काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

आवरण : इतिहास

आफूद्वारा संग्रहित राष्ट्रिय महत्त्वका सम्पदाहरू सुरक्षित राख्न राजा महेन्द्र र उनको सरकारले वास्ता गरेन भन्दैमा योगीजस्ता ‘राष्ट्रभक्त’ले आफ्नो संग्रह किन विदेशी संस्थालाई सुम्पिए?

१८ भाद्र २०८२
अ+
अ-

मूल विषय
राजा महेन्द्रका प्रमुख निजी सचिव लोकदर्शन बज्राचार्यले ‘योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ’ मा प्रकाशित आफ्नो संस्मरणमा एउटा गम्भीर महत्त्वको घटना उल्लेख गरेका छन्। सो लेखमा भनिए अनुसार योगी नरहरिनाथ, आफूले संकलन गरेका ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका शिलापत्र, ताम्रपत्र, भोजपत्र, कनकपत्र, स्वर्णपत्र, वंशावली आदि दुर्लभ कागजात र सक्कल प्रमाणहरू सुरक्षित रूपमा राख्ने अभिलेखालय स्थापनाका लागि सहयोग माग्न तत्कालीन राजाका प्रमुख निजी सचिव बज्राचार्यकहाँ पुग्छन्।

बज्राचार्यले यति गहन र राष्ट्रिय महत्त्वको काम आफूबाट मात्र सम्भव नहुने बताएर राजालाई नै भेटेर कुरा राख्न योगीलाई सल्लाह दिन्छन्। त्यसै अनुरूप उनले राजा महेन्द्रसँग योगीको भेट गराइदिन्छन्। यही प्रयोजनका लागि योगी पटक–पटक राजा महेन्द्र, प्रधानमन्त्री र शिक्षामन्त्रीकहाँ धाउँछन्। वर्षौं बित्छ, काम हुँदैन। योगी निराश हुन्छन्। अन्ततः उनले आफूसँग संकलित ऐतिहासिक दस्ताबेज र प्रमाणहरू भारतको कुनै शैक्षिक संस्थालाई दिन्छन्।

यो घटनाको निकै पछि, कुनै बेला भेट हुँदा बज्राचार्य योगीसँग ठाडै प्रश्न गर्छन्, “योगीजी! तपाईंले दुःखले सञ्चय गरेका त्यत्रा अमूल्य निधि आफ्नो देशमा नराखेर किन विदेशी संस्थालाई दान दिनुभएको? तपाईंजस्तो राष्ट्रवादी व्यक्तिले त्यसो गर्नुभएको ज्यादै नै अशोभनीय लाग्यो।”

बज्राचार्यको यो प्रश्नको झर्किएर जवाफ दिँदै योगी भन्छन्, “तपाईंले मलाई यत्रो लाञ्छना किन लगाएको? यो राष्ट्रमा राष्ट्रप्रेमी (राष्ट्रवादी) व्यक्तिको केही मूल्य छैन। न त राष्ट्रिय निधिको संग्रह, संरक्षण र राष्ट्रियताको नै मूल्य छ। तपाईंलाई थाहा छ? तपाईंका राजालाई राष्ट्र नायकजस्तो व्यक्तिसमक्ष मैले आफ्नो मनमा लागेका सबै कुरा जाहेर गरी एउटा राष्ट्रिय अभिलेखालय, पुस्तकालय खडा गरिदिइबक्सन बारम्बार बिन्ती गर्दा बल्लबल्ल सकारात्मक आश्वासन पाएँ, तर त्यो पनि कार्यान्वयन हुन सकेन। प्रधानमन्त्री र शिक्षामन्त्री सबैसँग गुहार माग्न जाँदा मेरो देशप्रेमी भावना र सदिच्छालाई कार्यान्वयन गर्नेतर्फ केही हुन सकेन। कराउँदा कराउँदा, धाउँदा धाउँदा म थकित र निराश भएँ। अब आफ्नो देशमा आफ्नो मूल्यको कदर नभएको र यस्तो निस्वार्थ राष्ट्रहितको कार्यमा समेत सघाउ पुर्‍याउने कसैको पनि मनसाय नभएकाले मैले भारतको एक शिक्षण संस्थालाई आफूले सञ्चित गरेका सम्पूर्ण सामग्री सुम्पिदिएँ। यही आशाले कि आफ्ना देशवासीले कदर नगरे पनि विदेशमा त्यसको कदर हुनेछ।”

योगी नरहरिनाथ। तस्बिर : मदन पुरस्कार पुस्तकालय

यसरी रिसाएर, निराश भएर आफूले संकलन गरेका ऐतिहासिक दस्ताबेज र प्रमाणहरू विदेशी संस्थालाई दिए पनि योगीलाई त्यस्ता राष्ट्रिय महत्त्वका प्रमाण, कागजात सुरक्षित राख्न देशभित्रै भरपर्दो संस्थागत व्यवस्था जरुरी रहेको कुरा भने पछिसम्म पनि खट्किरहेको देखिन्छ। त्यसको प्रमाण २०५५ सालमा प्रकाशित उनको एउटा कृति सन्धिपत्र संग्रह (भाग– १) को दोस्रो संस्करणको भूमिकामा पाइन्छ। त्यो भूमिकामा योगीले लेखेका छन्, ‘यस्ता ऐतिहासिक प्रकाशनमा सबैको रुचि हुनु वाञ्छनीय छ र यसनिम्ति एउटा सक्रिय र भरपर्दो संस्थाको आवश्यकता पनि अनुभव गरिएको छ।’

तर, विडम्बना के भने योगीले धेरै वर्षअघि नै अज्ञात संख्या र मात्रामा त्यस्ता ऐतिहासिक, पुरातात्त्विक प्रमाणहरू भारतको कुनै संस्थालाई दिइसकेका थिए।

संग्रहको आकार र महत्त्व
योगी नरहरिनाथले देशका कुनाकन्दरासम्म अहोरात्र यात्रा गरेर पुरातात्त्विक–ऐतिहासिक महत्त्वका कागज, शिलापत्र, भोजपत्र, स्वर्णपत्र, सन्धिपत्र, कनकपत्र, वंशावली, प्रशस्ति र साहित्यिक, धार्मिक ग्रन्थ एवं तिनका पाण्डुलिपिका मूलप्रति संग्रह गरेर देश र नेपाली समाजलाई ठूलो गुन लगाएकामा कसैको विमति देखिँदैन। योगीका यस्ता कामको प्रशंसामा इतिहासविद् दिनेशराज पन्त सोही अभिनन्दन ग्रन्थमा लेख्छन्, ‘…बाबुराम आचार्य, नयराज पन्त मूलतः काठमाडौं खाल्डो र त्यसवरपरकै अनुसन्धानमा संलग्न रहनुभयो भने योगी नरहरिनाथले आफ्नो अनुसन्धान क्षेत्र नेपालभरि र नेपालबाहिर पनि पुर्‍याइ ऐतिहासिक सामग्रीको संकलन र त्यसको प्रकाशनलाई निकै बढाउनु भयो।’

विज्ञ पन्तका अनुसार पृथ्वीनारायण शाहको दिव्योपदेश योगीले नै पहिलो पटक प्रकाशनमा ल्याएका हुन्। त्यस्तै गोपालराजवंशावली प्रकाशन गरेर नेपालको मध्यकालको इतिहास उजागर गरेको तथा गोरखामा लिच्छविकालको अभिलेख पत्ता लगाएर प्राचीन नेपाल उपत्यका बाहिरसम्म नै विस्तारित रहेको तथ्य स्थापित गर्ने श्रेय पनि पन्तले योगी नरहरिनाथलाई नै दिएका छन्।

योगीले के कति संख्या र महत्त्वका ऐतिहासिक प्रमाण एवं दस्ताबेज संकलन गरेका थिए भन्ने प्रश्नको यकिन जवाफ कसैसँग पनि पाइँदैन। यसो हुनाको एउटा कारण सामग्री खोज्ने र थन्क्याउने योगीको ‘जोगी’ शैली पनि हो। अर्थात् अव्यवस्थित र लठिभद्र पारा। त्यसै भएर योगीले संग्रह गरेका, सम्पादन गरेका र उनी आफैंले लेखेका सामग्रीको ठोस विवरण पाउन कठिन छ।

योगी नरहरिनाथको जीवनीका लेखक स्वामी प्रपन्नाचार्यका अनुसार गोरक्षग्रन्थमाला प्रकाशनले योगीका ११४ वटा कृति (संकलित, सम्पादित र अनुवाद समेत) प्रकाशित गरेको छ। त्यसमा सन्धिपत्र संग्रहका ७ भागसमेत समेटिएका छन्। तर चाखलाग्दो कुरा के छ भने सन्धिपत्र संग्रहको पहिलो भागका ८०० पेजमै ११०० वटा अभिलेख र २०० भन्दा बढी ऐतिहासिक फोटो तथा नक्सा, चित्रहरू समाविष्ट छन्। इतिहासका अध्येता काशीनाथ तमोटका अनुसार सो सन्धिपत्र संग्रह (भाग–१) मा अभिलेखबाहेक मेघदूत लगायत २० वटा ग्रन्थ र १५ वटा वंशावली पनि अटाएका छन्।

नरहरिनाथको संकलनमा सन्धिपत्र, धर्मपत्र, शिलालेखबाहेक नेपाली भाषा र संस्कृतिको विगत झल्काउने अनेक ऐतिहासिक सामग्री पनि रहेको अध्येताहरूको निष्कर्ष छ। ‘नेपाली भाषामा लेखिएको पहिलो कविता’ मानिएको सुवानन्द दासको ‘पृथ्वीनारायण’ शीर्षकको कविताको मूल प्रति फेला परेपछि आफ्नो केही दिन पुरानो मौनव्रत तोडेर योगी नरहरिनाथ आह्लादित भएको व्यहोरा जनकलाल शर्माले आफ्नो लेखमा खुलाएका छन्। योगीको अभिनन्दन ग्रन्थमा नै प्रकाशित शर्माको उक्त लेखमा उनी भन्छन्, ‘यस यात्रामा ५०० भन्दा बढी नै स्याहामोहर, लालमोहर हामीलाई प्राप्त भए। शिलालेख, काष्ठलेख, ताम्रलेख, स्वर्णलेख, घन्टालेख त गन्ती नै गरेनौं हामीले। विभिन्न वंशावली पनि आएका थिए हाम्रो संकलनमा। प्रचुर मात्रामा भयो ऐतिहासिक सामग्रीको संकलन।’

नेपाली भाषाको प्राचीन लेखन नमुना दर्शाउने वि.सं. १४१३ मा कर्णाली प्रदेशका राजा पृथ्वीमल्ल देवको पालाको कनकपत्र पनि योगीको संकलनमा रहेको कुरा अर्का अध्येता नयनाथ पौडेलले लेखेका छन्। प्राचीन नेपालसम्बन्धी विषयका विज्ञ पौडेलका अनुसार सो कनकपत्रले नेपाली भाषाको उत्पत्ति एवं विकास बुझ्न भाषाशास्त्रीहरूलाई अत्यन्त धेरै सघाएको छ।

योगीका कतिपय अनुयायीले पछिल्लो समय प्रकाशन गरेका किताबमा योगीका कृतिको संख्या ५७२ उल्लेख गरेको पाइन्छ। तर, संख्या धेर–थोर जे भए पनि योगीले नेपालका गाउँ–गाउँ पुगेर संकलन गरेका मूलकागज र वस्तुहरूको ऐतिहासिक एवं प्रमाणजन्य महत्त्व अतिउच्च रहेकामा दुईमत देखिँदैन।

पुरातात्त्विक अध्ययन र इतिहास लेखनमा मूल प्रमाण अथवा मूल स्रोत (original evidence) को महत्त्व कति मूल्यवान् हुन्छ भन्ने कुरा सो अभिनन्दन ग्रन्थमै प्रकाशित प्राज्ञ नयराज पन्तको एउटा छोटो लेखमा व्यक्त भएको छ। त्यसमा नयराज पन्त लेख्छन्, ‘वि.सं. २०११ को बर्खामा योगीजीको नेतृत्वमा म चाँगुनारायण गएँ। यस दिनको यात्रा निकै सफल रह्यो। धेरै कालदेखि ३ हो कि ९ हो भनी वादविवादमा आइरहेको लिच्छविकालको संख्यालाई यस यात्राले ७ हो भनी निर्णय गरिदियो।’

राजेन्द्र दाहाल। तस्बिर : बिक्रम राई/नेपालन्युज

लिच्छविकालीन शिलालेख चाँगुनारायणको मन्दिर प्रांगणमा जस्ताको त्यस्तै अर्थात् मूल स्वरूपमै रहिरहेका कारण इतिहासका अध्येताहरूले लिच्छविकालीन संख्यामा रहेको अन्योल हटाएर यसरी आफ्नो र समाजको ज्ञान–भण्डार समृद्ध पार्न सके। यसबाट ऐतिहासिक दस्ताबेजको मूल–स्वरूपको महत्त्व अरू स्पष्ट हुन्छ। फोटो या प्रतिलिपिले मूल दस्ताबेजलाई कहिल्यै पनि प्रतिस्थापित गर्न सक्दैनन्। त्यसकारण नै ऐतिहासिक, पुरातात्त्विक महत्त्वका वंशावली लगायतका कागजपत्र होऊन् या शिलापत्र, स्याहापत्र, मूर्ति आदि वस्तुहरूको उच्च महत्त्वका साथ संरक्षण र जगेर्ना गर्ने गरिन्छ।

प्रश्न–१
आफूले अरू विद्वान् र अन्वेषकसमेतको सहयोग जुटाएर, पूरै देश तथा केही विदेशी भूमिसमेत पैदल हिँडेर संग्रह गरेका ऐतिहासिक प्रमाण र कागजपत्रहरूको महत्त्व बुझेर नै ती सामग्रीको सुरक्षा, संरक्षण र सदुपयोग निम्ति सहयोग माग्न योगी नरहरिनाथ तत्कालीन राजा महेन्द्रको ढोकामा पुगेको व्यहोरा राजाकै प्रमुख सचिव रहेका लोकदर्शन बज्राचार्यको सार्वजनिक लेखाइबाट हामी थाहा पाउँछौं। सँगै, योगीको अभिनन्दन ग्रन्थमै प्रकाशित एकभन्दा धेरै लेख–रचनाबाट योगी नरहरिनाथलाई राजा महेन्द्रले राजनीतिक र अन्य काममा पटक–पटक सहयोग गरेको, प्रयोग गरेको, योगी ‘प्रयोग’ पनि भएका र केही काममा योगीले पनि राजा महेन्द्रलाई ‘उपयोग’ गरेको व्यहोरा स्पष्ट हुन्छ।

योगी नरहरिनाथ अभिनन्दन ग्रन्थको आवरण

राजा महेन्द्र र योगी नरहरिनाथबीच विशेष गरी २०१४/१५ साल आसपास विकसित भएको घनिष्ठ सम्बन्ध र तात्कालिक परिवेश हेर्दा राजा महेन्द्रले अभिलेख बनाइदिने योगीको प्रस्तावलाई सहर्ष स्वीकार गरी तत्काल कार्यान्वय पनि गराउनुपर्ने हो भन्ने लाग्छ। तर पनि, योगीले निजी बलबुतामा संकलन गरेका ऐतिहासिक वस्तुको संरक्षणमा सघाएर आफूले समेत त्यसको श्रेय लिने अवसरलाई महेन्द्रले किन बेवास्ता गरे?

उनले चाहेको भए प्रज्ञा प्रतिष्ठानजस्तो अर्को भवन ठड्याइदिन अथवा भइरहेका पुस्तकालय, कार्यालय, निकाय आदिका सरकारी भवन पनि दिलाइदिन सक्थे। नयाँ बनाए पनि, भइरहेको भवन दिए पनि त्यो राज्यकै सम्पत्तिबाट हुने थियो; राजाको निजी सम्पत्तिमा कुनै आँच पुग्ने थिएन। बरु नेपाल राष्ट्र र नेपाली समाजको विगतको यथार्थ बताउने मूल्यवान दस्ताबेज र प्रमाणहरूको ‘संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने राजा’ भनी उनको ‘राष्ट्रवादी’ छविलाई त्यसले थप चम्काइदिन सक्थ्यो।

तर, खै किन हो– नेपाली राष्ट्रियतामा ठूलो योगदान गर्न सक्ने एउटा महत्त्वपूर्ण कार्यबाट ‘राष्ट्रवादी’ छवि बनाएका राजा महेन्द्र विमुख भएको माथिको वृत्तान्तले देखाउँछ। प्रमुख निजी सचिव बज्राचार्यको विवरण पढ्दा राजा महेन्द्रले यो सबालमा योगीलाई बेवास्ता मात्रै होइन, तिरस्कार नै गरेको आभास हुन्छ। योगी आफैं स्वीकार गर्छन्, ‘कराउँदा कराउँदा, धाउँदा धाउँदा म थकित र निराश भएँ।’

प्रश्न–२
नरहिरनाथ आफ्नै रुचि र स्वप्रेरणाबाट नेपालको ऐतिहासिक, पुरातात्त्विक, सामाजिक र धार्मिक अध्ययन एवं अन्वेषणमा निस्किएका थिए। नेपाली राष्ट्रियता र सनातन धर्म–संस्कृतिप्रति उनको लगाव अगाध थियो। नेपालभित्र मात्रै नभई भारतीय भूमिमा समेत उनको प्रभाव अद्वितीय थियो। उनले गराएका करिब ७० वटा कोटीहोममध्ये १४ वटा नयाँदिल्ली र भारतका अन्य सहरमा सम्पन्न भएका थिए। कोटीहोमसँगै योगीले स्थापना गरेर छोडेका दर्जनौं संस्कृत पाठशाला आज पनि नेपालका गाउँ–ठाउँमा सुसञ्चालित नै छन्।

‘राष्ट्रवाद’ का दुई आइकन

उनले दाङमा स्थापना गर्न खोजेको संस्कृत विश्वविद्यालयकै जगमा आज नेपाल संस्कृत विश्वविद्यालय खडा छ। इतिहास र पुरातत्त्वको अन्वेषण र अनुशीलनमा देशका नामी विद्वान र विशेषज्ञहरूलाई उनले नै एकजुट गराउन सक्थे। अर्थात्, योगी नरहरि जे थिए, आफ्नै बुतामा निर्मित थिए; स्वअभिप्रेरित थिए। उनले गरेका सत्कर्ममा आममानिस र विद्वान्–विदूषीको पर्याप्त साथ–सहयोग रहेको देखिन्छ, बरु सरकार र राजाहरूको कुनै प्रत्यक्ष योगदान देखिँदैन।

तथापि, आफूद्वारा संग्रहित राष्ट्रिय महत्त्वका सम्पदाहरू सुरक्षित रूपमा राख्न राजा महेन्द्र र उनको सरकारले वास्ता गरेन भन्दैमा योगीजस्ता ‘राष्ट्रभक्त’ले आफ्नो संग्रह किन विदेशी संस्थालाई सुम्पिए? संग्रह उनले गरेका भए पनि ती प्रमाण र दस्ताबेज वस्तुतः नेपाली जनताका साझा सम्पत्ति थिए, नेपाल राष्ट्रका सम्पदा थिए। त्यस्ता अमूल्य वस्तु विदेशको एउटा अज्ञात संस्थालाई दान दिनुअघि योगीले राष्ट्रप्रतिको आफ्नो दायित्व कसरी बिर्सिए?

राष्ट्रवादी पहिचान

राजा महेन्द्र र योगी नरहरिनाथप्रति लक्षित माथिका प्रश्नको एउटा प्रमुख आधार– नेपाली जनमानसमा व्याप्त उनीहरूको कथित ‘राष्ट्रवादी’ छवि हो। अर्थात् राजा महेन्द्र र योगी नरहरि अहिले पनि धेरैका लागि ‘राष्ट्रवाद’का पर्याय (आइकन) हुन्।

उनीहरूका थुप्रै अनुयायी यही ‘राष्ट्रवादी छवि’को छहारीमा अहिले पनि राजनीति गरिरहेका भेटिन्छन्। तर राजा महेन्द्रका प्रमुख निजी सचिवले सार्वजनिक गरेको माथिको घटना र तत्‌सम्बन्धी वृत्तान्तले उनीहरू दुवैको त्यो (राष्ट्रवादी) छविमा प्रश्न गर्न बाध्य पार्छ।

दाहाल शिक्षक मासिकका सम्पादक हुन्।