सात सवाल
लेककी हे माया, तिमीपारि, डाँडापारि, तगारोमा रुमाल राखी, हङकङ पोखराजस्ता सदाबहार गीतका गायक विवेक श्रेष्ठ पोखराका स्थानीय हुन्। ३२ वर्ष पुरानो लोकप्रिय ब्यान्ड कन्दराको नेतृत्वसमेत सम्हालेका विवेकसँग पोखराकै सेरोफेरोमा गरिएको सात सवाल:
दुई दशक पोखराबाट टाढा बस्नुभयो, विदेशमा हुँदा पोखराको सबैभन्दा धेरै के मिस हुन्थ्यो?
बिहान आँखा खोल्नेबित्तिकै नियाल्ने माछापुच्छ्रे, खोलानाला र झरनाको ताल, पोखरेली माटोको सुगन्ध, हावाको लहर अनि प्रकृतिको छटा।
पोखराको सबैभन्दा प्रिय ठाउँ कुन र किन?
पोखराको हरेक कुना-कन्दरा मन पर्छ। तर, मेरो घरमाथिको डाँडा मेथ्लाङ र ग्यार्जती अझै प्यारा छन्।
पोखरामा मात्र पाइने कुनै मीठो खानेकुरा?
मेरी आमाले बनाउने दाल, भात र तरकारी। मेरा लागि त्यो संसारकै मीठो खाना हो।
पोखरालाई एकदुई शब्द वा विम्बमा कसरी चिनाउनुहुन्छ?
एउटा सुस्त बहने गीत, जसको सुर फेवा तालको छाल र माछापुच्छ्रेको हावामा सुनिन्छ।

माछापुच्छ्रे हिमालअगाडि विवेक। तस्बिर : विवेकको फेसबुक
पहिलोपटक पोखरामा डेट गएको ठाउँ कुन थियो?
चमेरे गुफा।
पोखराबारे बनेको सबैभन्दा मन पर्ने गीत?
‘पोखरा त साँच्चिकै पो पोखरा नै रैछ।’
पोखराको सबैभन्दा मन पर्ने लेखक?
मलाई मार्ने मन छ? हाहा…