प्रदूषण
जथाभावी प्लास्टिक नबाल्न‚ निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गर्न र तोकेका मापदण्डको पालना गर्न सरकारको आग्रह
काठमाडौँ। पछिल्लो एक सातायता देशैभर वायु प्रदूषण बढ्दै गएको छ। विशेषगरी, काठमाडौँ, पोखरालगायत ठूला सहर र तराईका अधिकांश स्थानका वायुमण्डलमा दूषित हावाका कण वा तरल थोपा (पीएम २.५) को मात्रा बढेको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको वायु गुणस्तर मापन ‘ड्यासबोर्ड’ ले देखाएको छ।
चिसोका कारण प्रदूषित हावा आकाशमै अलमलिँदा वायु प्रदूषण उच्च हुन पुगेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन्। उनका अनुसार वायु प्रदूषणको असर काठमाडौँ उपत्यकामा बढी छ। “उपत्यका कचौरा आकारको भएकाले दूषित हावा सजिलै उडेर जान सक्दैन। विषाक्त हावा वायुमण्डलमा पूरै ढकनी लगाएर अडिएको छ,” उनी भन्छन्, “यसकारण २२ फागुनयता काठमाडौँको आकाश पूरै धुम्मिएको छ।” उपत्यकाको वायु गुणस्तर सुधार गर्न वेगमा हावा चल्नुपर्ने या पर्याप्त वर्षा हुनुपर्ने हुन्छ।
तत्काल उपत्यकामा ठूलो वर्षा हुने अवस्था नरहेकाले यहाँको वायु अझै केही दिन प्रदूषित नै रहन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलको भनाइ छ। “आगामी दिन देशभर मौसम बदली हुने देखिएको छ। कोसी, बागमती, मधेस र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्का वर्षाको सम्भावना छ‚” उनी भन्छिन्।
देशभर वन डढेलोका घटना बढ्नुका साथै कागज तथा प्लास्टिकजन्य फोहोरपदार्थ र बालीनालीका अवशेष जलाउने, इँटाभट्टा, उद्योग कलकारखाना, सवारीसाधनबाट हुने उत्सर्जन, छिमेकी भारतबाट आउने दूषित हावाले गर्दा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी गराएको छ।

काठमाडौँ उपत्यकामा कालो धुवाँ उडाउँदै गुडेका सार्वजनिक सवारीसाधन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
नासाको आगलागीसम्बन्धी सूचना व्यवस्थापन प्रणालीमा अभिलेख भएअनुसार २० फागुनमा देशभरको ७० स्थानमा आगलागी तथा वन डढेलो देखिन्छ। २० फागुनदेखि पछिल्लो एक साताभित्र देशभर २५० भन्दा बढी स्थानमा आगलागी तथा वनमा डढेलो फैलिएको छ। यसैगरी, भारतको उत्तर र उत्तर-पश्चिम भेगमा पनि आगलागी तथा वन डढेलोको दर बढेको छ। दूषित हावाको कण बोकेको हावा पश्चिमबाट पूर्वतर्फ बहेकाले प्रदूषणको मात्रा बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी वायु उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ। वातावरण निरीक्षक लामिछानेले बर्सेनि मध्य फागुनदेखि एक महिना वायु प्रदूषणको मात्रा उच्च हुने गरेको बताउँछन्।
पीएम (पार्टिकुलेट म्याटर) सूक्ष्म कण हो। यी कण कपालको चौडाइभन्दा १० गुणा साना हुन्छन्। जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन्। पीएम २.५ माइक्रोस्कोप लगाएर मात्रै देख्न सकिने ज्यादै साना कण हुन्। यी कण सवारीसाधन, उद्योग, कलकारखाना तथा इँटाभट्टाको धुवाँ, दाउरा, घुर, कोइला, गुइँठा, छ्वालीजस्ता कृषि अवशेष बाल्दा र वन डढेलोबाट निस्कन्छन्। यी कण श्वास फेर्दा फोक्सो र रगतमा सिधै प्रवेश गर्छन्। वायु गुणस्तरविज्ञ रेजिना मास्केका अनुसार यसबाट फोक्सोको क्यान्सर, मुटु रोग, मस्तिष्कघातजस्ता गम्भीर स्वास्थ्य समस्या हुन्छ। ‘स्टेट अफ ग्लोबल एयर, २०२५’ को प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४१ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।

स्टेट अफ ग्लोबल एयरको नेपाल प्रोफाइल।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणले विशेषगरी जोखिम समूहमा पर्ने दम खोकीजस्ता श्वासप्रश्वासका दीर्घरोगी, पाँच वर्षमुनिका बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक, अशक्त असहायलाई बढी असर पार्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको बताउँछन्। “बिहान र बेलुकी हानिकारक हावाको मात्रा अत्यधिक हुने भएकाले सकेसम्म बाहिर ननिस्कन, निस्कनै परे जिउ ढाक्ने कपडा र नाकमुख छोप्ने मास्क लगाउन सर्कुलर गरेका छौँ,” उनी भन्छन्।

धुवाँधुलोबाट जोगिन मास्क लगाएका सर्वसाधारण। तस्बिर : नेपाल फोटो लाइब्रेरी
वातावरण विभागले पनि २५ फागुनमा वायु प्रदूषण न्यूनीकरण गर्न तथा सावधानी अपनाउन सूचना जारी गरेको छ। विभागले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, कागज तथा प्लास्टिकजन्य फोहोर तथा बालीनालीका अवशेष नजलाउन, वनमा डढेलो नलगाउन र लागिहालेमा तत्काल निभाउन, निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गर्न र सरकारले तोकेका मापदण्डको पूर्ण पालना गर्दै उद्योग कलकारखाना सञ्चालन गर्न अनुरोध गरेको छ।
कुन स्टेसनमा कति
पूर्वी पहाडी जिल्ला इलामको वायु प्रदूषण पछिल्लो एक सातामा देशभरकै उच्च रह्यो। इलाममा वायु गुणस्तर मापन केन्द्रका अनुसार २४ फागुनमा सूक्ष्म कण तथा ग्यास पीएम २.५ को दैनिक औसत तह प्रतिघनमिटर १४५.५३ माइक्रोग्राम मापन भयो। जुन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको सीमाभन्दा झन्डै १० गुणाले बढी छ। डब्लूएचओले दैनिक औसत तह प्रतिघनमिटर १५ माइक्रोग्राम हुनुपर्ने सीमा तोकेको छ। आज दिउँसो ४ बजेसम्म दैनिक औसत तह १०९.५० माइक्रोग्राम मापन भएको छ।
यसैगरी, काठमाडौँ उपत्यकामा सबैभन्दा उच्च वायु प्रदूषण भक्तपुरमा मापन भएको छ। २० फागुनमा उकालो लागेको वायु प्रदूषण झनै बढ्दै गएको छ। २० फागुनमा भक्तपुर मापन केन्द्रमा पीएम २.५ को तह प्रतिघनमिटर ७९.८३ माइक्रोग्राम थियो भने आज दिउँसो ४ बजेसम्म दैनिक औसत तह प्रतिघनमिटर १०५.६९ माइक्रोग्राम पुगेको छ।
दाङको देउखुरी केन्द्रमा २० फागुनयता पछिल्लो एक सातामा हिजो (सोमबार) वायु प्रदूषण उच्च तहमा पुग्यो। २५ फागुनको दैनिक औसत तह प्रतिघनमिटर ९४.४० माइक्रोग्राम पुगेको थियो।
अछामको मापन केन्द्रअनुसार २३ फागुनदेखि वायु प्रदूषण लगातार बढ्दै गएको छ। त्यसदिन अछाम केन्द्रमा पीएम २.५ को दैनिक औसत तह प्रतिघनमिटर ५१.२८ माइक्रोग्राम थियो भने आज ४ बजेसम्म प्रतिघनमिटर ७७.१५ माइक्रोग्राममा उक्लिएको छ।
यो पनि…