काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

अपराध

मधेसमा चोरीका घटनामा पक्राउ परेका कतिपय लागुऔषध प्रयोगकर्ता

४ श्रावण २०८३
थुनुवा कक्षको अनुगमन गर्दै मधेस प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। घर खाली भएको सुइँको पाएर भित्र पस्ने, मठमन्दिरका दानपेटिका फुटाउने अनि हात लागेका मोबाइल, भाँडाकुँडा वा अन्य सामान सस्तोमै कवाडी पसलमा बेच्ने। प्रहरीका अनुसार मधेसका विभिन्न जिल्लामा हुने यस्ता कतिपय चोरीमा लागुऔषध किन्न तत्काल पैसा जुटाउने उद्देश्य देखिएको छ।

सबै चोरीका घटना लागुऔषधसँग जोडिएका हुँदैनन्। तर, चोरीमा पक्राउ परेका कतिपय किशोर तथा युवाको पृष्ठभूमि बुझ्दा उनीहरू नियमित लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपाने भन्छन्, “चोरीका घटनामा पक्राउ परेकामध्ये धेरै जना लागुऔषध प्रयोगकर्ता पनि भएको पाइएको छ।”

लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको स्पर्श नेपालका निर्देशक नवीन मल्लिकका अनुसार कुलतमा फसेका युवाले सुरुमा लागुऔषध किन्न आवश्यक पैसा परिवार र साथीभाइबाट जुटाउने प्रयास गर्छन्। “सुरुमा साथीभाइसँग सापटी माग्छन् वा घरपरिवारसँग विभिन्न खर्चका नाममा पैसा लिन्छन्,” उनी भन्छन्, “त्यसरी पैसा पाउन छाडेपछि चोरी गर्ने जोखिम बढ्छ।”

कतिपय प्रयोगकर्ताले पहिलो पटक आफ्नै घरका सामान चोर्ने गरेको पाइएको उनी बताउँछन्। मोबाइल, भाँडाकुँडा, कपडालगायत सजिलै बेच्न सकिने सामान लगेर त्यसबाट आएको रकम लागुऔषध किन्न खर्च गर्ने गरेको उनको भनाइ छ।

सर्लाहीको सीमावर्ती क्षेत्रमा पसलको अनुगमन गर्दै प्रहरी। 

परिवारले सामान हराउन थालेको थाहा पाएपछि निगरानी बढाउँछ। घरबाट पैसा वा सामान लैजान नसक्ने अवस्था आएपछि कतिपय प्रयोगकर्ताले छरछिमेकका घर ताक्न थाल्ने मल्लिक बताउँछन्। “गाउँघरमा परिवारका सदस्य मजदुरी वा अन्य काममा बाहिर गएको मौका पारेर घरभित्रका सामान लैजाने घटना पनि देखिएका छन्,” उनी भन्छन्, “प्रयोगकर्ताको संख्या बढ्दा यस्ता सामाजिक समस्या पनि बढ्छन्।”

लागुऔषधमा निर्भरता बढ्दै जाँदा प्रयोगकर्तालाई नियमित रूपमा पैसा चाहिन्छ। वैधानिक कमाइ नभएका कतिपय किशोर तथा युवाले त्यो रकम जुटाउन परिवारलाई दबाब दिने, साथीभाइसँग माग्ने वा सानातिना सामान चोर्ने गरेको सरोकारवालाहरू बताउँछन्।

कुलत गहिरिँदै जाँदा चोरी आकस्मिक व्यवहारमा मात्र सीमित नरहने प्रहरीको भनाइ छ। सामान कहाँ बेच्ने, कुन घरमा मान्छे बस्दैनन् र कुन वस्तु सजिलै नगदमा बदल्न सकिन्छ भन्ने खोजीसमेत हुन थाल्ने प्रहरी अधिकारीहरू बताउँछन्।

खुला सीमा, सहज ओसारपसार

नेपाल-भारत खुला सीमाले मधेसका बासिन्दालाई सामाजिक र आर्थिक रूपमा जोडेको छ। तर, त्यही सहज आवतजावत लागुऔषध नियन्त्रणका लागि चुनौती बनेको प्रहरी बताउँछ।

लागुऔषधका रूपमा प्रयोग गरिने कतिपय प्रतिबन्धित औषधि सीमापारिका बजारमा तुलनात्मक रूपमा सहजै पाइने गरेका छन्। केही युवा त्यस्ता औषधि सेवन गर्न भारत जाने र कतिपयले किनेर नेपाल ल्याउने गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता न्यौपाने खुला सीमाका कारण लागुऔषध ओसारपसार रोक्न कठिन भएको बताउँछन्। त्यसैले सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रण र सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।

थुनुवासँग कुरा गर्दै मधेस प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी। 

आफैँ सीमा पारि गएर लागुऔषध किन्नेबाहेक नेपालमै उपलब्ध गराइदिने व्यक्ति वा समूहसमेत रहेको अभियन्ताहरू बताउँछन्। उनीहरूका अनुसार त्यस्ता व्यक्ति वा समूहले प्रयोगकर्ताबाट पैसा लिएर सीमापारिबाट लागुऔषध ल्याइदिने गरेका छन्।

लागुऔषध गाउँसम्म पुग्दा विद्यालय र कलेज उमेरका किशोर तथा युवा जोखिममा पर्ने गरेका छन्। प्रहरीका अनुसार प्रयोगकर्तामध्ये १५ देखि २८ वर्ष उमेर समूहको संख्या उल्लेख्य छ।

मधेस प्रदेश प्रहरीको तथ्यांकअनुसार लागुऔषध प्रयोगकर्तामध्ये करिब १४ प्रतिशत २० वर्षमुनिका छन्। किशोरावस्थामै साथीभाइको प्रभावमा लागुऔषध प्रयोग सुरु गर्ने र पछि त्यसको खर्च धान्न नसक्दा अपराधतर्फ धकेलिने जोखिम रहेको प्रहरी बताउँछ।

चोरीका घटनामा उतारचढाव

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेशमा चोरीका ५६५ घटना दर्ता भएका थिए।

आर्थिक वर्ष २०७८/७९ मा ६६५, २०७९/८० मा ७०५, २०८०/८१ मा ५५४ र २०८१/८२ मा ४६९ घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०८२/८३ को जेठसम्म ५१९ चोरीका घटना दर्ता भएका छन्।

तर, दर्ता भएका घटनाले चोरीको सम्पूर्ण चित्र नदेखाउने प्रहरी अधिकारीहरू बताउँछन्।

लामो समय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहेका र हाल प्रहरी प्रधान कार्यालयमा रहेका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार चोरीको सामान फेला परेपछि पीडितले सामान फिर्ता लिने तर जाहेरी दिन नमान्ने प्रवृत्ति छ। “पीडितले जाहेरी नदिएपछि चोरी मुद्दा अघि बढाउन कठिन हुन्छ,” खड्का भन्छन्, “कतिपय अवस्थामा अभद्र व्यवहारलगायत अन्य कसुरमा मुद्दा चलाउनुपर्ने हुन्छ।”

लागुऔषधसहित समातिएकाहरू। 

यही कारण चोरीमा पक्राउ परेका र लागुऔषध प्रयोगसँग जोडिएका व्यक्तिको यकिन संख्या प्रहरी तथ्यांकमा नआउने गरेको उनको भनाइ छ।

खड्काका अनुसार साना तथा ठूला चोरीका घटनामा पक्राउ परेका कतिपय युवाको स्वास्थ्य अवस्था र पृष्ठभूमि बुझ्दा उनीहरू लागुऔषधका नियमित प्रयोगकर्ता भएको पाइन्छ। “उनीहरूको उद्देश्य चोरीको सामान सस्तोमा बेचेर लागुऔषध किन्नु हो,” उनी भन्छन्, “मठमन्दिरका दानपेटिका चोर्ने, घरमा कोही नभएको थाहा पाएपछि सामान लैजाने र कवाडीमा बेच्ने गरेको पाइएको छ।”

समस्या गहिरिएपछि परिवारको चासो

लागुऔषध प्रयोगको प्रारम्भिक चरणमा परिवारले व्यवहारमा आएको परिवर्तनलाई सामान्य रूपमा लिने गरेको अभियन्ताहरू बताउँछन्। घरबाट पैसा हराउने, सामान बेचिने वा छरछिमेकमा समस्या हुन थालेपछि मात्र परिवारले कुलतबारे थाहा पाउने गरेका छन्।

लागुऔषधसहित पक्राउ परेका व्यक्ति।

त्यतिबेलासम्म कतिपय युवा प्रहरी हिरासतमा पुगिसकेका हुन्छन्। केहीलाई परिवारले पुन:स्थापना केन्द्रमा राख्छन्। तर, पुन:स्थापना केन्द्रको संख्या, गुणस्तर, उपचार विधि र उपचारपछिको सामाजिक पुन:स्थापना आफैँमा चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो लागुऔषध नियन्त्रणका लागि प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताउँछन्। “पुन:स्थापना केन्द्र स्थापना र सचेतना कार्यक्रममार्फत युवालाई कुलतबाट बाहिर ल्याउनुपर्छ,” उनी भन्छन्, “नियन्त्रणका लागि प्रहरीलाई आवश्यक स्रोतसाधन र बजेट उपलब्ध गराउन सरकार तयार छ।”