काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दुई वर्षमै फेरियो ओलीको बोली

राष्ट्रपति राजनीतिमा आउने विषयमा दुई वर्षको अवधिमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको परस्पर विरोधी धारणा

१० भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको विषयमा दुई वर्षअघि व्यक्त धारणा अहिले सामाजिक सञ्जालमा व्याप्त छ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीति प्रवेशमा रोक्ने गरी केन्द्रीय कमिटीले निर्णय गरेपछि दुवैबीच आरोप-प्रत्यारोप भइरहेको समयमा पुरानो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

पत्रकार ऋषि धमलाको प्राइम टीभीबाट प्रसारित उक्त अन्तर्वार्तामा ओलीले राष्ट्रपति राजनीतिमा आउनु हुँदैन भन्ने विचार बेकार भएको बताएका छन्। ‘पूर्वराष्ट्रपतिलाई कसैले कांग्रेसको सभापति बनाउने भए पनि पाउँछ, अर्को पार्टीको अध्यक्ष बनाउने भए पनि पाउँछ, एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ’, ओलीले भनेका थिए।

ओलीले राजनीतिमा आउने वा नआउने भण्डारीको स्वइच्छाको कुरा भएको बताएका थिए। ‘राजनीतिमा फर्किने उहाँको खुसीको कुरा हो, हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निष्क्रिय बन्नेभन्दा उहाँ कुनै हिसाबले सामाजिक र राजनीतिक रूपमा सक्रिय हुनुहोस्। हुँदैन भन्ने बेकारको कुरा हो। पोलिटिक्समा आउनु हुँदैन भन्ने बेकारको कुरा हो,’ ओलीले भनेका छन्।

तर, अहिले भने उनै ओली विपरीत धारमा छन्। पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय गरेपछि ६ साउनमा ओली नेतृत्वको एमालेले भण्डारी गणतन्त्रको गौरव भएको भन्दै पुन: राजनीति अस्वीकार्य हुने बताएको छ। ६ भदौमा एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कर्मचारीलाई झुक्याएर सदस्यता नवीकरण गरेको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्। अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीले एक अर्काको तीव्र आलोचना थालेका छन्।

प्राइम टीभी युट्युब च्यालनमा ६ असोज २०८० मा उक्त भिडियो अपलोड गरिएको थियो।

यसरी बदलियो ओलीको बोली