व्यक्तिवृत्त
शेषराज शिवाकोटीले ४० वर्षयता ४०० बढी पुस्तक प्रकाशन गरे, तर सुको फाइदा उठाउन सकेका छैनन्। यद्यपि उनको अविचलित यात्रा जारी छ।
गायक नारायणगोपाल गुरुवाचार्यको ५१ वर्षको उमेरमा वीर अस्पतालमा निधन भयो। उनको शवयात्रामा सहभागी हुन नेपालभित्रबाट मात्र होइन, भारतको दार्जिलिङबाट समेत नेपालीभाषी राजधानी काठमाडौँ भित्रिए। भनिन्छ– १९ मंसिर २०४७ मा बितेका नारायणगोपालको शवयात्रामा एक लाखको हाराहारीमा मानिसहरू सहभागी थिए।
नेपाली स्वरसम्राट्को त्यो तिलस्मी महाप्रस्थानबाट द्रवीभूत शेषराज शिवाकोटीलाई तत्कालै नयाँ ‘आइडिया’ फुर्यो– २०४३ सालदेखि आफूले प्रकाशन गर्दै आएको ज्ञानगुनका कुरा लाई दिवंगत नारायणगोपालप्रति समर्पित किन नगर्ने?
यसअघि उनले लोकसेवा केन्द्रित १२ भागसम्म ज्ञानगुनका कुरा प्रकाशन गरिसकेका थिए। उनी पहिलो पल्ट, त्यो पनि दिंवगत भइसकेका व्यक्तिबारे विशेषांक प्रकाशित गर्ने तर्खरमा जुटे। जसका लागि उनलाई ५० हजार रुपैयाँको आवश्यकता बोध भयो। उनले सञ्चय कोषमा आफ्नो नाममा जम्मा भएको पैसा निकाले, अपुग रकम सर्वोच्च अदालतका सहायक रजिस्ट्रार शंकरकुमार श्रेष्ठबाट ब्याजमा उठाए।
उनको सोझो हिसाब थियो– मलामीमा जम्मा भएका एक लाख मान्छेमध्ये दुई हजारले मात्र पुस्तक खरिद गरे लगानी कसो नउठ्ला? देशभित्र र बाहिर रहेका ९७ चिरपरिचित स्रष्टाको अनुभव संकलन गरेर उनले त्यो पुस्तक २०४८ सालमा बजारमा ल्याए। जसको मूल्य ४० रुपैयाँ तोकिएको थियो। तर, त्यो विशेषांकले बजार लिन सकेन।
अध्ययन र अनुसन्धानमा सधैँ अब्बल तर अंकगणितमा कमजोर शेषराज ज्ञानगुनका कुरा को १३औँ अंकमा यति नमजाले डुबे, यही कुराले घरमा ठाकठुक सुरु भयो। आर्थिक रूपमा तंग्रिन वर्षौं कुर्नुपर्यो।
३४ वर्षअगाडिको त्यो मूर्खता सम्झिँदा अहिले पनि मजाले हाँस्छन्। तर, साहित्य र लेखनप्रतिको उनको मोह भंग भएको छैन। ६७ वर्षको उमेरमा थप नौजवान बनेर पुस्तक प्रकाशन गरिरहेका छन्।

“जागिरमा हुँदा सोचेजस्तो समय दिन भ्याइएको थिएन। अवकाशपछि फुर्सदैफुर्सद छ। मजाले समय दिइरहेको छु,” तीन वर्षअघि जागिरे जीवनबाट अवकाश पाएका शेषराज यसै साता मैतीदेवीस्थित घरमा भेटिँदा भन्दै थिए। उनले ३९ वर्षअगाडि पहिलो पल्ट ज्ञानगुनका कुरा प्रकाशनमा ल्याएका थिए। जसलाई हालसम्म निरन्तरता दिइरहेका छन्। गत मंसिरमा मात्र उनले यसको २५५औँ भाग प्रकाशनमा ल्याए। आउँदो १६ चैतमा उनी इतिहासकार धनबज्र बज्राचार्यको ९५औँ जन्मजयन्तीको अवसर पारेर इतिहासशिरोमणि बाबुराम आचार्य, इतिहासकार धनबज्र बज्राचार्य, महेशराज पन्त, वैज्ञानिक उदयराज खनाल, नेपालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान, साहित्यकार प्रमोद प्रधान, प्रोफेसरहरू ज्ञानबहादुर कार्की, रमेश ढुंगेल र सन्ध्या खनाललगायत १० मूर्धन्य व्यक्तित्वको जीवनी पुस्तकमार्फत एकै पल्ट सार्वजनिक गर्ने अभियानमा जुटेका छन्।
भन्छन्, “यो त मेरो जिउने आधार हो। ज्ञानगुनका कुरा छैन भने म पनि छैन।”
शेषराज शिवाकोटी पेसाले अवकाशप्राप्त न्यायाधीश हुन्। तर, लेखन र अनुसन्धानमा उनको रुचि यति गहिरो छ कि यसैका लागि जागिरे जीवनमा प्राप्त थुप्रै अवसरलाई तिलाञ्जली दिए। २०५३ सालमा उनीसँग एउटा मीठो घटना जोडिएको थियो। त्यतिबेला न्याय तथा कानुनमन्त्री थिए, उनकै गाउँले नेपाली कांग्रेसका पूर्वनेता भीमबहादुर तामाङ। जो उनलाई जिल्ला न्यायाधीश बनाएर वीरगन्ज पठाउन चाहन्थे। तर, मन्त्रीले जति नै कर गर्दा पनि उनले मानेनन्। भीमबहादुर पछि भन्थे, ‘गणेशमानजीजस्तै त्यागी रहेछ। अरूले न्यायाधीश बन्न तारन्तार फोन गरे। आफ्नै ठाउँको केटोले मानेन।”
शेषराजका हजुरबुवा पण्डित कपिलमणि शिवाकोटी राणाकालमै पूर्व २ नम्बर (सिन्धुलीदेखि उत्तर-ओखलढुंगा पश्चिम) तर्फ कहलिएका विद्वान् थिए। उनले १९७५ सालमै संस्कृत भाषामा लेखिएको चाणक्य नीतिको नेपाली भावानुवाद श्लोकमा गरे। हजुरबुवाकै सामीप्यमा संस्कृतदेखि नेपाली भाषाको अध्ययन आरम्भ गरेका शेषराज २०३८ सालमा लोकसेवा पास गरेर न्याय सेवामा प्रवेश गरेका थिए। उनले १५ वर्ष सर्वोच्च अदालतको अनुसन्धान शाखामा बिताए।
उनको जीवनमा हजुरबुवाको प्रभाव यति गहिरो थियो कि उनी सरकारी जागिरभन्दा प्रोफेसर बनेर अध्ययन-अध्यापनमा रमाउन चाहन्थे। तर, समयको नियति– जीवनको घडी उनले भनेजस्तो ठ्याक्कै दौडिएन। यति हुँदा पनि उनले जागिर खाँदै आफ्नो सोख पूरा गरे। “जहाँ इच्छा हुन्छ, त्यहीँ उपाय निस्किन्छ भन्छन् नि! मेरो हकमा पनि यो लागु भयो। मैले अध्ययन र अनुसन्धानकै लागि धेरै अगाडि न्यायाधीश बन्ने अवसरतर्फ चासो देखाइनँ,” उनी भन्छन्।
शेषराजले कक्षा ७ सम्मको पढाइ दोलखा जिल्लाकै क्षमावती हाइस्कुलबाट पूरा गरे। थप अध्ययनका लागि उनी मामाघरका हजुरबुवा यज्ञप्रसाद उप्रेतीका साथ लाग्दै काठमाडौँ आइपुगे। हजुरबुवाका कान्छाछोरा दुर्गाप्रसाद उप्रेतीको घर घट्टेकुलोमा थियो। दुर्गाप्रसाद पेसाले पूर्वन्यायाधीश। उनले घट्टेकुलोको त्यही घरमा बसेर पद्मोदय स्कुलबाट दोस्रो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे।
उनको मामाघरपट्टिका कान्छा हजुरबुवा विष्णुप्रसाद उप्रेती २०१५ सालको चुनावमा पूर्व २ नम्बर क्षेत्रबाट नेपाल राष्ट्रवादी गोर्खा परिषद्का सांसद थिए। विष्णुप्रसादकै प्रभावले गोर्खा परिषद्का नेता भरतशमशेर राणाका बुवा मृगेन्द्रशमशेरले पनि यही क्षेत्रबाट चुनाव जिते।
काठमाडौँमा अध्ययनरत रहँदा शेषराज साहित्यिक कार्यक्रमहरूमा सक्रिय रहे। असार २०३० मा तत्कालीन युवराज दीपेन्द्रको तेस्रो जन्मोत्सवमा आयोजित उपत्यकाव्यापी बाल कवि सम्मेलनमा उनी प्रथम भए। ‘आजको बालक’ शीर्षक कविताका लागि उनलाई पहिलो पुरस्कार प्रदान गरिएको थियो। २०३१ सालमा रेडियो नेपालको वार्षिक पत्रिका झंकारमा उनको यही कविता प्रकाशित पनि भयो। बाल संगठनले प्रकाशित गर्ने बालक पत्रिकामा पनि उनको कविताले स्थान पायो।
“मेरो पहिलो प्रकाशित कविता नै ‘आजको बालक’ हो,” उनी सगर्व सुनाउँछन्।
२०३२ सालको पृथ्वीजयन्तीमा आयोजित वक्तृत्वकलामा अर्को रोचक घटना भयो। उनले १५ मिनेट कतै नरोक्की राष्ट्रनायक पृथ्वीनारायण शाहबारे धाराप्रवाह प्रवचन गरे। उनको त्यो प्रतिभा देखेपछि नाट्यसम्राट् बालकृष्ण समले भनेछन्– बाबुले मज्जाले रट्नुभएको रहेछ!
शेषराजलाई भने राजनीतिक कुरामा खासै रुचि थिएन। बरु अध्ययन-अनुसन्धानले तानिरह्यो। त्यसैले साथीहरू बन्द-हडतालमा सहभागी बन्दा उनी इतिहासकार जगदीशचन्द्र रेग्मीलाई भेट्न उनको घर पुग्थे।
सम उक्त कार्यक्रममा पुरस्कार वितरण गर्न आएका थिए भने निर्णायकमण्डलमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति सूर्यविक्रम ज्ञवालीको उपस्थिति थियो।
२०३३ सालमा उनी मामाको प्रभावले ल क्याम्पस भर्ना भए। वास्तवमा उनलाई रत्नराज्य क्याम्पस भर्ना भएर आर्टस् विषय लिएर साहित्य पढ्ने इच्छा थियो। तर, मामाले कानुन पढेपछि जागिर छिटै पाइन्छ भनेर उतै डोर्याए। २०३५ सालमा आईएलको रिजल्ट सार्वजनिक हुँदा उनी ‘नेपाल टपर’ भएर बाहिरिए।
“टपर भएपछि विषय परिवर्तन गर्नुभएन। बीएलमा सरकारी छात्रवृत्ति पाएँ,” उनी भन्छन्।
उनी बीएलमा अध्ययनरत रहँदा काठमाडौँको राजनीतिक माहोल निकै तातिएको थियो। सरकारले जनमतसंग्रहको घोषणा गरिसकेको अवस्थामा राजनीतिक पार्टीहरू एकले अर्कालाई खुइल्याउने खेलमा लागिसकेका थिए। यतिबेला कलेजमा रोजै हड्ताल हुने। विद्यार्थीहरू कलेजको कक्षाकोठाभन्दा सडकमा बढी देखिने। शेषराजलाई भने राजनीतिक कुरामा खासै रुचि थिएन। बरु अध्ययन-अनुसन्धानले तानिरह्यो। त्यसैले साथीहरू बन्द-हडतालमा सहभागी बन्दा उनी इतिहासकार जगदीशचन्द्र रेग्मीलाई भेट्न उनको घर पुग्थे।
“मेरो पढाइ राम्रो थियो। फेरि कला-साहित्य र अनुसन्धानमा रुचि छ भन्ने थाहा पाएपछि जगदीश सरले पनि माया गर्नुभयो। अनुसन्धान गर्ने तौरतरिका सिकाउनुभयो। यसले मलाई पुस्तक यात्रामा लाग्न थप प्रेरणा दियो,” उनी थप्छन्।
उनी सर्वोच्चमै कार्यरत रहेको बेला कसले हो, कुरा लगाइदिएछ। अन्य विद्यार्थीसँगै उनी पनि आन्दोलनमा हिँड्छन् भनेर। यसपछि के चाहियो? थेसिस बुझाउनुअघि उनलाई पुनः जनकपुर फर्किने आदेश दिइयो।
जनमतसंग्रह सम्पन्न भएपछि नेपालको राजनीति झन् बिथोलियो। दरबार आफ्नो अधिकार छोड्न नमान्ने। युवाहरू पञ्चायती व्यवस्थाको बर्खिलापमा। यसैबीच क्याम्पसहरूमा पुनः हडतालको सिलसिला सुरु भयो। यतिबेला बीएलको अन्तिम सेमेस्टर बाँकी थियो। शेषराजलाई अब आपत् पर्यो। उनले पढाइ पूरा नहुने डरले २०३७ सालको अन्त्यतिर नायब सुब्बा (नासु) पदका लागि खुलेको लोकसेवा आयोगको परीक्षा दिए। नभन्दै नाम पनि फ्याट्ट निस्कियो। जागिरमा उनको पहिलो दरबन्दी थियो, जनकपुर अञ्चल अदालत। त्यहीँ कार्यरत रहँदा हडताल पनि रोकियो र उनी अध्ययन पूरा गर्न पुनः काठमाडौँ फर्किए। त्यतिबेला प्रधानन्यायाधीश नयनबहादुर खत्रीलाई अनुरोध गर्दै सर्वोच्च अदालतको मुद्दा शाखामा काजमा फर्किन सफल भए।

रोचक कुरा– उनी सर्वोच्चमै कार्यरत रहेको बेला कसले हो, कुरा लगाइदिएछ। अन्य विद्यार्थीसँगै उनी पनि आन्दोलनमा हिँड्छन् भनेर। यसपछि के चाहियो? थेसिस बुझाउनुअघि उनलाई पुनः जनकपुर फर्किने आदेश दिइयो। त्यतिखेर बागमती, नारायणी र जनकपुरको अञ्चल अदालतलाई नियमन गर्ने काम गर्थ्यो, काठमाडौँमै कार्यालय रहेको मध्यमाञ्चल क्षेत्रीय अदालतले। जसको मुख्य न्यायाधीश पृथ्वीबहादुर सिंह थिए।
“मैले उहाँलाई भेटेर आफ्नो समस्या बताएँ। उहाँले भन्नुभयो– तिमीहरूजस्ता पढेलेखेका केटाहरू न्यायालयमा आउनुपर्छ। उहाँकै सहयोगमा मैले फेरि मध्यमाञ्चल क्षेत्रीय अदालतमा काजमा बसेर आफ्नो थेसिस पूरा गर्ने अवसर प्राप्त गरेँ,” उनी भन्छन्।
काठमाडौँमा अध्ययनरत रहँदा इतिहासकार जगदीशचन्द्र रेग्मीसँग झाँगिएको उनको सम्बन्धले ठूलो काम गर्यो। अदालतमा जागिर खानुपूर्व उनलाई रेग्मीले अध्ययन-अनुसन्धानमा सघाएबापत मासिक डेढ सय रुपैयाँ उपलब्ध गराउँथे। यसले उनको खर्च टर्थ्यो। २०३७ सालमा जगदीशचन्द्रले ‘नेपाल एन्टिक्विरी’ पुस्तक प्रकाशित गर्दा शेषराजलाई पनि ‘क्रेडिट’ दिन भुलेनन्।
“मेरा लागि त्यो अमूल्य थियो। नासु हुँदा मेरो तलब ३७० रुपैयाँ थियो। तर, मलाई आफ्नो तलबभन्दा पनि जगदीश सरबाट प्राप्त हुने डेढ सय रुपैयाँले छुट्टै आनन्द दिन्थ्यो,” उनी सम्झन्छन्।
जगदीशचन्द्रसँगको यही सम्बन्ध २०४२ सालमा आएर शेषराजका लागि ‘टर्निङ पोइन्ट’ बन्यो।
माघ २०४३ बाट उनले ज्ञानगुनका कुरा प्रकाशनमा ल्याए। यसले पनि उनलाई आर्थिक रूपमा फाइदा पुर्याएन। तर, ज्ञानगुनका कुराले उनलाई बेग्लै पहिचान दिलायो।
२०३९ सालमा उनले शाखा अधिकृतमा नाम निकाले। यसपछि उनलाई देशको विभिन्न जिल्लामा बसेर काम गर्ने अवसर थियो। तर, उनले बाहिर जानुभन्दा सर्वोच्च अदालतको अनुसन्धान शाखामा बसेर काम गर्ने निधो गरे। यसको पछाडि एउटै उद्देश्य थियो, अध्ययन-अनुसन्धान गर्ने।
“मैले १५ वर्ष सर्वोच्च अदालतको अनुसन्धान शाखामा बसेर काम गर्दा अनगिन्ती पुस्तक निकालेँ,” उनी भन्छन्।
उनले आफ्नो एकल प्रयासमा प्रकाशनमा ल्याएको पहिलो किताबको नाम थियो– ल बिब्लियोग्राफी। २०४२ सालमा प्रकाशित उक्त पुस्तक कानुन विषयको अध्ययन गर्ने विद्यार्थीहरूका लागि अहिले पनि महत्त्वपूर्ण स्रोत सामग्री मानिन्छ। “मैले आफ्नो सञ्चय कोषबाट पैसा कट्टा हुने गरी १० हजार रुपैयाँ निकालेर यो पुस्तक प्रकाशन गरेको थिएँ। तर, पैसा उठेन,” उनी भन्छन्। यही वर्ष बेलायती महारानी एलिजावेथले नेपालको भ्रमण गरेकी थिइन्। शेषराजले बेलायती महारानीको नेपाल भ्रमणको सन्दर्भ पारेर २०४२ सालमै दोस्रो पुस्तक ‘नेपाल-ब्रिटेन रिलेसन्स’ प्रकाशित गरे। त्यसमा पनि घाटा बेहोरे।
अर्को वर्ष नेपालको भूमिसम्बन्धी विषयलाई लिएर तेस्रो पुस्तक वर्क्स अन ल्यान्ड सिस्टम अफ नेपाल प्रकाशित गरे। यसमा पनि फाइदा भएन। माघ २०४३ बाट उनले ज्ञानगुनका कुरा प्रकाशनमा ल्याए। यसले पनि उनलाई आर्थिक रूपमा फाइदा पुर्याएन। तर, ज्ञानगुनका कुराले उनलाई बेग्लै पहिचान दिलायो।
शेषराजले ईश्वर बरालको विषयमा लामो लेख तयार पारे र ज्ञानगुनका कुरा बोकेर ईश्वर बरालको घर पुगे। त्यतिबेला बरालले शेषराजलाई कुनै प्रतिक्रिया दिन सकेनन्। तर, किताब तीनचार पल्ट ओल्टाई-पोल्टाई गरेपछि बरालको आँसु थामिएन। उनको आँखाबाट झरेको त्यही आँसु शेषराजको हातमा पोखियो।
उनको त्यो किताब पढेर धेरैले लोकसेवाको परीक्षा उत्तीर्ण गरे। कतिको त पीएचडीको शोधपत्रका लागि प्रमुख स्रोत सामग्री नै बनेको छ। “मलाई धनभन्दा पनि यही कुराले बढी आनन्द दिन्छ। केही समयअघि वरिष्ठ संगीतकार दीपक जंगमका छोरा आउनुभएको थियो, पीएचडीको शोधपत्रका लागि ज्ञानगुनका कुराको पुरानो अंक खोज्दै,” उनी भन्छन्, “मैले जिल्लामा यस्ता धेरै सरकारी अधिकारी भेटेँ, जो मसँग आएर भन्नुहुन्थ्यो– तपाईंले निकालेको किताब पढेर हामी लोकसेवा उत्तीर्ण भयौँ।”
शेषराजको जीवनमा धेरै व्यक्तिको प्रभाव छ। तर, उनी आफूलाई अक्षर चिनाउने हजुरबुवा पण्डित कपिलमणि र आफूलाई अनुसन्धानमा पोख्त बनाउने जगदीशचन्द्र रेग्मीबाट विशेष अनुगृहीत देखिन्छन्। “म आठ वर्षको हुँदा हजुरबुवा बितिहाल्नुभयो। जगदीश सरकहाँ अहिले पनि आशीर्वाद थाप्न गइरहन्छु। उहाँले मेरो अध्ययनको दायरालाई फराकिलो पारिदिनुभयो,” उनी भन्छन्।
शेषराजले पछिल्लो ४० वर्षको अन्तरालमा ४०० भन्दा बढी किताब आफ्नै खर्चमा प्रकाशन गरिसकेका छन्। तर, यसबाट सुको फाइदा उठाउन सकेका छैनन्। यद्यपि, उनलाई पुस्तक प्रकाशन गर्ने लतले छाडेको छैन। उनी यो लत कायम रहनुमा नेपाली साहित्यका मूर्धन्य समालोचक ईश्वर बरालसँग जोडिएको एउटा घटनालाई लिन्छन्।

२०५४ सालमा ईश्वर बराल ‘ब्रेन ट्युमर’ जस्तो असाध्य रोगबाट थलिएका थिए। उनको मुखबाट बोली हराइसकेको थियो। यही वर्षदेखि शेषराजले प्रयोगकै रूपमा भए पनि आफ्नो पुस्तक ज्ञानगुनका कुरामा जीवित व्यक्तिहरूको कथालाई उतार्ने कार्यको सुरुआत गरिसकेका थिए। उनलेईश्वर बरालको विषयमा लामो लेख तयार पारे र ज्ञानगुनका कुरा बोकेर ईश्वर बरालको घर पुगे। त्यतिबेला बरालले शेषराजलाई कुनै प्रतिक्रिया दिन सकेनन्। तर, किताब तीनचार पल्ट ओल्टाई-पोल्टाई गरेपछि बरालको आँसु थामिएन। उनको आँखाबाट झरेको त्यही आँसु शेषराजको हातमा पोखियो। यसपछि उनले आफूलाई धन्य ठाने। आफूले गरिरहेको काम देशहितमा र साहित्यको हितमा रहेको महसुस गरे। यसपछि उनको यात्रालाई कसैले विराम लगाउन सकेको छैन। हालसम्म अनवरत पुस्तक प्रकाशनमा सक्रिय छन्।