संस्कृति
खसीबाख्रा खान र छुन समेत नहुने सांस्कृतिक पहिचान भएका राईहरूले पछिल्लो समय यसलाई स्विकार्दै जानु सांस्कृतिक अन्तर्घुलन कम र सांस्कृतिक विलय बढी हो।
२०६९ सालको शरद ऋतुमा अष्ट्रियाली नागरिक प्रोफेसर रुपर्ट हुबर किरात मुन्दुमी स्थलहरूको अध्ययन भ्रमण गर्ने र मुन्दुमका ज्ञाता तथा किरात राई धामीझाँक्री (माङ्पा, मोपा, होमे, नाक्छोङ)सँग कुरा गर्ने उद्देश्यले नेपाल आएका थिए। उनी भोजपुरको पश्चिमी भेगकै ठूलो भनेर चर्चित एक माङ्पासँग भेट्ने समय मिलाएर उनको घर दिल्पा नागी पुगे। तर, माङ्पाको आँगन टेक्नुअघि नै उनी तर्सिएजस्तो गरेर तर्किए। त्यो घरमा नपस्ने भन्न थाले। उनका पथप्रदर्शक र सहयोगीहरू छक्क परे। अन्तिममा उनले कारण बताए, ‘यो माङ्पा त बाख्रा पाल्दो रहेछ।’ त्यसपछि मात्रै उनका सहयोगीहरूले माङ्पाको घरको आँगनछेउमा खसीबोकाको खोर र आँगनभरि बर्कौँला देखे। उनीहरू भित्र नपसी फर्किए।
हुबर केही दिनपछि खोटाङको साप्सुधाप पुगे। थान वरिपरि खसीबाख्राको बर्कौँला देखेपछि त्यहाँ पनि पस्न मानेनन्। परै रहे। सहयोगीहरूले बाटो र थान वरिपरि झाडु र पानीले सफा गरेपछि मात्रै उनी पसे।
वि.सं. २०५० को दशककी किरात राई यायोक्खाकी केन्द्रीय नाक्छोङ नुङ्नुमा राईबाट धामी विद्या सिकेका हुबरले सिकेका थिए, ‘राईहरूले कुनै पनि खाले खसीबाख्राको मासु खान हुँदैन, त्यसको दिसापिसाबको छोइछिटो पनि पर्नुहुँदैन। छोइछिटो पर्यो भने कुलपितृ माङले दण्डित गर्छ र त्यो दण्डबाट बच्न तितेपाती शरीरमा दलेर अलिकति चपाएर प्रायश्चित गर्नुपर्छ।’
यो कुरा थाहा पाएलगत्तै उनी बाख्रा जातबाट टाढै रहन थाले। त्यति मात्र होइन, त्यस भेगका सर्वसाधारण राईले खान मिल्ने तर माङ्पा, नाक्छोङहरूले खान नमिल्ने फर्सीलगायत धेरै कुरा उनले त्यागेका थिए। साथै, सांस्कृतिक कार्यमा नभई नहुने अदुवा र कोदोबारीमा खसीबाख्रा पस्न हुँदैन भन्ने समेत बुझेका थिए। तर, राईहरूको सांस्कृतिक नेतृत्व गर्ने माङ्पाले नै बाख्रा पालेको देखेपछि उनी निराश भए।
हुन त किरात महावंशभित्रको एउटा हाँगो राई बहुभाषिक तथा बहुसांस्कृतिक जाति हो। राईका कुनै कुनै भाषिक समुदाय खसीबाख्राप्रति उदार नै देखिन्छन्। उनीहरू बाख्रा पाल्नु र खानुलाई सामान्य रूपमा लिन्छन्। कतिपयले पाल्नु र खानुलाई सामान्य लिए पनि पितृ तथा सांस्कृतिक कार्यमा प्रयोग गर्दैनन्, मुख्य चुला सुप्तुलुङमा लैजाँदैनन्, अलग्गै चुलामा पकाउँछन्। अधिकांशले भने बाख्रालाई ‘सुङ्सा’ मान्छन्। यसको अर्थ अपवित्र मासु वा जन्तु हो, जसलाई छुँदा पनि अपवित्र हुन्छ, पाल्ने वा खाने त परको कुरा। त्यसै आधारमा गोपाल शिवाकोटीले ‘किरात जाति’ किताबमा लेखेका छन्, ‘खसीबाख्रा नखानु राई जातिको टोटेम हो।’ टोटेम भनेको गणचिह्न अर्थात् साधारण अर्थमा भन्दा प्रमुख सांस्कृतिक पहिचान। खसीबाख्राबाट परै रहनु राईको सांस्कृतिक पहिचान हो।
मिथक र विज्ञान
राईले खसीबाख्रा नखानुको कुनै वैज्ञानिक कारण पत्ता लागेको छैन। यससम्बन्धी कारण बताउने विभिन्न मिथक भने भेटिन्छन्। मिथकप्रतिको जनविश्वासले सांस्कृतिक व्यवहार चलेको छ।
भोजपुरको पिखुवा जलाधार क्षेत्रका राईहरूमा प्रचलित मिथकमा किरातीहरूको बसाइँसराइका क्रममा भएको एउटा घटनाको प्रसंग छ। किराती वंशका तीन हाँगा भुसुरी, छाछप्पा र वाछप्पाहरू आआफ्ना परिवारसहित मधेसबाट सप्तकोसी पछ्याउँदै हिमालतिर उक्लिँदै थिए। भुसुरीहरू निकै छिटो छिटो अघि लागे। अरुण, तमोर र दूधकोसी छुट्टिने ठाउँ खुवालुङ बन्द थियो। मुन्दुम बाचेर पशुपंक्षीको बलि दिएपछि मात्रै खुवालुङ खुल्थ्यो। भुसुरीहरूले मुन्दुम फलाके र जुरेली चराको बलि दिए। खुवालुङ खुलेपछि उनीहरू अगाडि बढे। खुवालुङ फेरि बन्द भयो।
राईहरूको भनाइमा बाख्राको मासु खानु मात्रै होइन, छोइछिटो मात्रले पनि नसा बाउँडिने, काँप्ने र कुँजो बनाउने जस्ता समस्या देखिन्छ। राईहरूको छिमेकमा बस्ने अन्य जातजातिका मानिसहरू कसैलाई शरीर झमझमायो वा नसामा गडबडी महसुस भयो भने राईको देवता लाग्यो भन्ने गरिन्छ।
छछप्पा र वाछप्पाहरू त्यहाँ पुगे। उकालो चढिरहेका भुसुरीहरूलाई छाछप्पा र वाछप्पाहरूले केको बलि दिएको भनेर सोधे। भुसुरीले आफ्नै चेली मारेर चढाएको सुनाए। छाछप्पा र वाछप्पाले आफ्नी चेलीको कान्छी औँला काटेर रगत चढाए। खुवालुङ खुल्यो। उनीहरू अगाडि बढे। उनीहरूसँग बाख्रा थियो। चेलीको औँलाबाट खसेको रगत बाख्राले चाटेर खाएको उनीहरूले देखे। बाख्राले रगत चाटेपछि चेलीको मृत्यु भयो। त्यसपछि उनीहरूले आफ्नी चेलीको रगत खानेको मासु नखाने र त्यसलाई आइन्दा नछुने वाचा गरे। त्यहाँदेखि छाछप्पा र वाछप्पाका सन्तानले खसीबाख्रा खान छाडे भन्ने मान्यता छ।
राईहरूको भनाइमा बाख्राको मासु खानु मात्रै होइन, छोइछिटो मात्रले पनि नसा बाउँडिने, काँप्ने र कुँजो बनाउने जस्ता समस्या देखिन्छ। राईहरूको छिमेकमा बस्ने अन्य जातजातिका मानिसहरू कसैलाई शरीर झमझमायो वा नसामा गडबडी महसुस भयो भने राईको देवता लाग्यो भन्ने गरिन्छ। राईहरूलाई त्यस्तो भयो भने खसीबाख्रासँग छोइछिटो भयो भन्ने विश्वास गरिन्छ।
पोषणविद्हरू मासुलाई रातो र सेतो गरी दुई भागमा बाँड्छन्। खसीबाख्राको मासु रातोमा पर्छ। यसको मूल विशेषता बोसो छिटो जम्ने र कडा हुने हो। प्रोटिनको मात्रा पनि अधिक हुने हुनाले यसको बढी सेवनले रक्तनली, मुटु, नसा र जोर्नीहरूमा समस्या निम्त्याउँछ। पुर्खाकै पालादेखि खसीबोकाको मासु नखाएको हुनाले कसैले खान थाल्दा एक त मनोवैज्ञानिक कारणले समस्या भएको महसुस हुन सक्छ भने अर्कोतिर मासुमा भएको विशेषताका कारण नसामा समस्या आउन सक्छ, जसले कुलपितृले सरापेको वा देउता लागेको भन्ने विश्वास जन्माउँछ।
सांस्कृतिक अन्तर्घुलन भर्सेस सांस्कृतिक विलय
गोर्खा राज्यको विस्तारअघिसम्म अस्तित्वमा रहेको पूर्वी नेपालको ऐतिहासिक-भौगोलिक क्षेत्र माझकिरातका कुनै पनि गाउँमा खसीबाख्रा प्रवेश गरेको थिएन। त्यसबेलाका केही प्रमुख गढीहरूमा सल्लाहकारहरू खस र ब्राह्मणहरू थिए। उनीहरू पनि आफ्नै घरमा मात्रै खसीबोकाको मासु खान्थे। गोर्खा राज्य विस्तारपछि जागिर, बिर्ता पाएका र तिनको आडमा बसेका मानिसहरूको संख्या बढेसँगै राई बस्तीहरूमा पनि खसीबाख्राको प्रवेश व्यापक भएको पाइन्छ। त्यसपछि शासक र शासितबीच सांस्कृतिक फाटोजस्तो देखियो। शासक अर्थात् गोरखालीहरू खसीबोकाको मासुलाई उच्चस्तरको मांसाहार मान्ने र सुँगुरलाई छिछि थुरथुर गर्ने। शासित राईहरू सुँगुरलाई सबैभन्दा मीठो मान्ने, खसीबाख्रा छुँदै नछुने। तर, राज्यको तिरोभारो उठाउने जिम्मावाल तथा मुखिया राईहरूमा गोर्खालीको संगतका कारण भान्सामा यदाकदा खसीबाख्राले स्थान पाउन थालेको देखिन्छ। सर्वसाधारण राईहरू भने लामो समय परै रहे।
भोजपुरको साविकको अन्नपूर्ण गाविसका अध्यक्ष विष्णुकुमार राई आफ्नो खानदानमा २०१८ सालदेखि खसीबाख्रा प्रवेश गरेको बताउँछन्। उनका अनुसार, उनका बडाबाउले त्यस भेगका राईहरूमै पहिलो पटक खसीबाख्रा पालेका हुन्। त्यसपछि त्यस भेगका राईहरूमा बाख्रा पाल्न चाहिँ हुन्छ भन्ने मान्यता विस्तार हुन थाल्यो।
गोर्खा भर्ती सुरु भएपछि भर्ती भएर विश्वका अनेक ठाउँमा पुगेर दुई विश्वयुद्धका साथै अरु युद्ध लडेर फर्कँदा र बेलायतबाट भारत स्वतन्त्र भएर गोर्खा सैनिक दुई भागमा बाँडिइसक्दा पनि आम राईहरूले खसीबोका खान थालेका थिएनन्। भिक्टोरिया क्रस (भिसी) विजेता गजे घलेले एक अन्तर्वार्तामा अर्का भिसी विजेता अगम सिं राईसँगको संगतबारे बोलेका छन्, ‘म घले परेँ, सुँगुर नचल्ने। ऊ राई पर्यो, खसी नचल्ने। भान्सा मिलेन। मैले उसैको संगतले सुँगुर खान सिकेँ, तर उसले खसी खान सिकेन।”
भोजपुरको साविकको अन्नपूर्ण गाविसका अध्यक्ष विष्णुकुमार राई आफ्नो खानदानमा २०१८ सालदेखि खसीबाख्रा प्रवेश गरेको बताउँछन्। उनका अनुसार, उनका बडाबाउले त्यस भेगका राईहरूमै पहिलो पटक खसीबाख्रा पालेका हुन्। त्यसपछि त्यस भेगका राईहरूमा बाख्रा पाल्न चाहिँ हुन्छ भन्ने मान्यता विस्तार हुन थाल्यो। पालेपछि छुनैपर्यो, तर खाइहाल्ने चलन निकै पछि सुरु भएको हो। अहिले कुनै पनि राईले बाख्रा पाल्नु सामान्य मानिन थालेको छ। माछाकोमा अर्थात् पूजाथलो छुनुपर्ने व्यक्ति वा घरमुलीले बाहेक अरुले खाँदा हुन्छ, तर खाएपछि साम्खा (मूल चुलो) मा नपस्नू भन्ने मान्यता स्थापित छ। त्यसैले घरका मूल व्यक्तिले मात्रै बाख्राको मासु नखाने भेटिन्छ।
यहाँनेर बीसौँ शताब्दीका इटालियन विचारक एन्टोनियो ग्राम्सीको ‘थ्योरी अफ कल्चरल हेजेमोनी‘ अर्थात् सांस्कृतिक प्रभुत्वको सिद्धान्तबारे उल्लेख गर्नु उपयुक्त हुन्छ। उनी भन्छन्, बहुसांस्कृतिक समाजमा एउटा संस्कृतिलाई राज्यसत्ताले संरक्षण गरिरहेको हुनाले शक्तिशाली र प्रभुत्वशाली हुन्छ, जसले अन्य संस्कृतिहरुलाई प्रभावित पारिरहेको हुन्छ अनि समयक्रममा कमजोर संस्कृतिहरू शक्तिशाली संस्कृतिमा विलय हुन्छ। यसलाई समाजशास्त्रीहरू ‘सांस्कृतिक विलय’ भन्छन्।
यसमा अर्को पाटो हुन्छ। राज्यबाट संरक्षण नपाएर कमजोर भएका संस्कृतिका मानिसहरू समाजमा उपल्लो भनेर स्थापित संस्कृति अँगाल्नुलाई गौरव मान्छन्। त्यो क्रम कमजोर समुदायका प्रभावशाली व्यक्ति वा खानदानबाट सुरु हुन्छ। उनीहरूको सम्पर्क आफ्नो हैसियतअनुसार राज्यका तल्लोदेखि माथिल्लो तहका प्रतिनिधिहरूसँग हुन्छ। त्यही सिद्धान्तअनुसार उबेलाका राज्यका प्रतिनिधि भएका राईहरू आम राई समुदायमा सबैभन्दा पहिले खसीबाख्रालाई भान्सामा प्रवेश गराउनेमा परे, किनभने उनीहरुलाई साँच्चैको शासक देखिनु थियो।
अहिले सांस्कृतिक अन्तर्घुलनको युग छ। कसले के खाने, के नखाने व्यक्तिको रोजाइ हो। परम्परा र संस्कृतिको नाममा व्यक्तिको मन र रुचिहरूलाई नियन्त्रण गर्न मिल्दैन भनिन्छ। तर व्यवहार त्यस्तो छैन। उदाहरणका लागि, खसीबोका खाने, सुँगुर नखाने एउटा समाज छ र खसीबोका नखाने, सुँगुर खाने अर्को समाज एकै ठाउँमा छ। पहिले खसीबाख्रा नखानेले खान थालेका छन्। सुँगुर नखानेले खान थालेका छन्। तर, सांस्कृतिक अन्तरघुलनको कुरा जतिसुकै गरे पनि एक किसिमको सांस्कृतिक रेखा छँदै छ। यसको दृष्टान्त के हो भने, सुँगुर नखाने परम्परामा हुर्किएको व्यक्तिले खसीबाख्रा खान थाल्यो भने उसले आफूले खाएको कुरा गर्वका साथ खुलाउछ। तर, सुँगुर नखाने परम्परामा हुर्किएको व्यक्तिले सुँगुर खान सिकेछ भने उसले त्यो कुरा लुकाउँछ। यसमा राज्यसत्ताकै कुरा आइपुग्छ। राईहरूले खसीबाख्रा स्विकार्दै जानु सांस्कृतिक अन्तर्घुलन कम र सांस्कृतिक विलय बढी हो।