बातचित
सबै मान्छेलाई लाग्छ– यो कुरा भयो भने मैले घर पाउँछु, त्यो कुरा पुग्यो भने म पूर्ण हुन्छु। तर, प्राप्त गर्न चाहेको कुरा सधैँ टाढा हुन्छ। एकमुट्ठी बादल हातमा समात्न खोजिएको तर समात्न नसकिने चाहना जस्तै हो।
भारतको बैंगलोर विश्वविद्यालयबाट सञ्चार विषयमा स्नातकोत्तर सहारा शर्मा ‘गौँथली इन्टरटेनमेन्ट’ की संस्थापक हुन्। शर्माले निर्देशन गरेको पहिलो टेलिभिजन फिल्म इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)ले काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ २०१३)मा नेपाल पानोरमा, टोरन्टो नेपाली फिल्म फेस्टिभलमा क्रिटिक्स अवार्ड जस्ता पुरस्कार जितेको थियो। शिखा मैनबत्तीको, रासलीलालगायत सर्ट फिल्महरूसँगै शर्माले गौँथलीका कथाहरू र माया भन्ने चिज यस्तै हो टेलिभिजन शृंखलासमेत निर्माण तथा निर्देशन गरेकी छन्।
उनको पहिलो अन्तर्राष्ट्रिय सहनिर्माणमा बनेको एक मुट्ठी बादल फिल्म १ जेठदेखि प्रदर्शनमा आउँदै छ। उनै निर्देशक शर्मासँग नेपालन्युजका लागि प्रभाकर गौतमले गरेको बातचितको सम्पादित अंश :
कथा-कहानी घरबाटै सुरु हुन्छ। तपाईंको पारिवारिक परिवेश कस्तो थियो?
मलाई सानैदेखि कथा पढ्न मन पर्थ्यो। सिन्ड्रेला, स्नो ह्वाइट, रपुन्जल, ज्याक विन्डरस जस्ता कथाहरू स्कुल छँदै पढेँ।
कथा-कहानी पढ्न र सुन्नबाहेक अरूलाई सुनाउन झन् रमाइलो लाग्थ्यो। भाइबहिनीलाई आफूले पढेका कथाहरू अलि नाटकीय तरिकाले सुनाउँथेँ।
मेरी हजुरआमा (मुवा) धेरै पढ्नुहुन्थ्यो। विशेषगरी श्रीकृष्ण चरित्र र श्रीमद्भागवतलगायत धार्मिक र पौराणिक किताबहरू। ती कथा मौखिक रूपमा अरूलाई सुनाउँदा रमाउनुहुन्थ्यो।
हामी सपरिवार बसेर कथा सुन्थ्यौँ। बीचबीचमा गीत पनि हुन्थ्यो जसमा बहिनी नाच्थी। एकदम जीवन्त र रमाइलो माहोल थियो त्यो।
हजुरआमाले सुनाउने कथाहरू, उहाँको वाचनशैली र त्यस किसिमको पारिवारिक अन्तरक्रियाले मभित्र कथा र आफूलाई अभिव्यक्ति गर्ने कुराप्रति गहिरो रुचि जगायो। अहिले एक मुट्ठी बादलमा समावेश ‘पोम्पईको फूल’ कविता हजुरआमाकै सिर्जना हो।
लेखन र फिल्म हेर्ने बानीको विकास कुन चरणमा भयो?
८ कक्षापछिको समयमा टेलिभिजनमा आउने फिल्महरू नछुटाई हेर्न थालेकी हुँ। एचबीओ, सिनेम्याक्स जस्ता च्यानलमा आउने फिल्महरू खुब हेरेँ।
तर, फिल्म हेर्ने बानी बस्नुभन्दा पहिलेदेखि नै मलाई लेख्न मन पर्थ्यो। बुवाले मलाई ‘जे जे मन लाग्छ सबै लेख’ भन्दै एउटा डायरी किनिदिनुभएको थियो। त्यसपछि कहिले फिल्मका संवाद नक्कल गरेर त कहिले आफ्नै कथा बनाएर लेख्न थालेँ। डायरीमा भावनात्मक कुराहरू पनि पोख्दै गएँ।
लेख्ने अभ्यास गरिरहे पनि लेखक नै बन्छु भन्ने सोचेर लेखिएको थिएन।
पत्रकारिता गर्ने क्रममा फिल्म समीक्षासमेत लेख्नुभयो। समीक्षा लेखनले सिनेमा दृष्टिकोण बनाउन कति सघाउने रहेछ?
मैलेरिपब्लिका पत्रिकामा इन्टर्नका रूपमा काम सुरु गरेकी थिएँ। त्यतिबेला फिल्म समीक्षा लेख्ने मान्छे धेरै थिएनन्। दीपेन्द्र लामा, नारायण वाग्ले दाइहरूको संगत मेरा लागि सिक्ने अवसर र प्रेरणा बन्यो।
फिल्मप्रतिको बुझाइमा निखार ल्याउन र मेरो आफ्नै दृष्टिकोण निर्माण गर्न समीक्षा लेखन उपयोगी बन्यो।
अक्षरबाट दृश्य विधातिर प्रवेश गर्ने कुनै विशेष कारण वा सन्दर्भ?
धेरै सोचेरभन्दा पनि यो काम गर्दै जाँदा एकपछि अर्को रहर वा सपना पूरा गर्ने प्रक्रिया भयो मेरा लागि। कथामा रुचि भएकाले सिनेमाले सधैँ आकर्षित गर्ने नै भयो। सबैभन्दा पहिले केही साथी मिलेर एउटा म्युजिक भिडियो बनाएका थियौँ।
धेरै हिसाबले त्यो भिडियो कच्चा थियो, तर हाम्रा लागि प्रयोग बन्यो। त्यसपछि हामीले एउटा अन्तर्राष्ट्रिय सर्ट फिल्म प्रतियोगितामा भाग लियौँ र अन्तिम पाँचसम्म पुग्यौँ। त्यसले हामी पनि सिनेमा बनाउन सक्ने रहेछौँ, हाम्रो कथा पनि रुचाइने रहेछ भन्ने आशा जगाइदियो।

सिनेमाको औपचारिक अध्ययनका लागि बैंगलुरु जाने बेलाको सोच के थियो?
म्युजिक भिडियो बनाउँदा महसुस भयो– फिल्म नै बनाउने हो भने त्यसलाई गम्भीर रूपमै बुझ्नुपर्छ। बैंगलुरु गएर मिडिया स्टडिज र कम्युनिकेसनमा मास्टर्स गरियो। दोस्रो वर्षमा फिल्म निर्देशनबारे पढ्नुपर्थ्यो। त्यसले फिल्मलाई सैद्धान्तिक र रचनात्मक दृष्टिकोणबाट बुझ्ने मौका दियो। त्यहाँका शिक्षकहरू फिल्म उद्योगसँग प्रत्यक्ष जोडिएकाले सिकाइ अझ व्यावहारिक र ‘अथेन्टिक’ बन्यो।
तपाईंको पहिलो सिनेमा इन्द्रेणी पछ्याउँदै जाँदा (चेजिङ रेन्बोज) त्यही कलेज प्रोजेक्टअन्तर्गत निर्माण भएको थियो, होइन?
चेजिङ रेन्बोजको कथाको आइडिया एउटा घटनापछि फुरेको हो। म एकदिन अलि छिटै कलेज पुगेकी थिएँ। त्यहीबेला एउटा केटा पनि मसँगै भित्र पसे। पछि थाहा भयो– उनी हरेक दिन छिटै कलेज पुग्ने रहेछन्। पढ्नका लागि होइन, नुहाउनका लागि।
उनी काठमाडौँमा एउटा सटरवाला कोठमा बस्दा रहेछन्। त्यहाँ नुहाउने ठाउँ नभएकाले कलेज खुल्नेबित्तिकै आएर नुहाउँदा रहेछन्। यो मेरा लागि एकदम असामान्य कुरा थियो।
त्यसपछि महसुस भयो– म जीवनमा के कुरामा गुनासो गरिरहेकी छु, मेरा समस्याहरू कति साना छन्! मेरै उमेरका अरू मानिस कसरी बाँचिरहेका छन्!
वास्तविक घटनालाई फिल्ममा रूपान्तरण गर्ने प्रक्रिया कपी-पेस्ट जस्तो हुँदैन। मेरा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा तथ्य होइन, त्यसले दिने अनुभूति हो।
मैले कुराकानी गरेर उनको जीवन बुझ्ने प्रयास गरेँ। उनीसँग कुरा गरेपछि त्यो एक व्यक्तिको मात्र नभई धेरै युवाको साझा यथार्थ हो भन्ने कुरा थाहा पाएँ।
त्यस घटनाले मलाई काठमाडौँ वा सहरहरूमा पढ्न आउने, डेरामा बस्ने, परिवारबाट टाढा रहने र आर्थिक संकटमा रहने युवाका दैनिक जीवनका संघर्षबारे धारणा बनाउने आधार दियो।
सुरुमा त्यसलाई पत्रिकामा फिचर स्टोरी बनाएर लेखेँ। प्रतिक्रिया पनि राम्रो आयो, तैपनि सन्तुष्ट हुन सकिनँ। त्यो कथा लेखिसकेर पनि केही भन्न बाँकी छ भन्ने लागिरह्यो। त्यो कथाले मलाई पछ्याउन छोडेन।
सानो तर जीवनको वास्तविकताबाट सुरु भएको त्यस घटनाले बिस्तारै ठूलो भावनात्मक संसार निर्माण गर्यो। अन्ततः त्यो कथा शब्दमा मात्र नभई दृश्यमै देखाउनुपर्छ भन्ने निर्णयमा पुगेँ। त्यही नै चेजिङ रेन्बोजको बीउ थियो।

वास्तविक घटनालाई फिल्मको कथामा रूपान्तरण गर्दा फ्याक्ट र फिक्सनको संयोजन कसरी गर्नुभयो?
वास्तविक घटनालाई फिल्ममा रूपान्तरण गर्ने प्रक्रिया कपी-पेस्ट जस्तो हुँदैन। मेरा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा तथ्य होइन, त्यसले दिने अनुभूति हो।
फिल्ममा मैले कलेजमा भेटेका ती युवाको कथालाई जस्ताको तस्तै देखाउने प्रयास गरेको भए त्यो सीमित र अधुरो हुन्थ्यो। त्यसमा मैले अन्य मानिसको अनुभव, आफ्नै जीवनका क्षण र वरिपरि देखेका ससाना विवरण मिसाएर नयाँ कथा बनाएँ।
मेरो पृष्ठभूमि पत्रकारिता भएकाले फिल्म बनाउने प्रक्रियाको केन्द्रमा अनुसन्धान हुन्छ। त्यसक्रममा म मानिसहरूका सोच, व्यवहार, चिन्ता र सपनाहरू नोट गर्छु। सार्वजनिक सवारीसाधनमा अपरिचितहरूसँग कुरा गर्छु। उनीहरू कहाँ बस्छन्, कसरी बाँचिरहेका छन्, के सोचिरहेका छन् सबै टिपोट गर्छु। चेजिङ रेन्बोज निर्माणका क्रममा यही प्रक्रिया अपनाएँ।
जब म फिल्मको कथा लेख्न बस्छु, टिपोट गरेका सबै कुरा सोझै कथामा आउँदैनन्, तर तिनले पात्रहरूलाई जीवन्त बनाउँछन्। भारतमा फिल्म पढ्ने क्रममा भाडामा बस्ने विद्यार्थीहरूको जीवन, महिनाको अन्त्यमा पैसा सकिने डर, सस्तो खाना खोज्ने बाध्यता, साथीहरूसँग मिलेर खर्च बचाउने उपाय, घरबाट आउने पैसाको प्रतीक्षा जस्ता अवस्था मैले पनि भोगेकी थिएँ। त्यसैले ती कुरा फिल्ममा स्वाभाविक रूपमा आए भन्ने लाग्छ।
कलेजको प्रोजेक्टका रूपमा बनाइएको सिनेमा भएकाले होला, चेजिङ रेन्बोज प्राविधिक रूपमा कच्चै थियो। कथ्यशैलीमा पनि काँचोपन (रअनेस) हुनु तपाईंको शैली थियो कि बाध्यता?
हो, कलेज प्रोजेक्ट भएकाले अनुभव, स्रोतसाधन र समय सबै कुराको सीमा थियो। फिल्ममा ती सीमा प्रतिविम्बित भएको छ।
कथ्यशैलीको छनोट चाहिँ म र मेरो टिमको सोच पनि हो। मलाई परम्परागत कथा संरचनामा धेरै विश्वास छैन। थ्री एक्ट्स (सुरु-बीच-अन्त्य) भन्दा पनि म जीवनका अंशहरूमा विश्वास गर्छु। जीवन आफैँमा व्यवस्थित हुँदैन, त्यसैले फिल्म पनि त्यस्तै हुनुपर्छ भन्ने मेरो सोच हो।
पहिलो सिनेमा निर्देशन गर्दा र सार्वजनिक भएपछिको अनुभव कस्तो रह्यो?
खासै ठूलो योजनाविनाको कलेज प्रोजेक्टले काम गर्दै जाँदा बृहत् रूप लियो। मैले स्क्रिप्ट लेखेकी थिएँ, र क्यामेरा पनि मैले नै समातिरहेकी थिएँ। त्यसैले स्वाभाविक रूपमा निर्देशन पनि मैले नै गर्नुपर्यो।
म अलि ‘ओपिनियनेटेड’ मान्छे भएकाले अन्तिम निर्णय लिने जिम्मेवारी मेरै भागमा आयो। निर्माता अभिमन्यु दीक्षितलगायत अरू साथीहरू अलि ‘रिल्याक्स्ड’ थिए। त्यसैले म नै निर्देशकको भूमिकामा पुगेँ। तर, हरेक काममा सबैको ‘इनपुट’ थियो।
गौँथली सानो चरा हो, जुन स्वतन्त्र रूपमा उड्छ, घर घर पुग्छ र मसिना कथाहरू बोकेर हिँड्छ। हामीलाई त्यो सिम्बोलिज्म मन पर्यो।
फिल्मले केही अवार्डसमेत जित्यो। तीमध्ये किम्फ, टीएनएफएफ जस्ता अवार्ड महत्त्वपूर्ण थिए। यो हाम्रा लागि ठूलो सरप्राइज बन्यो। १५ सय डलरको चेक पाउनु अर्को सरप्राइज।
त्यतिबेला हामीलाई पैसाभन्दा पनि ‘भ्यालिडेसन’ को बढी खाँचो थियो। कलेजका शिक्षक, सहपाठी र फिल्म क्षेत्रका मानिसको प्रशंसा र अवार्डले अर्को सिनेमा बनाउन प्रोत्साहित गर्यो।
तपाईंहरूको समूह गौँथली कसरी सुरु भयो?
मास्टर्स सकाएपछि म र अभिमन्युका लागि भारतमै राम्रो जागिर खाने अवसर थियो। तर, हाम्रो सपना सिनेमा बनाउनु थियो, त्यसैले नेपाल फर्क्यौं।
त्यतिबेलासम्म हामीले सिनेमा बनाउने स्पष्ट दृष्टिकोण राखिसकेका थियौँ। त्यसैलाई मूर्त रूप दिन नेपाल फर्केपछि सन् २०१५ मा ‘गौँथली इन्टरटेनमेन्ट’ सुरु गर्यौँ।
गौँथली नाम नै किन?
गौँथली सानो चरा हो, जुन स्वतन्त्र रूपमा उड्छ, घर घर पुग्छ र मसिना कथाहरू बोकेर हिँड्छ। हामीलाई त्यो सिम्बोलिज्म मन पर्यो। घरभित्रका साना कथाहरूलाई बाहिर ल्याउने, एक ठाउँको अनुभव अर्को ठाउँमा पुर्याउने चराको प्रकृतिसँग हाम्रो काम मिले जस्तो लाग्छ। सानो, स्वतन्त्र र कथामुखी काम गर्ने संस्थाका रूपमा यस नामले हाम्रो उद्देश्य झल्काउँछ।

गौँथलीले कस्तो काम गर्छ? यसको लक्ष्य के हो?
हामी प्रत्यक्ष रूपमा मुद्दा उठाउनभन्दा पनि कथामार्फत कुरा भन्न रुचाउँछौँ। ठूला सामाजिक परिवर्तनले एउटा परिवार वा व्यक्तिको दिनचर्यामा कस्तो असर पार्छ भन्ने विषयलाई पात्रहरूको जीवन, सम्बन्ध र अनुभवमार्फत देखाउनु हाम्रो प्राथमिकता हो।
गौँथलीको लक्ष्य भनेको एउटा यस्तो प्लेटफर्म बनाउने हो, जहाँ नयाँ नयाँ फिल्ममेकर, विशेषगरी महिला र अन्य वञ्चित समुदायका कथाहरू ल्याउन सकौँ। यस्तो कथा ल्याउन हामी नयाँ फिल्ममेकरलाई कथाको विकासदेखि उत्पादनसम्म सघाउन चाहन्छौँ।
विविधताले भरिएका कथा भन्ने अवसर सिर्जना गर्नु आवश्यक भएकाले हामी त्यसको माध्यम बन्न चाहन्छौँ।
स्वतन्त्र फिल्म, आर्ट हाउस फिल्म र व्यावसायिक फिल्मको बहस र विभाजनलाई कसरी हेर्नुहुन्छ? के यी दुई धारका फिल्मको दूरी घट्दै गएको हो?
यो नयाँ बहस होइन, दुई दशकभन्दा लामो समयदेखि चलिरहेको छ। कलात्मक मूल्य भएका फिल्म र व्यावसायिक फिल्मलाई दुई फरक धारमा राखेर हेर्ने दृष्टिकोण अझै पनि छ। तर, बिस्तारै यी दुई धारको दूरी बिस्तारै कम भएको जस्तो लाग्छ।
अहिले कला र व्यवसाय एकअर्काका दुस्मन होइनन् भन्ने बुझाइ पनि बलियो बन्दै छ। यी दुवै पक्षलाई सँगै लग्न सकियो भने मात्र फिल्म उद्योग दिगो बन्छ। फिल्म बनाउने मान्छेलाई पनि पैसा चाहिन्छ। आफ्नो कामबाट कलात्मक मान्यता, फेस्टिभलको मान्यता र समाजको सम्मानसमेत चाहिन्छ।
चेजिङ रेन्बोज कलेज प्रोजेक्ट थियो। नयाँ फिल्म एक मुट्ठी बादलले फेस्टिभल र व्यावसायिक प्रतिस्पर्धा दुवै बाटो समाएको देखिन्छ। तपाईं कलात्मक र व्यावसायिक धारको मध्यमार्गमा हो?
हो, मलाई त्यस्तै लाग्छ। यो बाटो हिँड्न सजिलो छैन, तर आवश्यक छ। किनभने, अन्ततः हामी सबै एउटै उद्योगमा काम गरिरहेका छौँ। मैले सुरुमै व्यावसायिक फेस्टिभलकेन्द्रित फिल्म हो भनेर सोचेर कथा लेखिनँ।
मलाई असहज बनाइरहेको एउटा विषय-भावना थियो, त्यसैलाई कथामा अभिव्यक्त गरेँ।
खेतमा अन्न उब्जाउन कहिलेकाहीँ अतिरिक्त पानी चाहिन्छ, घाम चाहिन्छ, मल चाहिन्छ। सिनेमा क्षेत्र पनि त्यस्तै हो। राज्यले आधारभूत सहयोग गर्नुपर्छ।
त्यस कथामा बिस्तारै परिवार, सम्बन्ध, बुवा-आमा, घरभित्रको डाइनामिक्स जस्ता कुरा जोडिँदै गए। कथा लेख्दा ठूलो बजेट वा ठूलो बजार भन्ने कुराबाट प्रभावित भइनँ। म त केवल कथा भन्न चाहन्थेँ।
कोभिडका कारण प्रोडक्सनको काम रोकियो। त्यसपछि हामीले फेस्टिभल र अन्तर्राष्ट्रिय सहयोग खोज्न थाल्यौँ। त्यो पनि एउटा संघर्ष थियो, तर त्यसले फिल्मलाई नयाँ दिशा दियो।
लगानी जुटाउने प्रक्रिया कस्तो रह्यो?
यो सबैभन्दा कठिन चरण हो। यसक्रममा हामी मन प्रोडक्सनसँग जोडियौँ। नेटवर्किङ ल्याब र मार्केटिङका लागि विभिन्न प्लेटफर्ममार्फत सहयोग खोज्यौँ। भारतको एनएफडीसी फिल्म बजार जहाँ हाम्रा निर्माता अभिमन्यु दीक्षितले ‘रोट्रेड्याम बजार’ अवार्ड जिते। कान्सको ल्याबमा छनोट भएपछि मैले आफूले लेखिरहेको एक मुट्ठी बादलको कथालाई नयाँ ढंगले हेर्न-बुझ्न थालेँ।

ठूलो टिमसँग काम गर्दाको अनुभव कस्तो रह्यो?
यो मेरा लागि नयाँ अनुभव थियो। पहिले म १० जनासम्मको सानो टिममा काम गर्थें। यसपटक करिब ७० जनाको टिम थियो।
सुरुमा यति धेरै मानिसको जिम्मेवारी कसरी लिन सकिएला भनेर डराएकी पनि थिएँ। तर, सबै जनाको साथ सहयोगले सहज भयो।
काम गर्दै जाँदा नामभन्दा सम्बन्धले टिम चल्छ भन्ने महसुस भयो। म ग्याफर, साउन्ड, आर्टलगायत हरेक युनिटका साथीहरूसँग कुराकानी गर्थें। खाना खाने समयमा पनि सबैसँग बस्ने प्रयास गर्थें। त्यसले टिमभित्र विश्वास बढायो। सम्बन्धलाई आत्मीय बनायो।
एक मुट्ठी बादलको निर्देशक, युनिट हेड र कलाकारहरूमा महिलाको बाहुल्य देखिन्छ। यो योजनाबद्ध निर्णय हो?
योजनाबद्ध नभई प्राकृतिक रूपमै प्रोडक्सन डिजाइन, कस्ट्युम, एडिटिङ, असिस्टेन्ट डाइरेक्टर, अडियो मिक्सरलगायत युनिटमा महिला नेतृत्व र सहभागिता भएको हो। पछि मनन गर्दा, यो धेरै महत्त्व पूर्ण कुरा रहेछ। किनभने, यसले नयाँ दृष्टिकोण ल्याउँछ, नौलो अभ्यास स्थापित गर्छ।
फिल्ममा हरेक पात्रले आफ्नो घर खोजिरहेका छन्। तर, त्यो भौतिक घर होइन, ‘मेटाफोरिकल’ हो।
हाम्रो फिल्ममा महिलाहरू केवल सहायक होइनन्, मुख्य संरचनामा नै छन्। हाम्रो सेटमा सबैभन्दा ठूलो कुरा थियो, सम्मान।
मैले छायांकनका क्रममा कुनै पनि सदस्यलाई गाली गर्ने भाषा प्रयोग नगर्नू भनेँ। सबैलाई ‘प्लिज’ र ‘थ्यांक यु’ प्रयोग गर्न आग्रह गरेँ। पछि ग्याफर टिमले नै भन्यो, ‘यो पहिलो सेट हो जहाँ कसैले पनि गाली सुन्नुपरेको छैन।’
त्यो कुरा सुन्दा मलाई लाग्यो– सानो परिवर्तनले पनि ठूलो फरक पार्छ।
सिनेमामा कलाकार, गायिका र निर्माताका रूपमा महिला सहभागिता राम्रै छ। तर, पटकथा लेखन, छायांकन र निर्देशन जस्ता भूमिकामा महिलाको संख्या न्यून छ। महिला निर्देशकका रूपमा यसलाई कसरी हेर्नुभएको छ?
सिनेमामा आजसम्म स्ट्रेट पुरुषबाहेक अन्य समूहलाई धेरै कम अवसर छ। एउटै प्रकारका पुरुषप्रधान कथाहरू बारम्बार दोहोरिएका छन्। महिला र अन्य समूह आफ्नो कथा भन्नबाट वञ्चित छन्। स्ट्रेट पुरुषइतर समूहका कथाहरू बाहिर ल्याउन सम्भव हुन्छ।
हामीले सिनेमामा छुटेका समूह-समुदायको पहुँच बढायौँ भने मात्र नयाँ कथाहरू आउँछन्। नयाँ शैली र प्रयोगहरू सम्भव हुन्छन्। बजार पनि विस्तारित हुन्छ। दृष्टिकोणहरू फेरिन्छन्। दृष्टिकोणसँगै सोच र व्यवहारमा परिवर्तन आउन सक्छ।
पहिलेभन्दा सिनेमा क्षेत्रमा महिलाहरू विभिन्न भूमिकामा अघि बढेको देखिन्छ। तर, अझै धेरै चुनौती छन्। सबैभन्दा ठूलो कुरा विश्वासको अभाव हो। महिलाको नेतृत्व स्विकार्न र उनीहरूको क्षमतामा लगानी गर्न मानिसहरू अझै हिचकिचाउँछन्। पैसासँग सम्बन्धित जिम्मेवारी दिन अनकनाउँछन्। त्यसैले हरेक क्षेत्रमा महिलामाथि आफूलाई प्रमाणित गर्नुपर्ने दबाब पुरुषभन्दा बढी छ। यो संरचनागत समस्या हो।

यस्तो वातावरणमा काम गर्दा तपाईंले कुनै समस्या भोग्नुपर्यो कि?
म समस्याबारे धेरै सोचेर बस्दिनँ। मैले सबै संरचनागत समस्याबारे सोच्न थालेँ भने कामै गर्न सक्दिनँ। त्यसैले आफूलाई काममा केन्द्रित गर्छु।
सबैले इमानदारीसाथ काम गरे भने बिस्तारै प्रणाली बदलिन्छ भन्ने मेरो विश्वास हो। नेपाली सिनेमा उद्योग अहिले परिवर्तनको चरणमा छ।
विभाजनका रेखा-पूर्वाग्रहहरू बिस्तारै मेटिँदै छन्। नयाँ पुस्ता, नयाँ सोचले स्थान पाउन थालेको छ। नयाँ सहयोग प्रणालीहरू स्थापित हुने क्रममा छन्।
यो महिला र अन्य सीमान्तीकृत समूह/समुदायका अझै पनि संरचनात्मक, सामाजिक र आर्थिक चुनौतीहरू गहिरा छन्। परिवर्तनको यो यात्रा लामो छ।
फिल्मले समाज परिवर्तनमा कस्तो भूमिका खेल्छ/खेल्नुपर्छ?
फिल्म एकदमै शक्तिशाली माध्यम हो। यसले शिक्षा माग्दैन, भाषाको सीमितता हुँदैन। हात धुने, दाँत माझ्ने जस्ता बानी बसाल्नसमेत दृश्य विधाको प्रयोग प्रभावकारी देखिएको छ। फिल्मले हाम्रो सोच बदल्न सक्छ, समाज बदल्न सक्छ। तर, हामीले अझै त्यो क्षमता पूर्ण रूपमा प्रयोग गरेका छैनौँ।
सिनेमा मेरो लागि केवल मनोरञ्जन होइन, परिवर्तनको माध्यम हो। यो समाज बुझ्ने, प्रश्न गर्ने र सोच बदल्ने टुल हो।

यस्तो परिवर्तन ल्याउन राज्यको भूमिका कहाँनेर हुन्छ?
खेतमा अन्न उब्जाउन कहिलेकाहीँ अतिरिक्त पानी चाहिन्छ, घाम चाहिन्छ, मल चाहिन्छ। सिनेमा क्षेत्र पनि त्यस्तै हो। राज्यले आधारभूत सहयोग गर्नुपर्छ।
वर्षमा निश्चित संख्याका फिल्म निर्माणका लागि लगानी गर्ने, स्टेट लेभल फन्ड बनाउने वा किक स्टार्टर फन्ड जस्ता तरिका अपनाउन सकिएला। यस्तो काम महिला र सीमान्तीकृत समूहलक्षित हुनुपर्छ। राज्यले सिनेमा क्षेत्रमा रहेको लैंगिक, भाषिक, जातीय र क्षेत्रीय असन्तुलन मिलाउन पहल गर्नैपर्छ।
तपाईंका लागि सिनेमा के हो? किन बनाउनुहुन्छ सिनेमा?
मेरा लागि सिनेमा केवल मनोरञ्जनको माध्यम होइन, यो एउटा ‘समयको अभिलेख’ हो। म चाहन्छु कि मेरा फिल्म भविष्यका लागि एउटा सन्दर्भ बनून्, जब मान्छेहरूले हेर्छन्, उनीहरूले त्यस समयको समाज, युवा र उनीहरूको जीवन बुझ्न सकून्।
विशेषगरी, म युवाहरूको वास्तविक जीवन देखाउन चाहन्छु। त्यो जीवन जुन प्रायः मुख्यधारको सिनेमामा देखिँदैन। उनीहरूको आर्थिक संघर्ष, भावनात्मक असुरक्षा, सम्बन्धहरूको जटिलता, र आफ्नो ठाउँ खोज्ने प्रयास, यी सबै कुरा मलाई महत्त्वपूर्ण लाग्छ।
म दर्शकलाई तयार निष्कर्ष दिन चाहन्नँ। बरु म चाहन्छु कि उनीहरू आफैँले सोचून्, प्रश्न उठाऊन् र आफ्नो अनुभवसँग फिल्मलाई जोडून्।

तपाईंको फिल्ममेकिङ ‘अप्रोच’ के हो?
मेरो अप्रोच घटनाप्रधानभन्दा अनुभूतिप्रधान हो। म कथा भन्नुभन्दा पनि अनुभव सिर्जना गर्न चाहन्छु। दर्शकले फिल्म हेरेपछि ‘के भयो?’ भन्दा पनि ‘कस्तो लाग्यो?’ भन्ने प्रश्न महत्त्वपूर्ण हो जस्तो लाग्छ।
पात्रहरू मेरा लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्व हुन्। म उनीहरूको जीवनको ठूलो उपलब्धिभन्दा पनि साना व्यवहारमा ध्यान दिन्छु। कुनै पात्रले जीवनमा के ठूलो काम गर्यो भन्दा पनि ऊ कसरी हाँस्छ, कसरी रिसाउँछ, कसरी चुप लाग्छ, यी कुरा मलाई बढी महत्त्वपूर्ण लाग्छ।
म पात्रहरूलाई धेरै समय दिन्छु– उनीहरूलाई बुझ्न, महसुस गर्न र उनीहरूसँग बस्न। कहिलेकाहीँ आफैँलाई सोध्छु– यदि यस पात्रलाई कसैले अचानक धक्का दियो भने ऊ के गर्छ? यदि ऊ एक्लै छ भने के सोच्छ? यी कुरा फिल्ममा सिधै देखिँदैनन्, तर तिनले पात्रलाई बलियो बनाउँछन्।
एक मुट्ठी बादलमा तपाईंलाई कति भेटिन्छ?
यस फिल्ममा हरेक पात्रले आफ्नो घर खोजिरहेका छन्। तर, त्यो भौतिक घर होइन, ‘मेटाफोरिकल’ हो।
सबै मान्छेलाई लाग्छ– यो कुरा भयो भने मैले घर पाउँछु, त्यो कुरा पुग्यो भने म पूर्ण हुन्छु। तर, प्राप्त गर्न चाहेको कुरा सधैँ टाढा हुन्छ। एकमुट्ठी बादल हातमा समात्न खोजिएको तर समात्न नसकिने चाहना जस्तै हो।
नेपालगन्जमा जन्मेँ, गुलरियामा हुर्कें। लखनउमा होस्टेल बसेर पढेँ। त्यसपछि काठमाडौँ आएर पढेँ। अहिले अमेरिकाको न्युयोर्कमा बस्छु। फरक बासहरू फेर्दै हिँडिरहेको छु। आजसम्म ‘यो मेरो घर हो’ भन्ने महसुस भएको छैन। मेरो लेखनमा सायद यही आउँछ। मेरा पात्रहरू पनि त्यस्तै छन्। घर नपाएका पात्रहरू, कहीँ पनि पूर्ण रूपमा कम्फर्ट हुन नसकेका पात्रहरू।