जनकपुरधाम। मधेस प्रदेशका पदबाट बर्खास्त गरिएका प्रदेशसभा सदस्यहरूले सभामुखको कारबाही पूर्वाग्रही र दलीय इसरामा गरिएको आरोप लगाएका छन्। उनीहरूले सभामुख रामचन्द्र मण्डलले आफ्नो पदीय मर्यादाविपरीत गएर यस खालको गतिविधिमा लागेको आरोप लगाएका छन्।
उनीहरूले आफूहरूलाई गरिएको कारबाही र बैठकमा उपस्थितिको विषयमा जानकारी लिन जाँदा निवेदन लिए पनि चार घण्टासम्म ‘अहिले दिन्छु केही समयमा दिन्छु’ भन्दै कर्मचारीहरूले मोबाइल अफ गरेर बसेको आरोप लगाएका छन्।
पूर्वमन्त्री एवं सर्लाहीका प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले आफूहरूले सभामुखमाथि महाअभियोग लगाउन निवेदन दर्ता गराउँदा पूर्वाग्रही रूपमा बर्खास्त गरिएको आरोप लगाए। उनले भने, “हामी यसअघि बैठकमा थियौँ तर कहिले पनि यस खालको कार्य भएन। तर अहिले आएर एक्कासि पदबाट बर्खास्त गरिनु सभामुखको उदण्डता र दलीय सोच हो। यसविरुद्ध उपचार खोज्छौँ।”
लगातार १० दिन प्रदेशसभा बैठकमा उपस्थिति नभएको भन्दै बिहीबार पाँच सांसदको पद रिक्त गरेको छ। पद रिक्त गरिएका प्रदेशसभा सदस्यमा उर्मिलादेवी सिंह‚ मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार र शारदाशंकरप्रसाद कलवार छन्। प्रदेशको राजपत्रमा समेत यसको सूचना प्रकासित गरिएको छ।