काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ।
काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेबपेजमार्फत सात हजार बढी गरि १३ लाख ५१ हजार ३३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो।
दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकामा हाल लक्ष्यको ९१.६ प्रतिशत गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए।
देशैभरका विभिन्न जिल्लाका केही गणना सिस्टममा राख्ने क्रममा जारी रहेकाले यो संख्या बढ्ने उनले बताए। आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताबारे स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको समेत लामिछानेले जानकारी दिए।

उनले विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिब ३८ हजारको संख्यामा रहेको उल्लेख गरे।
देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना महत्त्वपूर्ण रहेको कार्यालयले जनाएको छ। दोस्रो आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर सार्वजनिक गरिनेसमेत जानकारी दिइएको छ।
आर्थिक गणनाका लागि तीन हजार ९०७ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको थियो।
यसअघि २०७५ सालमा भएको पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो।