दृष्टिकोण
विश्व रोजगार बजारमा बिक्ने विद्यार्थी उत्पादन गर्न अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षकले प्रयोग गर्ने सिकाइ विधिको पुनरवलोकन गर्दै समयसापेक्ष परिमार्जन गर्न ढिला भइसक्यो।
विज्ञान र प्रविधिमा भएको विकास, विश्व अर्थतन्त्रमा आएको परिवर्तन, रोजगार बजारले मागेको प्रविधिमैत्री जनशक्ति आदिका कारण विश्वका कैयौँ देशले शिक्षाको पाठ्यक्रम, पाठ्यवस्तु, सिकाइका विधि र प्रक्रियामा आमूल सुधार तथा परिवर्तन गरेका छन्।
नेपालको सन्दर्भमा साक्षरता र शिक्षित हुने दर बढे पनि विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा सैद्धान्तिक ज्ञानमा बढी र सीपमा कम केन्द्रित रहेको सबैले महसुस गरेकै विषय हो। त्यसैले विश्व रोजगार बजारमा बिक्ने विद्यार्थी उत्पादन गर्न अहिलेको शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षकले प्रयोग गर्ने सिकाइ विधिको पुनरवलोकन गर्दै समयसापेक्ष परिमार्जन गर्न ढिला भइसक्यो भन्ने स्वर मुखरित हुन थालेको छ।
आशा छ, नवगठित सरकार शिक्षालाई समय सान्दर्भिक बनाउँदै विश्वबजारमा बिक्ने जनशक्ति उत्पादन गर्न लाग्नेछ। शिक्षामा आमूल परिवर्तन सम्भावना छैन भन्ने कुरा सरकारले बुझ्नुपर्छ। अहिलेसम्मको उपलब्धि र राम्रा पक्षमा टेकेर सुधार गर्न खोजियो भने गन्तव्यमा छिटै पुग्न नसकिने पनि होइन। नेपालको शिक्षालाई विश्वसँग प्रतिस्पर्धी बनाउन शिक्षामा सुधार गरिनुपर्ने क्षेत्रबारे यहाँ चर्चा गरिएको छ।
अन्तर्राष्ट्रिय उदाहरण
अस्ट्रेलिया, क्यानडालगायत ‘आर्थिक सहयोग र विकास संगठन’ (ओईसीडी) देशले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिएका छन्। आजीवन सिकाइ र सीपका साथै आलोचनात्मक चेतना, नैतिकता, रचनात्मकता, समस्या समाधान गर्ने क्षमता यी देशका शिक्षाको प्राथमिकतामा छन्।
व्यक्तिलाई केवल जागिरका लागि तयार पार्ने शिक्षा होइन, जीवनलाई अर्थपूर्ण बनाउनुका साथै मानसिक र सामाजिक कल्याणमा पनि सहयोग पुर्याउने विषयवस्तु समेटिएको शिक्षा आजको आवश्यकता हो। यी देशले परम्परागत शिक्षालाई परिमार्जन र परिष्कृत गर्दै भोलिको आवश्यक ज्ञान र सीप प्रदान गर्न सक्षम प्रणाली निर्माण गरेका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थी मूल्यांकन कार्यक्रम (पीसा)मा उच्च स्थानमा रहेको फिनल्यान्डले मानवकेन्द्रित शिक्षालाई प्राथमिकतामा राखेको छ। फिनल्यान्डले शिक्षालाई ज्ञान बाँड्ने माध्यमका रूपमा मात्र नलिई जीवनोपयोगी सीपका रूपमा लिएको छ, जसले भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्न सकोस्। यस्तै समाज परिवर्तनको आधारका रूपमा पनि उसले शिक्षालाई लिएको छ। डिजिटलाइजेसन, सिर्जनशीलता, समानता, समावेशिता, अनुसन्धान र आजीवन सिकाइमा फिनल्यान्डको शिक्षाले जोड दिएको छ।
नैतिकता, सच्चरित्रता, मानवीय सोच, सहानुभूति जस्ता विषयमा केन्द्रित छ फिनल्यान्डको शिक्षा। विद्यार्थीलाई खुसी र मानसिक रूपमा स्वस्थ राख्दै परीक्षामा उत्तीर्ण गराउनुका साथै जिम्मेवार र सन्तुलित नागरिक बनाउनुलाई फिनल्यान्डले शिक्षाको प्रमुख लक्ष्य ठान्छ। यस प्रक्रियामा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ। फिनल्यान्डले पाठ्यक्रम र पाठ्यसामग्रीमा जति ध्यान दिन्छ, त्यत्तिकै ध्यान उसले शिक्षकको पेसागत विकासमा पनि दिएको छ।

टुँडिखेलमा योग गर्दै विद्यार्थी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
विद्यार्थीले प्राप्त गर्ने अंक र ग्रेडभन्दा क्षमता अभिवृद्धि र समग्र जीवन विकासमा सिंगापुरको शिक्षा प्रणालीले जोड दिएको छ। छोटकरीमा सिंगापुरको शिक्षा सीपमूलक, मानवकेन्द्रित, एआई शक्तिप्राप्त र आजीवन सिकाइमा आधारित छ।
सिंगापुरमा माध्यमिक तहका विद्यार्थीले समेत आफ्नो क्षमता र रुचिअनुसार विषय छनोट गर्ने स्वतन्त्रता पाउँछन्। त्यहाँ व्यक्तिगत चाहना र सिकाइ क्षमताका आधारमा शिक्षा प्रदान गरिन्छ।
युनेस्कोले सन् २०२१ मा प्रकाशित गरेको शिक्षासम्बन्धी प्रतिवेदन ‘हाम्रो साझा भविष्यको पुनर्कल्पना’ मा भनिएको छ कि समावेशी र दिगो भविष्य निर्माण गर्ने माध्यम हो शिक्षा। यसका लागि डिजिटल परिवर्तन गर्न, जलवायु संकट र सामाजिक असमानताको सामना गर्नतिर ध्यान दिइनुपर्छ।
युनेस्को भन्छ– शिक्षाले समानता, न्याय र लोकतन्त्रलाई केन्द्रमा राख्नुपर्छ। साथै, मानिसलाई ज्ञानार्जन र जीवनोपयोगी सीप दिई सामूहिक भविष्यमा समाहित बनाउन सक्नुपर्छ। शिक्षा र सिकाइलाई पुनःपरिभाषित गर्दै मानव र पृथ्वीको रक्षाका लागि शिक्षाको भूमिका बढाउनुपर्नेमा युनेस्कोको जोड छ। युवा र बालबालिकालाई मात्र प्रदान गरिने विषय मात्र होइन, आजीवन सिकाइका रूपमा शिक्षालाई विकास गरी समाजको समग्र परिवर्तनको संवाहक बनाउनुपर्नेमा युनेस्कोको प्रतिवेदनले जोड दिएको छ।
गुणस्तरीय शिक्षा प्रदान गरिरहेका केही देशको अनुभव, भविष्यको शिक्षासम्बन्धी युनेस्कोको प्रतिवेदन र नेपालको आवश्यकतालाई केन्द्रमा राखेर हेर्दा सरकारले तत्काल शिक्षामा गर्नुपर्ने सुधारलाई निम्नलिखित बुँदामा समेट्न सकिन्छ।
आजीवन सिकाइमा प्राथमिकता
शिक्षा आर्जन विद्यालय र विश्वविद्यालयको पर्खालभित्र मात्र हुने विषय होइन, यो त मानिसको जीवनभरि निरन्तर चलिरहने प्रक्रिया हो। नेपालमा आजीवन सिकाइलाई शिक्षा नीतिमा प्राथमिकतामा राखेको जस्तो देखिए पनि योजना र कार्यक्रम अत्यन्त न्यून देखिन्छन्। विश्वविद्यालयबाट वर्षौंअगाडि दीक्षित व्यक्ति आजीवन सिकाइमा नजोडिने हो भने उनीहरूको ज्ञान र सीप असान्दर्भिक हुन सक्छ र आजको आवश्यकताअनुसार उनीहरू चल्न सक्दैनन्।
दक्षिण कोरियामा शिक्षाको राम्रो प्रणाली विकास भएको छ। जहाँ नागरिकलाई आधुनिक प्रविधि र बदलिँदो श्रम बजारअनुसार शिक्षा दिइन्छ। यस्तै, व्यक्तिमा निहित ज्ञान र सीपलाई समयानुकूल परिमार्जन गर्न प्रौढ शिक्षा र आजीवन सिकाइलाई उच्च प्राथमिकता राखेर कार्यक्रम ल्याएको देखिन्छ।
सीपमूलक र व्यावसायिक शिक्षामा जोड
अबको शिक्षित व्यक्तिले विद्यालय र विश्वविद्यालयका प्रमाणपत्र थुपारेर मात्र श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था देखिँदैन। प्रविधिका कारण ज्ञानको प्रयोग र जागिरको अवसरमा संकुचन आउन थालेको छ। सीपमा आधारित कामको क्षेत्र बढ्ने क्रममा छ। शिक्षाले ज्ञान त प्रदान गर्नैपर्छ, सँगसँगै सीपको विकास पनि अनिवार्य भएको छ। हाउ चिल्ड्रेन फेल पुस्तकका लेखक जोन हल्ट लेख्छन्, ‘केटाकेटीलाई दुनियाँमा प्रवेश गर्न र उपयोगी काम गर्न सघाउ पुर्याउने शिक्षा आजको आवश्यकता हो।’
विद्यालय शिक्षामा पनि कम्तीमा एउटा प्राविधिक विषय अनिवार्य गर्नु उपयुक्त देखिन्छ। सूचना प्रविधि, कृषि, पर्यटन, भेटेरिनरी, विद्युत् जडान, जलस्रोत, निर्माण जस्ता विषय अहिलेका रोजगारीका क्षेत्र हुन्। विद्यालय तहमा यी विषय पढाइँदा विद्यार्थीले आफ्नै कमाइबाट उच्च शिक्षा हासिल गर्न सक्छन्।
डिजिटल साक्षरता र प्रविधियुक्त शिक्षा
औपचारिक शिक्षा लिने विद्यार्थीमा डिजिटल साक्षरता हुन आवश्यक छ, सँगसँगै सम्पूर्ण नागरिकलाई डिजिटल रूपमा साक्षर बनाउने कार्यक्रम सरकारसँग हुनुपर्छ। औपचारिक शिक्षामा एआई र मेसिन लर्निङ जस्ता आधुनिक विषयलाई पाठ्यक्रममा समावेश गर्न ढिला भइसकेको छ।
प्राविधिक सीपको अभावका कारण उत्पन्न हुने विभेदबारे सरकार संवेदनशील हुन जरुरी छ। दुर्गम क्षेत्रका विद्यालयमा विद्युत्, कम्प्युटर, इन्टरनेटमा पहुँँच तथा तालिमप्राप्त शिक्षकको उपलब्धता अनिवार्य हुन्छ।
समालोचनात्मक चेत र सिर्जनशीलता
शिक्षाले विद्यार्थीका सीमित जिज्ञासालाई शान्त पार्ने मात्र नभई असीमित जिज्ञासाका लागि बाटो खोल्न सक्नुपर्छ। सत्य यो मात्रै हो भनेर हैकम जमाउनुको सट्टा सत्यको खोजीमा सिकारु आफैँ लाग्न प्रेरित गर्ने शिक्षा आजको आवश्यकता हो।
प्राप्त ज्ञान र सीपका बारेमा प्रश्न गर्ने, समालोचनात्मक तरिकाले सोच्ने, बुझ्ने र त्यसबारे मौलिक धारणा बनाउन सक्ने व्यक्ति उत्पादन गर्ने शिक्षा आजको माग हो। समस्यासँग नडराउने, समाधानका लागि विकल्प पहिल्याउने, सिर्जनशील हुने र व्यावहारिक ज्ञान-सीप आर्जन गर्ने शिक्षा सबैको प्राथमिकतामा छ।
नैतिक मूल्यमा आधारित संस्कारसहितको शिक्षा
सबैले गुनासो गर्छन् कि आजको समाज हाम्रा पितापुर्खाले अवलम्बन गरेका सबै मूल्यमान्यता, संस्कार, अनुशासन आदिबाट च्युत हुँदै गएको छ। यही क्रम रहने हो भने भोलिको समाज झन् अराजक र भ्रष्ट हुनेमा दुईमत छैन। व्यक्ति, परिवार र समाज अनुशासित हुन ज्ञान मात्र पर्याप्त छैन; प्रवृत्ति र चरित्र पनि उत्तिकै महत्त्वपूर्ण छ। स्वामी जगत्गुरु डा. प्रपन्नाचार्य शिक्षाबारे भन्छन्– विद्या र विनयशीलता एकअर्काका परिपूरक हुन्, त्यसैले शिक्षाले व्यक्तिलाई विनयशील बनाउनुपर्छ।
इतिहास, वर्तमान र भविष्यलाई समान महत्त्वका साथ बुझ्ने नागरिक उत्पादन गर्नुपर्छ शिक्षाले। इतिहास बुझ्न जरुरी नदेख्ने, त्यसबाट नसिक्ने, आफूले वर्तमानमा सिकेको र जानेको ज्ञान नै पूर्ण हो भन्ने भ्रम सिर्जना गर्ने शिक्षा समाजका लागि हानिकारक हुन्छ।
शिक्षाले नागरिकलाई हिजोको समाज बुझ्न, आजको समाजअनुसार चल्न र भोलिको समाजको कल्पना गर्न सक्ने सक्षम व्यक्ति बनाउनुपर्छ। सामाजिक रीति र परम्परा, देशको मौलिक संस्कृति र इतिहास, पारिवारिक मूल्य र मान्यतासँगै राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवारी बोध गराउने विषयवस्तु पाठ्यसामग्रीमा समावेश हुनुपर्छ।
व्यक्तिगत र लचिलो सिकाइ पद्धतिको विकास
व्यक्तिलाई समग्र मानवका रूपमा विकास गर्न फरक फरक ज्ञान, सीप र अवधारणा आवश्यक हुन्छ। सबै मानव भएको नाताले केही विषयवस्तु सबैलाई समान रूपमा दिनुपर्छ। त्यसैगरी, व्यक्तिको फरक क्षमता, फरक रुचि, आवश्यकता र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण फरक फरक ज्ञान-सीप आवश्यक पर्छ। जस्तो– विशेष आवश्यकता भएका बालबालिकाका लागि फरक किसिमका सामग्री र शिक्षण विधि चाहिन्छ। एकै किसिमको (वन फिट अल) शिक्षाले सबैको आवश्यकता पूरा गर्न सक्दैन। नेपालको पाठ्यक्रम केही लचक त देखिन्छ, यद्यपि अहिलेसम्म प्रणालीगत रूपमा व्यक्तिगत र लचिलो सिकाइ पद्धति अपनाउन सकेको देखिँदैन। यसका लागि पाठ्यक्रम, पाठ्यसामग्रीका साथै शिक्षण सिकाइ पद्धतिमा व्यापक परिमार्जन र सुधार आवश्यक छ।
प्रधानाध्यापक तथा शिक्षकको पेसागत विकास र मर्यादा
माथि उल्लिखित सबै विषयको सफल कार्यान्वयनका लागि शिक्षक र प्रधानाध्यापकको सक्रियता र तत्परता प्रमुख रहन्छ। अहिलेका कतिपय शिक्षकमा डिजिटल सीप र नवप्रवर्तनात्मक शैक्षणिक कला नहुन सक्छ। त्यसका लागि अहिलेको तालिम, पाठ्यक्रम र पद्धतिलाई आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ।

शुभकालिका गाउँपालिका, कालीकोटस्थित कालिका माध्यमिक विद्यालयमा शिक्षक। तस्बिर : कालेन्द्र सेजुवाल/नेपाल न्युज
दिगो विकासको चौथो लक्ष्यले भन्छ– गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भने प्रधानाध्यापक (प्रअ) र शिक्षकको वृत्तिविकास पहिलो सर्त हो।
योग्य, तालिमप्राप्त, उत्प्रेरित र प्रणालीबाट नियमित सहयोग पाउने शिक्षक र प्रअले मात्र तोकिएको जिम्मेवारी समयमै पूरा गर्न सक्छन्। शिक्षक र प्रअलाई गाली गरेर मात्र यी लक्ष्य हासिल हुँदैनन्। शिक्षक र प्रअको पेसागत विकास, अन्य राष्ट्रसेवकसरहको मर्यादा र तलबभत्तामा बढोत्तरीका लागि सरकार तयार हुनुपर्छ। शिक्षक र प्रअले पनि आफ्ना तर्फबाट सुधार गर्नुपर्ने क्षेत्र र विषयमा ध्यान दिन जरुरी हुन्छ।
निष्कर्ष
अबको शिक्षा प्रविधिमैत्री, सीपमूलक, विद्यार्थीकेन्द्रित र वातावरणमैत्री हुनुपर्छ। शिक्षाले निष्क्रिय ज्ञान आर्जनमा जोड दिने होइन, व्यक्तिको सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्याउनुपर्छ। यसका लागि पूर्वाधार विकास, पाठ्यक्रम र पाठ्यसामग्रीको परिमार्जनमा जोड दिनुपर्छ। देशको दिगो विकासका लागि सरकारको पहिलो प्राथमिकतामा शिक्षा पर्यो भने चुनौती सबै अवसरमा परिणत हुन्छन्।
(लेखक तिमल्सिना ‘विद्यालय विकासमा स्थानीय सरकार र विद्यालयमा आधारित व्यवस्थापन’ विषयका विधावारिधि हुन्।)