काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी रिट निवेदनमा संवैधानिक र कानुनी प्रश्न निरूपण गर्नुपर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि निर्वाचन आयोग र गगन थापालगायतलाई छलफलमा बोलाउँदै संविधान, कानुन र कांग्रेसको विधानलगायत विषयमा र निर्वाचन आयोगको निर्णयबारे पछि निर्णय गर्ने गरी आदेश गरेको छ।
योसँगै गगन थापा नेतृत्वको कार्यसमितिलाई अर्को आदेश जारी नभएसम्म काम गर्न सहज भएको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ।
कांग्रेसभित्रको विवादका कारण विशेष महाधिवेशन गरी कांग्रेस सभापतिमा गगन थापालाई सभापति निर्वाचित गरिएको थियो। त्यसपछि निर्वाचन आयोगले कांग्रेसको चुनाव चिह्न रूख र चारतारे झन्डा विशेष महाधिवेशन पक्षधरलाई दिएको थियो। त्यसविरुद्ध यसअघिका सभापति शेरबहादुर देउवाले आफूहरू आधिकारिक रहेको दाबीसहित सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
थापाले देउवालगायत पक्षलाई समेट्दै २१ फागुनको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिसकेका छन्। समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भने देउवाको हस्ताक्षरमा निर्वाचन आयोगमा सूची बुझाइएको छ।