ता लाग्न सकेको छैन। उनले केही वर्षअघि सीमासम्बन्धी जानकार बुद्धिनारायण श्रेष्ठसँग यसबारे जिज्ञासा राख्दा स्पष्ट जानकारी नभएको जवाफ पाएका थिए। त्यसपछि नापी विभाग र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूसँग सम्पर्क गर्दा पनि आवश्यक जानकारी नपाएको उनको भनाइ छ। कुनै समयमा सिमाना छुट्याउँदा स्तम्भ गाडिएको हुन सक्ने अनुमान भए पनि प्रमाणको अभावमा ठोकुवा गर्न गाह्रो परेको उनी बताउँछन्।
चन्द्रकिशोरको सुझाव छ– यस्ता लौह सीमास्तम्भ अन्य सीमावर्ती गाउँमा पनि भेटिन सक्छन्। त्यसैले राज्यले अध्ययन टोली बनाएर नेपाल-भारत सीमामा रहेका यस्ता फरक प्रकृतिका स्तम्भहरूको खोज, अभिलेखीकरण र संरक्षण गर्नुपर्छ।
स्थानीय निकायको बेवास्ता
मटिहानी आफैँ ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। पृथ्वीनारायण शाहले मकवानपुर सेन राज्यमा विजय हासिल गरेपछि मटिहानीसहितको भूभाग गोर्खा राज्य अर्थात् नेपालमा समाहित भएको थियो। मटिहानीमा रहेको सेनकालीन संस्कृत पाठशाला १७७५ सालदेखि नियमित सञ्चालनमा रहेको मानिन्छ।
राममनोहर साहको पुस्तक द मिडिल कन्ट्री मा मटिहानी क्षेत्रका महन्थहरू उमी दास र रणधले दासलाई ब्रिटिस सैनिकले पक्राउ गरी सुगौली क्याम्पमा लगेको उल्लेख छ। जसमा सुगौली सन्धिपछि तराईको दक्षिणी भूभाग ब्रिटिस प्रभावमा परेपछि मटिहानीमा जमिनदार र महन्थहरूले संयुक्त रूपमा विरोध गरेका थिए भन्ने ऐतिहासिक प्रसंग पनि भेटिन्छ। यस विद्रोहमा तत्कालीन सप्तरी-महोत्तरीका नौ जना जमिनदार पनि सामेल थिए। उनीहरूले मटिहानीमा पन्डाल गाडेर ब्रिटिसको अधीनमा नबस्ने आन्दोलन थालेका थिए । उनीहरूलाई १८ महिनापछि मुक्त गरिएको थियो। यद्यपि, ती ऐतिहासक घटना र लौहस्तम्भबीच प्रत्यक्ष सम्बन्ध प्रमाणित भइसकेको छैन भने पछिल्लो समय पनि स्थानीयसँग यसबारे खासै जानकारी छैन।
मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलका अनुसार सिमानामा सिमेन्टका पक्की सीमास्तम्भहरू रहेकाले फलामे स्तम्भतर्फ धेरैको ध्यान नगएको हुन सक्छ। स्थानीय तहले पनि यस विषयलाई अहिलेसम्म प्राथमिकतामा राखेको देखिँदैन। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यसबारे सम्पूर्ण जानकारी उपलब्ध भए थप प्रचारप्रसार र संरक्षणमा पहल गर्न सकिने बताएका छन्।
तर, प्रश्न केवल प्रचारप्रसारको होइन, यो अभिलेख, इतिहास र संरक्षणको विषय हो। सीमास्तम्भको वास्तविकता पत्ता लगाउन नापी विभाग, परराष्ट्र मन्त्रालय, सशस्त्र प्रहरी बल, पुरातत्त्व विभाग, स्थानीय सरकार र इतिहास अनुसन्धाताबिच समन्वय आवश्यक छ। भारततर्फका अभिलेख, ब्रिटिसकालीन सर्वेक्षण कागजात र पुराना सीमा नक्साहरू पनि अध्ययन गर्नुपर्ने देखिन्छ।