शैली

सार्वजनिक स्थलमा सामूहिक हकदाबी

२० असार २०८३
‘वुमन वाक एट मिडनाइट’ का क्रममा काठमाडौँका विभिन्न ठाउँमा पैदलयात्रा गर्दै सहभागी। सबै तस्बिर : समीक्षा भट्टराई
अ+
अ-

पाटन, सुन्धाराकी शुभेक्षा महर्जन बाल्यकालमा राति ९-१० बजेसम्म निर्धक्क भई साथीहरूको घर आउजाउ गर्थिन्। मामाघर गाबहालबाट राति अबेर घर फर्किनु पनि उनका लागि सामान्य कुरा थियो। रातको समयमा पाटनका मूलबाटो होस् गल्लीहरू हिँड्न उनलाई रमाइलोसमेत लाग्थ्यो। जति उमेर बढ्दै गयो, शुभेक्षाको त्यो स्वतन्त्रता खुम्चिन थाल्यो।

धेरै वर्षपछि गत वर्ष जुलाईमा इन्स्टाग्राममा देखेको एउटा पोस्टले शुभेक्षाको राति हिँड्ने चाहनालाई फेरि ब्युँताइदियो। त्यो पोस्ट जुलाई २५ का लागि तय भएको ‘वुमन वाक एट मिडनाइट केटीएम’ (मध्यरातमा महिला पदयात्रा)बारे थियो। घरमा झुटो बोलेरै भए पनि पाटनमा भएको पदयात्रामा सहभागी भइन् उनी। पदयात्रामा उनी जस्तै धेरै महिला सहभागी थिए, जो रातको समयमा चाहेर पनि घरबाहिर निस्कन पाइरहेका/सकिरहेका थिएनन्।

वीरगन्जकी रिंकुकुमारी ठाकुर तिनैमध्ये एक हुन्। हाल वीरगन्जमा भए पनि गएको वर्ष उनी काठमाडौँमै थिइन्। साँझ-रातको समय प्रिय लाग्ने उनमा अँध्यारोमा हिँड्ने आत्मविश्वास थिएन। उनी भन्छिन्, “महिला मात्रै सहभागी हुने कार्यक्रम भएकाले सहज लाग्यो र सहभागी भएँ। मेरो राति हिँड्ने रहर पूरा भयो।”

संकोच, डर, असुरक्षा वा घर समाजको नियन्त्रणका कारण शुभेक्षा र रिंकु जस्ता थुप्रै महिला रात्रिकालीन हिँडाइ अनुभव गर्न वञ्चित छन्, जसलाई मध्यरातमा महिला पदयात्रा अभियानले आकर्षित गरिरहेको छ। र, सहरका विभिन्न ठाउँमा मध्यरातमा घरबाट निस्कन महिलाहरूलाई उत्प्रेरित गरिरहेको छ।

बिजुलीबजार पुलमा वुमन वाक एट मिडनाइटका सहभागी।

वुमन वाक एट मिडनाइट केटीएम काठमाडौँमा सुरु भएको गतिविधि हो। ठिक एक वर्षअघि जुन २०२५ देखि सुरु भएको यस अभियानको उद्देश्य घरभित्र खुम्च्याइएका महिलालाई घरबाहिर निस्किन उत्प्रेरित गर्नु हो, त्यो पनि मध्यरातमा।

महिलालाई घरबाट बाहिर निस्कन अभिप्रेरित गर्ने काम इन्स्टा पेज वीवाकएटमिडनाइटकेटीएमबाट भइरहेको छ। अभियानका सम्पूर्ण गतिविधि तीन जना साथीहरू समीक्षा भट्टराई, मञ्जिता गुरुङ र अस्मिता पाण्डेको सहनेतृत्वमा आयोजना हुन्छ।

समीक्षाका अनुसार एक वर्षको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न आठ ठाउँमा मध्यरात पदयात्राको आयोजना भइसकेको छ। दरबारमार्गबाट राति ८ बजे सुरु भएको पहिलो पदयात्रा रत्नपार्क, न्युरोड, असन हुँदै ठमेल पुगेर १० बजे समापन भएको थियो। त्यसयता यो पदयात्रा स्वयम्भू, महाराजगन्ज, पाटन, जावलाखेल, लोकन्थली जस्ता ठाउँमा सम्पन्न भइसकेको छ।

काठमाडौँमा महिला मात्र बसेर समय बिताउने ठाउँ नै नभएको अवस्थामा पदयात्राका सहभागीका लागि यो अभियान ‘कम्फर्ट स्पेस’ बनेको देखिन्छ।

“सुरुमा १० जना पनि पुग्ने हो कि होइन भन्ने सोचेका थियौँ। तर, पहिलो कार्यक्रममै २३ जना सहभागी हुनुभयो। दर्ता गर्नेको संख्या त झन् ३६ थियो,” समीक्षा भन्छिन्, “त्यो हाम्रो अपेक्षाभन्दा धेरै ठूलो सुरुआत थियो।”

मञ्जिता थप्छिन्, “पहिलो पदयात्रामा सहभागीमध्ये एक जनाले बनाएको रिल भाइरल भयो। त्यसपछि धेरैले अर्को पदयात्रा कहिले हुन्छ भनेर सोध्न थाल्नुभयो। हामीले इन्स्टामा वीवाकएटमिडनाइटकेटीएम पेज बनाएको त्यसपछि मात्रै हो।”

“हामी पदयात्राभन्दा करिब एक हप्ताअघि पोस्टर सार्वजनिक गर्छौं। इच्छुक सहभागीले एउटा फाराम भर्नुहुन्छ। त्यसपछि ह्वाट्सएप समूहमार्फत हामी भेट्ने स्थान, रुट र केही आधारभूत जानकारी पठाउँछौँ,” अस्मिता भन्छिन्।

काठमाडौँ, ललितपुर र भक्तपुरमा समेत सम्पन्न भइसकेको मध्यरात पदयात्राका धेरै सहभागी फरक उमेर वा अलग पृष्ठभूमिका छन्; कोही कलेज पढ्दै गरेका, कोही जागिरे त कोही बालबच्चा हुर्काइसकेका महिलाहरू।

यसरी हिँड्दा सबैभन्दा धेरै प्रश्न गर्ने त प्रहरी नै हुन्छन्। उनीहरू भन्छन्– राति किन हिँडिराख्नुभएको? घर जानुस् राति यसरी हिँड्नु हुँदैन।

‘आज पहिलो पटक मैले राति हिँड्दा आफूलाई स्वतन्त्र महसुस गरेँ। यति आनन्दले त दिउँसोसमेत कहिल्यै हिँडेकी थिइनँ।’ पदयात्राका सहभागीहरूले दिने यो साझा प्रतिक्रियाले महिलाका लागि राति हिँड्नुको अर्थ र महत्त्व छर्लंग पार्छ।

राति घरबाहिर निस्कने महिलाको निर्णयले उनीहरू केही कामविशेषले मात्र हिँड्नुपर्छ भन्ने मान्यतालाई समेत चुनौती दिन्छ। पितृसत्तात्मक संरचनामा महिलाले घरबाहिर निस्कनु नै एउटा फड्को मार्नु हो। हाम्रो समाजमा महिला राति हिँड्ने कुरालाई रमाइलो, विश्राम वा स्वतन्त्रतासँग भन्दा पनि डर, हिंसा र नकारात्मक घटनासँग जोडेर हेरिन्छ। अथवा, रातिको जीवन भन्नेबित्तिकै धेरैको दिमागमा क्लबिङ वा सीमित वर्गका महिलाको जीवनशैली पनि आउला।

तर, रातिको सार्वजनिक जीवन त्यतिमा सीमित हुँदैन। महिलाले दिन होस् वा रात, स्वेच्छाले विना कुनै काम घरबाहिर निस्कनु, घुम्नु वा गफ गरेर बस्न पाउनुलाई नैसर्गिक अधिकार मान्छिन् समीक्षा। “राति हिँड्न पाउनु, साथीसँग गफ गर्न पाउनु, चिया खान जान पाउनु वा सहरलाई अनुभव गर्न पाउनु पनि सार्वजनिक जीवनकै हिस्सा हो।

उनी पदयात्रालाई आन्दोलनभन्दा बढी अभ्यास भन्न रुचाउँछिन्। महिलालाई सार्वजनिक स्थानबाट टाढा राख्ने पितृसत्तात्मक सोचविरुद्धको अभियान भए पनि पदयात्राका सहभागीले नारा लगाउँदैनन्, बाटो अवरुद्ध गर्दैनन्, न त अरूलाई असहज बनाउने कुनै गतिविधि नै गर्छन्। उनीहरू निर्धक्क चारपाँच किलोमिटर हिँडछन्, सार्वजनिक स्थलमा आफ्नो हकदाबी गर्दै।

प्रायः केटीमान्छे राति हिँड्दा कुनै अप्रिय घटना घट्यो भने महिलालाई नै दोष थोपर्ने गरिन्छ। राति किन बाहिर निस्किएकी भन्दै उल्टै लाञ्छना लगाइन्छ। यसरी निरुत्साहन गर्ने समाजमा घरबाहिर निस्कँदाका सबै अनुभव मीठा मात्र छैनन्।

चार पटक सहभागी भइसकेकी शुभेक्षा भन्छिन्, “वीवाकएटनाइटकेटिएममार्फत मैले बाल्यकालमा अनुभव गरेको तर किशोरावस्थादेखि गुमाएको स्वतन्त्रता फेरि पाएको महसुस गरेकी छु। त्यसैले यो पदयात्रा मेरा लागि सार्वजनिक स्थलमाथिको हकदाबी हो।” उनी अन्य सहभागीमा पनि राति घरबाहिर निस्कन सकिन्छ भन्ने आत्मविश्वास जागेको बताउँछिन्।

जति धेरै महिला सार्वजनिक स्थानमा हिँड्छन्, त्यति नै अरू महिलाले त्यो ठाउँमा सहज महसुस गर्ने अनुभव आयोजक र सहभागीको छ।

“साँझ हिँड्नसमेत डर लाग्थ्यो। एक्लै हिँड्न असहज लाग्थ्यो। मानसिक डरले हामी स्वतन्त्र रूपमा रमाएर हिँड्न सक्दैनौँ। पदयात्रामा ठूलो समूहमा हिँड्दा सुरक्षित स्पेस पाएको महसुस गरेँ,” रिंकु भन्छिन्, “त्यो दिन भने कुनै डर, त्रास र असहजता थिएन। शून्य प्रतिशत पनि डर महसुस भएन। त्यसरी निर्धक्क भएर हिँड्न पाउँदा मन एकदमै हलुका र स्वतन्त्र भएको महसुस भयो।”

सुरक्षाको प्रत्याभूति हुने भएकैले बाटो हिँड्ने केही महिला पदयात्रीहरूको समूहमा मिसिएर समेत हिँड्ने गरेका छन्। समीक्षा पदयात्राले महिलालाई दिएको सुरक्षित स्पेसलाई सबैभन्दा महत्त्वपूर्ण उपलब्धि मान्छिन्।

प्रायः केटीमान्छे राति हिँड्दा कुनै अप्रिय घटना घट्यो भने महिलालाई नै दोष थोपर्ने गरिन्छ। राति किन बाहिर निस्किएकी भन्दै उल्टै लाञ्छना लगाइन्छ। यसरी निरुत्साहन गर्ने समाजमा घरबाहिर निस्कँदाका सबै अनुभव मीठा मात्र छैनन्।

जति धेरै महिला समूह राति घरबाहिर निस्कन्छन्, महिलाले राति हिँड्ने कुरा उति सामान्य बन्दै जान्छ। र, एक दिन यस्तो पक्कै आउनेछ जब हरेक महिलाले राति हिँड्दा आफूलाई असुरक्षित महसुस गर्नु पर्दैन।

समीक्षा पदयात्राका क्रममा समूहमा हिँड्दासमेत समस्या भोग्नुपरेको बताउँछिन्। “बाइकमा हिँड्ने केटाहरूले पटक पटक जिस्क्याएका छन्। एकपटक त रत्नपार्कदेखि सिंहदरबारसम्म एक जना पुरुषले लगातार पछ्याए। हामी १६-१७ जना थियौँ, त्यसैले किन पछ्याएको भनेर सोध्न सक्यौँ। एक्लै भएको भए त्यो सम्भव हुने थिएन।”

यसरी हिँड्दा सबैभन्दा धेरै प्रश्न गर्ने त प्रहरी नै हुन्छन्। उनीहरू भन्छन्– राति किन हिँडिराख्नुभएको? घर जानुस् राति यसरी हिँड्नु हुँदैन।

पदयात्रा राति १० बजेदेखि १२ बजेसम्म हुन्छ। केही सहभागी आफ्नै मोटरसाइकल वा स्कुटरमा आउँछन् भने केही राइड सेयरिङ गरेर। सुरुमा अपरिचित सहभागी पनि फर्कने बेलासम्म साथी बनिसक्छन्। बेलाबखत सवारीसाधन नपाएकाहरू तिनै सहभागी वा आयोजकको कोठामा समेत बास बस्छन्।

लोकन्थलीबाट सुरु भएको पदयात्राका क्रममा हावाहुरी चलेपछि धेरै जना रातभर एकै ठाउँ बसे। नाम खुलाउन अनिच्छुक एक सहभागी पहिलो पटक भेटिएका महिलाहरूसँग खेलहरू खेल्ने, खानपिन गर्ने गतिविधि गरेर बिताएको त्यो रात आफूले जिन्दगीकै सबैभन्दा स्वतन्त्र अनुभव गरेको बताउँछिन्। काठमाडौँमा महिला मात्र बसेर समय बिताउने ठाउँ नै नभएको अवस्थामा पदयात्राका सहभागीका लागि यो अभियान ‘कम्फर्ट स्पेस’ बनेको देखिन्छ।

वुमन वाक एट मिडनाइटको झलक।

पदयात्राले सहभागीबीचको सम्बन्ध कसिलो बनाउनु त स्वाभाविक भइहाल्यो। यसले थुप्रै अपरिचित महिलाहरूलाई समेत भावनात्मक र वैचारिक रूपमा जोडेको छ। यही कारण अहिले यस्तै गतिविधि देशका अन्य ठाउँमा सञ्चालन गर्न इच्छुक महिलाहरू बढिरहेका छन्। दमकमा त यो अभियान सुरु नै भइसकेको छ। रिंकु भन्छिन्, “वीरगन्जमा पनि यस्तो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्थ्यो भन्ने मेरो इच्छा छ। किनभने, मधेसका महिला अझै बढी समाजको नियन्त्रणमा बस्न बाध्य छन्।”

समीक्षा, मञ्जिता र अस्मिताको चाहना पनि यही हो, अनौपचारिक शैलीमा आयोजना भएको यो अभ्यास देशका धेरै ठाउँमा फैलियोस्। जति धेरै महिला समूह राति घरबाहिर निस्कन्छन्, महिलाले राति हिँड्ने कुरा उति सामान्य बन्दै जान्छ। र, एक दिन यस्तो पक्कै आउनेछ जब हरेक महिलाले राति हिँड्दा आफूलाई असुरक्षित महसुस गर्नु पर्दैन।

महिलाले सामूहिक रूपमा मध्यरातमा पदयात्रा गर्ने अभ्यास नेपालमा सुरु हुनुभन्दा एक दशकअघि (सन् २०१६) नै भारतको नयाँ दिल्लीबाट सुरु भएको हो।

भारतबाहेक दक्षिण अफ्रिकाको जोहान्सबर्ग र केप टाउन जस्ता सहरमा समेत नियमित रूपमा रात्रिकालीन पदयात्रा सञ्चालन भइरहेको छ। संसारका जुनसुकै सहरमा भए पनि यो अभ्यासको केन्द्रमा प्रतीकात्मक प्रतिरोध छ।

वुमन वाक एट मिडनाइट नाममा दिल्लीमा हुने पदयात्राको पृष्ठभूमि सन् २०१२ मा दिल्लीमा भएको निर्भयाको सामूहिक बलात्कारको घटनासँग गाँसिन्छ। बलात्कारपछि विरोध प्रदर्शनस्वरूप थिएटर कलाकार माया रावले जवाहरलाल विश्वविद्यालय (जेएनयू) को गेटदेखि मुनिर्का (निर्भयाले बस चढेको स्थान) सम्म एक्लै हिँडेर कलात्मक प्रस्तुति दिएकी थिइन्। सो प्रस्तुतिमा महिलाले राति एक्लै हिँड्दाको अवस्थालाई देखाइएको थियो।

त्यो प्रदर्शनपछि अर्की कलाकार मलिका तनेजाले नियमित रूपमा राति एक्लै हिँड्ने अभ्यास सुरु गरिन्। त्यो अनुभवबाट उनी रात परेपछि दिल्लीका सडकमा महिलालाई एक्लै हिँड्न वास्तवमै कठिन रहेछ भन्ने निष्कर्षमा पुगिन्। त्यही अनुभवपछि उनले सामूहिक रूपमा हिँड्ने वुमन वाक एट मिडनाइट अभियान सुरु गरिन्। समीक्षाले जेएनयू पढ्ने क्रममै यो अभियानबारे सुनेकी थिइन्। उनका अनुसार नेपालमा सुरु भएको अभियानको प्रचारप्रसारमा भारतमा पदयात्रा गर्ने समूहले समेत सहयोग गरेका छन्।

दिल्लीपछि यो अभियान भारतका बेंगलुरु, कलकत्ता, चण्डीगढ जस्ता सहरमा फैलिइसकेको छ। भारतबाहेक दक्षिण अफ्रिकाको जोहान्सबर्ग र केप टाउन जस्ता सहरमा समेत नियमित रूपमा सञ्चालन भइरहेको छ। संसारका जुनसुकै सहरमा भए पनि यो अभ्यासको केन्द्रमा प्रतीकात्मक प्रतिरोध छ।

भारतको बेंगलुरुमा भएको वुमन वाक एट मिडनाइटका सहभागी। तस्बिर : आउटलुक

काठमाडौँमा हुने पदयात्राका क्रममा आयोजक र सहभागी महिलाले हिँड्ने स्वतन्त्रता र महिला स्पेस मात्रै पाएका छैनन्। जेन्डर अध्ययनमा एमफिल गरिरहेकी समीक्षा भन्छिन्, “हामीले दिउँसो सधैँ हिँडेको सहर राति कस्तो हुन्छ अनुभव गर्न पाएका थिएनौँ। राति हिँड्ने अभ्यासले सहरलाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ।”

राजधानीका टोल, गल्ली, परिवेशलाई नियाल्दै हिँड्ने उनीहरूले सहरको रात्रिजीवनका सीमासमेत बुझ्न पाएका छन्। सार्वजनिक शौचालय, सडक, बत्ती, सवारीसाधन जस्ता पूर्वाधार नभएको राजधानी काठमाडौँमा रात्रिजीवनको पूर्वाधार सीमित रहेको समीक्षाको ठहर छ।

तीन साथीको पहलमा सुरु भएको यस पदयात्राले धेरैलाई आकर्षित गरे पनि यो गतिविधि सहरी युवा महिला समूहमा सीमित देखिन्छ। अभियानलाई अझै समावेशी बनाउनुपर्ने तथ्य स्विकार्दै समीक्षा थप्छिन्, “स्वस्फूर्त रूपमा विभिन्न सहर र समुदायमा यस्ता अभ्यास सुरु हुनुपर्छ। समुदाय आफैँले यसको स्वामित्व लिँदा मात्रै अभियान समावेशी र दिगो बन्न सक्छ।”