काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फिल्म समीक्षा

सराहनीय कथा, अपरिपक्व निर्देशन

१४ भाद्र २०८२
चलचित्र ‘ताराहरू’को ट्रेलरबाट लिएको एक दृश्य।
अ+
अ-

आशान्त शर्माले तीन वर्षअघि कौसी थिएटरमा साथी, साथी आइदेऊ न नाटक मञ्चन गरे। नाटकमा कसैको साथ पाए आत्महत्या गर्न लागेका व्यक्तिको जीवनमा आशा र ऊर्जा थपिन सक्ने कथा थियो। उनी यस्तै कथा सिनेमामा ठूलो क्यानभाससहित धेरै दर्शकमाझ पुगोस् भन्ने चाहन्थे।

उनको त्यो चाहना शुक्रबार रिलिज भएको ताराहरूसँगै पूरा भएको छ। उनी यो फिल्ममार्फत पहिलो पटक निर्देशक र मुख्य अभिनेतासमेत बनेका छन्। उनले नै यसको कथा पनि लेखेका हुन्।

हामीले ‘साताको सिनेमा’को पहिलो अंकमा ताराहरूको समीक्षा गरेका छौं। समीक्षामा पाँच विधा समेटी विधागत रूपमा अंक प्रदान गरिएको छ। जसअनुसार अंक १ कमजोर, २ औसत, ३ राम्रो, ४ उत्तम र ५ अति उत्तम हो।

कथा/पटकथा : २
ताराहरू गायक बन्ने सपना पूरा गर्न प्रतिबद्ध अधबैंसे मोहनको कथा हो। ऊ सपना पूरा गर्न दिउँसो जागिर गर्छ। राति दोहोरी साँझमा मादल बजाउँछ। श्रीमती मैयाँ घरमै बाती काट्छिन्।

उनीहरूले दुखजिलो गरी रेस्टुराँ चलाउन पैसासमेत जम्मा गर्छन्। तर, बैंकबाट १० लाख रुपैयाँ झिकेर निस्कँदै गर्दा लुटिन्छ। यससँगै ऊ आफ्नो कार्यालयको म्यानेजरले श्रीमतीमाथि कुदृष्टि राखेपछि थप विचलित बन्छ। पारिवारिक सम्बन्धमा दरार नै आउँछ। यस्तो परिस्थितिमा उसले गायक बन्ने सपना पूरा गर्न सक्ला कि नसक्ला? यही उतारचढावको बाटो हुँदै कथा अघि बढेको छ।

मोहन पात्रको संघर्ष फिल्ममा देखाइएको त छ तर रोचक र प्रभावकारी कथानकको अभाव खड्किन्छ। कथानकको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो, मोहनले कार्यालय आउँदा–जाँदा बाटोमा भेट्ने सांगीतिक ब्यान्ड।

कलाकार मेनुका प्रधान।

ज्यामी (मेनुका प्रधान)ले नेतृत्व लिएको ब्यान्डका सदस्य भेटेपछि उनीहरूबीच भावनात्मक सम्बन्ध गाँसिन्छ। मोहन लक्ष्यको नजिकनजिक पुग्छ। तर, ब्यान्डसँगको सम्बन्धको विकासक्रमलाई मन छुने गरी देखाउन फिल्म चुकेको छ। सम्बन्धको सिलसिला सपाट छ अनि गति धिमा। चुस्त पटकथा नहुँदा यो सम्बन्धको मर्मले अन्त्यमा पुगेर मात्रै स्पर्श गर्छ।

डार्क कमेडी विधा भन्न मिल्ने फिल्ममा दर्शक हँसाउने र गम्भीर बनाउने दृश्य प्रशस्त छन्। तैपनि संवाद, द्वन्द्व र संवेदनाको तालमेल छैन। फिल्मले सहरको भीडमा अतिरिक्त श्रम गरी पहिचान र सम्मान खोज्ने किनारामा पारिएका पात्रलाई महत्त्वपूर्ण स्थान दिएको छ। मानसिक स्वास्थ्यको कुरा पनि उठाएको छ। तर, मूल कथा गायक बन्ने पात्रको बाह्य र आन्तरिक संघर्ष हो। फिल्म यसमा नै बहकिएको छ।

अभिनय : २.५
मुख्य कलाकार आशान्त र मीरा खड्कासहित मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रभाकर न्यौपाने, अञ्जली शाह, युबिना भट्टराई, प्रमोद यादव, मुक्तिलगायतको अभिनय छ। यीमध्ये आशान्त, मीरा, मेनुका, कुन्दुन र आभासको भूमिका बढी महत्त्वपूर्ण छ। अधिकांश कलाकार रंगमञ्च पृष्ठभूमिका छन्। केही पहिलो पटक पर्दामा देखिएका छन्। उनीहरूको काम समग्रमा सन्तोषजनक छ।

कलाकार मीरा खड्का

फिल्ममा मुख्य भूमिका निर्वाह गरेका आशान्त राम्रो कलाकार हुन्। तर मोहनको लक्ष्य, संघर्ष र उतारचढावमा स्पष्टता नहुँदा उनले निर्वाह गरेको चरित्रले दर्शकलाई कसिलोसँग बाँध्न सकेको छैन।

केही छोटा फिल्ममा काम गरेकी मीराका लागि ताराहरू अभिनय क्षमता देखाउने ठूलो अवसर बनेको छ। पुरुषको सपना पूरा गर्ने महिलामा सीमित भूमिका भए पनि उनको अभिनय क्षमता झल्किन्छ। ताराहरू मोहनजस्तै ठूलो सहरभित्र ससाना सपना साँचेर बाँच्नेको कथा पनि हो। मोहनको यात्रामा उनले आफूजस्तै थुप्रै पात्र भेट्छन्। ज्यामी र उनको ब्यान्डका सदस्य त्यस्तै पात्र हुन्। ज्यामीको भूमिकामा मेनुका पर्दामा देखिँदा मात्र पनि फिल्मको धेरै कमीकमजोरी ढाकछोप भएको भान हुन्छ। उनको मौनता, हाँसो र आँखामा देखिने उदासी दर्शकलाई प्रिय लाग्छ। घरीघरी नेवाः लवजमा गाउने, बोल्ने कुन्दुन छोटो भूमिकामा सुहाएका छन्।

प्राविधिक पक्ष : २
काठमाडौंमा छायांकन गरिएको फिल्ममा टेकुदेखि यूएन पार्क करिडोर आसपासका दृश्य धेरै छन्। किनारामा पारिएका पात्रको दिनचर्या उतार्न सहरको किनारतिरकै दृश्य बढी समेटिएको देखिन्छ। कम बजेटमा बनेको ‘इन्डी’ फिल्म भएकाले प्राविधिक पक्षमा देखिने सानातिना त्रुटि क्षम्य मान्न सकिएला। तर, धेरै आलोचनात्मक नभई टिप्पणी गर्दा ताराहरू हतारोमा बनाएको फिल्म भन्नै पर्ने हुन्छ। छायांकन, प्रकाश, पार्श्वध्वनि, सम्पादनसहित सबै पक्षमा अझै धेरै काम गरेर मात्र फिल्म सार्वजनिक गर्नु उचित हुन्थ्यो।

संगीत : २
संगीत दर्शकलाई फिल्मको कथासँग जोड्ने सबैभन्दा प्रभावकारी माध्यम हो। अझ ताराहरू त गायक र ब्यान्डको संघर्षको कथा नै हो। यसमा जाम् त भने कुन बाटो जाम् त, ऐया नि हो जस्ता गीत छन्। पात्रहरूले संगीत अभ्यास गरिरहेका दृश्यसमेत समावेश छन्। तर, संगीत संयोजन, गायक छनोटजस्ता पक्ष कमजोर हुँदा फिल्म संगीतको शक्तिलाई उपयोग गर्न चुकेको छ। जाम् त भने कुन बाटो जाम् त गीतको शब्द र लय राम्रो छ। तर, प्राविधिक पक्षसँगै छायांकनमा समेत ध्यान पुर्‍याइएको छैन।

निर्देशन : २
निर्देशक आशान्तले ठूला स्टारबिना फिल्म बनाउने जोखिम मोल्नु सराहनीय पक्ष हो। अझ नयाँ कलाकारसँग काम गर्नु प्रशंसनीय छ। समाजकै कथा टिपेर निम्नवर्गीय तप्काको भोगाइ चित्रण गर्ने प्रयास अर्को सकारात्मक पक्ष हो।
मूल कथा गायक बन्ने सपना नौलो विषय होइन। यस्तो विषय समात्दा प्रस्तुतिमा नयाँपन दिन सक्नुपर्छ। आशान्तले पुरानै शैली समातेका छन्। यही नै उनको निर्देशकीय कमजोरी हो।

कथाको प्रस्तुतीकरण, उठान–बैठानलगायत प्राविधिक पक्षसमेतको जस–अपजस निर्देशकले नै लिनुपर्ने हुन्छ। यो कोणबाट मूल्यांकन गर्दा ताराहरूको निर्देशन पक्ष अपरिपक्व छ।