देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन : अभियन्ता ईः ईः
काठमाडौँ। अभियन्ता ईः ईःले देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा नहुने जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले फेरि सरकार परिवर्तनको खेल भइरहेको संकेत गरेका छन्।
थप दुर्घटना टार्न सबैले आ-आफ्नो भूमिकाबारे सचेत हुन जरुरी रहेको उनको भनाइ छ। ‘गृहमन्त्री कमी-कमजोरीरहित व्यक्ति होइनन् तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ,’ उनले लेखेका छन्, ‘यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिस्पर्धा चल्दै छ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो विडम्बना ! कस्तो निर्लज्जता ! बेलैमा सबै पक्षले आ-आफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरुरी देखिन्छ।’
अर्यालको सट्टा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसम्भव प्रयास गरेको उनले दाबी गरेका छन्। उनले समयमै चुनाव हुनुपर्नेमा जोड दिएका छन्।
‘आममानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ। सबैको आ-आफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो,’ फेसबुकमा उनले लेखेका छन्, ‘रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस् !’
उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको अपराधको सजाय अपराधीले पाउनैपर्नेमा जोड दिएका छन्। ‘बेलैमा सबै पक्षले आ-आफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरुरी देखिन्छ। स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनु नै पर्छ। आममानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ,’ उनले भनेका छन्।