काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
राष्ट्रपति द्रौपति मुर्मुसँग पुरस्कार ग्रहण गर्दै गायिका अलका याग्निक। तस्बिर : एएनआई
अ+
अ-

नयाँदिल्ली। प्रसिद्ध पार्श्व गायिका अलका याग्निकले प्रतिष्ठित पद्मभूषण पुरस्कार प्राप्त गरेकी छन्। उनले पुरस्कार प्राप्त गरेपछि आफ्नो खुसी र कृतज्ञता सामाजिक सञ्जालमार्फत साझा गरेकी छन्।

उनले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा एक भावनात्मक पोस्ट सेयर गर्दै सम्मानका लागि कृतज्ञता व्यक्त गरिन्। उनले विगत दुई वर्षमा आफूले सामना गरेका स्वास्थ्य चुनौतीबारे पनि उल्लेख गरिन्।

अलकाले लेखेकी छन्‚ “विगत दुई वर्षदेखि, म स्पटलाइट, सार्वजनिक कार्यक्रमहरू र जनतासँग मेरो व्यक्तिगत यात्रा साझा गर्नबाट टाढा रहेकी छु। यस समयमा, म कठिन स्वास्थ्य अवधिबाट गुज्रिरहेको थिएँ। तर मेरा प्रशंसकहरूको माया, प्रार्थना, सन्देश र अटल समर्थनले मलाई बाटोको हरेक पाइलामा साथ दियो।”

उनले पुरस्कृत हुनु आफ्नो र लाखौँ स्रोताको सम्मान रहेको पनि उल्लेख गरेकी छन्। “देशको सर्वोच्च नागरिक सम्मानमध्ये एक पद्मभूषण प्राप्त गर्नु मेरा लागि अत्यन्त सम्मान र विनम्रताको कुरा हो। यो सम्मान मेरो मात्र होइन। तर लाखौँ स्रोताहरूको पनि हो। जसले मेरो आवाजलाई आफ्नो जीवनको हिस्सा बनाएका छन्। मेरा गीतहरू पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गरेका छन्। र मेरो जीवनको राम्रो र कठिन दुवै समयमा मलाई साथ दिएका छन्।”

गायिका अलकालाई राष्ट्रपति द्रौपदी मुर्मुले मंगलबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा ‘पद्म पुरस्कार २०२६’ प्रदान गरिन्।

करिब दुई वर्षअघि आफू ‘सेन्सोरिन्युरल हियरिङ लस’ (Sensorineural Hearing Loss) बाट पीडित बनेको सामाजिक सञ्जालमार्फत जनाएकी थिइन्। यो भनेको श्रवणशक्ति गुमाउने अवस्था हो। सम्मानका लागि अलकाले राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्रालय र भारत सरकारप्रति आभार व्यक्त गरिन्।