टिप्पणी
शरणार्थी बनेका नेपालीमध्ये एक प्रतिशत पनि छैनन् वास्तविक
नेपालीले धेरै वर्षदेखि विभिन्न देशमा शरण माग्ने गरेका छन्। यसमा प्रमुख कारण राजनीतिभन्दा पनि आर्थिक देखिन्छ। आर्थिक कारणले शरणार्थी बन्न मिल्दैन।
कुनै देशमा बस्न, श्रम स्वीकृति लिन राजनीतिक रूपबाट संलग्न नभए पनि आफूलाई राजनीतिक आस्था र विश्वासका कारण स्वदेशमा ज्यानै खतरामा छ भनेर शरण माग्ने गरेको देखिन्छ। जुन दाबी प्रायः नक्कली र झूटो हुन्छ। आफ्नो देश फर्केर गए आफूलाई समात्छ भनेपछि अमेरिका, बेलायत तथा युरोपतिर मानवअधिकारको हिसाबले संरक्षण गरिन्छ, शरण दिइन्छ।
मान्छेलाई राजनीतिक आस्थाको आधारबाट कुनै कारबाही हुन्छ भने त्यस्तो मान्छेलाई सम्बन्धित देश पठाउँदैनौं भनेर न्याय सन्धिमा पनि हस्ताक्षर गरेको हुनाले उनीहरूले संरक्षण गर्छन्। त्यही आधारमा नेपालीले शरणार्थी हुन निवेदन दिने गरेका छन्।
अमेरिकामा निवेदन दिएपछि उनीहरू अवैध भए पनि, भिसा नभए पनि काम गर्न पाउने सुविधा हुन्छ। त्यस्तै तिनले आफ्नो देश बाहेक अरू देश घुम्न यात्रा अनुमति पनि पाउँछन्। नेपालीहरू घुमघामभन्दा काम गर्न, पैसा कमाउनकै लागि शरणार्थी बनेका हुन्। अमेरिकामा कुनै पनि व्यक्तिले पर्यटक भिसामा गएर काम गर्न पाउँदैन। त्यहाँ काम गर्न कि त कामदार भिसामा जानु पर्यो, कि विवाह गरेर जानु पर्यो। अन्य तरिकाले अमेरिकामा काम गर्न नपाइने भएकाले धेरैले श्रम स्वीकृति लिएर काम गर्ने प्रयोजनकै लागि शरणार्थी आवेदन दिएका हुन्छन्।
कतिले ग्रिनकार्डका लागि विवाह गर्ने अनि सम्बन्धविच्छेद पनि गरेका छन्। सम्बन्धविच्छेदपछि शरणार्थी बन्न पाऊँ भनेर राजनीतिक शरण माग्दै आवेदन दिनेको संख्या पनि मनग्य छ। यसरी गलत काम भएको थाहा पाएपछि अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकमा कतिलाई कारबाही पनि गरिएको छ।
नेपालबाट जानेलाई अरूले शरणार्थी बन्न सिकाउँछन्। त्यसका लागि वकिलहरूले पनि सल्लाह दिन्छन्।
शरणार्थी आवेदन दिनेले सुनाउने कथा भनेको नेपालमा राजनीतिक स्वतन्त्रता छैन, विरोधीको कुरा सुनिँदैन, सरकार तानाशाही छ भन्ने हो। तर, यो पूर्णतः वास्तविक नभएकाले शरणार्थी बन्न मरिहत्ते गर्नेलाई निरुत्साहित गर्न थालिएको छ। कडाइ गर्न थालिएको छ। त्यति हुँदाहुँदै अझै पनि शरणार्थी बनेर जाने नेपालीको कमी छैन। यसबाट विश्वव्यापी रूपमा प्रदान गरिएको शरणार्थीको अधिकार दुरुपयोग भएको छ।
पहिला धेरै भारतीय मुसलमानले हिन्दु वर्गले हामीलाई दबाउँछ भनेर विभिन्न देशमा शरणार्थी बन्न निवेदन दिन्थे। नेपालीले पनि यस्तै विभिन्न राजनीतिक, धार्मिक कारण देखाउने गर्थे। त्यतिबेला अलि सजिलै शरण पाउँथे। अहिले चाहिँ तुरुन्तै प्रमाण हेरिन्छ। सबै प्रमाण हेरेर मात्र निर्णय गरिन्छ। अचेल शरणार्थी बन्न नक्कली तरिका अपनाएका र प्रमाण नपुगेकालाई नेपाल नै फर्काउन थालिएको छ।
वास्तविक शरणार्थीलाई त अहिले पनि शरण दिइन्छ तर शरणार्थी बनेका नेपालीमध्ये एक प्रतिशत पनि वास्तविक छैनन्। भन्नुको अर्थ शरणार्थी बनेका ९९ प्रतिशत नेपाली नक्कली शरणार्थी हुन्।