काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै ६ महिनाभित्र आफ्नो अभिभारा पूरा गर्न सुरक्षा निकायको साथ चाहिने बताएकी छन्।
उनले भनिन्, “सुरक्षा निकायले हामीलाई साथ नदिई निर्वाचन गराउने अभिभारा पूरा गर्न सम्भव छैन।”
उनले भदौ २३ र २४ गतेको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालतलगायत महत्त्वपूर्ण सरकारी संरचना, सर्वसाधारणदेखि व्यापारिक प्रतिष्ठानमा भएको जनधनको क्षतिको पुनःनिर्माण आफ्नै नागरिकको पहलबाट गरिनुपर्ने समेत बताइन्।
२७ घण्टामै युवा पुस्ताको परिवर्तनको माग र आकांक्षाले नेपालमा संसारमा अन्त कतै नभएको परिवर्तन सम्भव भएको समेत उनले उल्लेख गरिन्। यो परिवर्तनका क्रममा ठूलो क्षति भएकाले क्षतिको मूल्यांकन गर्ने काम प्राथमिकतामा राख्दै राज्यविरुद्धको अपराधमा लाग्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखिन्। उनले भनिन्, “मुलुकविरुद्ध अपराधीहरूले गरेको चुनौतीविरुद्ध जनतालाई गुहारेर भए पनि पुनःनिर्माणमा लाग्नु पर्नेछ।”
आन्दोलनमा ज्यान गुमाएका मृतकका परिवारलाई १० लाख दिने घोषणा गर्दै प्रधानमन्त्री कार्कीले घाइतेहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै मृतकको दाहसंस्कारलगायत शव हस्तान्तरण प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।