काठमाडौँ। बलिउडका ‘एक्सन हिरो’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ।
करिब ३०० सिनेमामा अभिनय गरेका धर्मेन्द्रको करिअरको अर्जुन हिंगोरानीको फिल्म दिल भी तेरा हम भी तेरेबाट सुरु भएको थियो। १९६० को दशकमा फूल और पत्थर फिल्मबाट एक्सन हिरोका रूपमा उदाएका धर्मेन्द्रलाई मेरा गाँव मेरा देशको सफलताले स्थापित गरेको थियो।
सोले, चुपके चुपके, सत्यकाम, अनुपमा, हकिकत, सीता और गीता, जुगनु, बन्दिनी‚ धरमवीर, शालिग्राम, ड्रिम गर्ल, अपने आदि उनका चर्चित फिल्म हुन्।
पछिल्लो समय उनले करण जौहरको पारिवारिक फिल्म रक्की और रानीकी प्रेम कहानीमा अभिनय गरेका थिए।
यो पनि…
अभिनेता धर्मेन्द्रलाई १० नोभेम्बरमा स्वास्थ्य बिग्रिएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गराइएको थियो। त्यसयता उनको परिवार र प्रशंसकहरूले स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेका थिए।
यहीबीच उनको निधनको अफवाह पनि फैलिएको थियो। पछि चिकित्सकहरूले उनलाई अस्पतालबाट घर पठाएका थिए। त्यतिबेलादेखि घरमै उनको हेरचाह भइरहेको थियो।
भारतका धेरै कलाकारजस्तै राजनीतिमा समेत उनी सक्रिय भए। सन् २००४ को लोकसभा चुनावमा भाजपाका तर्फबाट धर्मेन्द्रले उम्मेदवारी दिए। निर्वाचनमा उनी विजयी पनि भएका थिए।