काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

पर्यटन

पर्यटन प्रवर्द्धनका लागि सुन्दरताको बखान र प्रचार गरेर मात्रै पुग्दैन, सहज पहुँच र भौतिक पूर्वाधार चाहिन्छ भन्ने कुरा भोजपुरको सावा छाँगाको सन्दर्भमा ठ्याक्कै मेल खान्छ।

२८ जेष्ठ २०८३
भोजपुरको टेम्केमयुङ गाउँपालिका १ स्थित सावा छाँगा। तस्बिरहरू : पूर्ण पी राई
अ+
अ-

भोजपुरका ठाउँठाउँमा झुन्ड्याइएका त्यस जिल्लाका पर्यटकीय स्थलका तस्बिरको लहरमा एउटा ठाउँ छुट्दैन। जसको नाम लेखिएको हुन्छ- सावा झरना। तर त्यो झरना आसपासका सर्वसाधारणले झरना भन्ने शब्द नै बुझ्दैनन्। उनीहरू छाँगा भन्छन्। त्यो झरनालाई उनीहरू ‘सावा छाँगा’ भन्छन्।

एउटै भाषामा शब्द र लबज फरक पर्नुलाई नेपाली साहित्यमा क्षेत्रीयता वा आञ्चलिकता भनिन्छ। बान्तावा राई मातृभाषी स्थानीयको आञ्चलिकतामा ‘झरना’ शब्द छैन। स्कुलमा पढाइने झरना झको झरना केटाकेटीहरूले बुझ्दैनन्। छाँगा मात्रै बुझ्छन्।

त्यस भेगमा छाँगा पाखा, छाँगा दोबाटे, छाँगा लाम, छाँगा उकालो, घट्टे छाँगा, तीन छाँगो, सिद्धेमा छाँगा जस्ता स्थानहरू छन्। ‘राँगाले छाँगा हेरे जस्तो’ उपमा त्यस भेगमा निकै प्रचलित छ। तर, जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने तस्बिरहरूमा स्थानीय जनबोलीको शब्दको सट्टामा पढालेखाको शब्द भेटिन्छ- झरना।

सावा छाँगा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ हाँसपोखरीबाट सोही वडाको पाङ्खाङ र सावा गाउँ छुट्याउँदै बग्ने सावा खोलामा छ। धेरै वर्षअघि छाँगा स्थानीय गाउँलेको बेवास्ता र विरूप अवस्थामा थियो। मैयुङ घुम्न जाने अन्य भेगका मानिस आक्कलझुक्कल पुग्थे। छाँगा मन पराउँथे।

समयक्रममा छाँगा पनि गाउँको सम्पत्ति हो भन्ने चेतना गाउँलेहरूमा पस्न थाल्यो। भोजपुर जिल्लाको रमणीय प्राकृतिक स्थलहरूको सूचीमा पर्‍यो। सदरमुकामका मानिस जमघट हुने ठाउँहरूमा यसको तस्बिर देखिन थाल्यो। तस्बिरमार्फत प्रचार भने हुन थालेको छ। सामाजिक सञ्जालमा फाट्टफुट्ट देखिन थालेको छ।

छाँगैछाँगा

सावा छाँगामा एकैठाउँमा तीन वटा छाँगा छन्। तिनीहरूको छुट्टाछुट्टै नाम छैन। सावा खोलामा भएका दुई वटा छाँगालाई ठूलो छाँगा र सानो छाँगा भनिन्छ। सानो छाँगा बाटोमै छ। त्यसको सिधामाथि रहेको छाँगालाई ठूलो छाँगा भनिन्छ। सानो छाँगाको २० मिटरजति पश्चिम-दक्षिणमा सानो खोला मिल्न आइपुग्छ। त्यसलाई कोक्टुवा भनिन्छ। सावामा मिल्नुअघि कोक्टुवा ५० फिट जति अग्लो छाँगाबाट हाम फाल्छ। बाटोमै खस्छ।

स्थानीय पनि नपुग्ने र पर्यटक पनि नपुग्ने, कतै जाँदा बाटोमा पनि नपर्ने भएपछि छाँगालाई नै अन्तिम लक्ष्य बनाएर को आउने? त्यसमाथि पर्यटन पूर्वाधार नै छैन।

त्यस क्षेत्रको भूगोल अलि भिरालो छ। भिरालोमा सावा खोला बग्ने हुनाले तल सावा गाउँ पुछारमा पिखुवासँग मिल्दासम्ममा दर्जनौँ ससाना छाँगा सेतो फिँजका धारा जस्ता देखिन्छन्। त्यसका साथै सावा नजिकका पिखुवा खोलाका सहायक खोलाखोल्सीहरूमा घट्टे छाँगा, सिद्धेमा छाँगा, चाँगे छाँगा छन्।

बान्तावासहित अधिकांश किराती भाषामा ‘वा’ को अर्थ पानी हो। प्रदेश नम्बर एकको पहाडी भेगका अधिकांश खोलाखोल्सीको नामको अन्तिम अक्षरमा ‘वा’ पाइन्छ। सावा छाँगा आसपासमा कोक्टुवा, पिखुवा, खोय्युवा, बुम्खुवा, हिङ्खुवा, साङ्गेनटुवा, तुयुवा नामका खोलाखोल्सा छन्। सबैमा कुनै न कुनै छाँगा छन्।

जति प्रचार उति ओझेल

यो उपशीर्षक विरोधाभाषी भए पनि सावा छाँगाको सन्दर्भमा यही भइरहेको देखिन्छ, प्रचार गरे पनि ओझेलमा। पहिला पहिला गाउँका सबैजसो घरका गाईभैँसी लेकका खर्कहरूमा लैजाने चलन थियो। साबिकको तिम्मा गाविस-३ का सावा खोलावारिका अधिकांश मानिस छाँगाको बाटो गोठ-घर ओहोरदोहोर गर्थे। सावा गाउँको सिरानमा सबैको गौबारी थियो। त्यहाँ आउनेजाने बाटो पनि छाँगाकै। मैयुङतिर आउजाउ गर्ने मुख्य बाटो पनि छाँगाकै। यो बाटोबाट सिधै हाँसपोखरी पुगिने भएकाले बाहिरबाट आउने मान्छेहरूलाई यही बाटो पछ्याउन गाउँलेले सुझाव दिन्थे।

भोजपुरको टेम्केमयुङ गाउँपालिका १ स्थित सावा छाँगा। 

मुन्दुम पदमार्गमा समेटिएपछि मैयुङ यस पदमार्गको मुख्य आकर्षण नै बन्यो। मुन्दुम पदमार्ग आसपासका गाउँहरूलाई पनि मुन्दुम पदमार्गका मध्यवर्ती क्षेत्र तथा प्रवेशद्वारका रूपमा विकसित गरी पर्यटनमैत्री बनाउने अभियान सुरु भयो। सेतीबगर सुन्तले सडक सावा छाँगाभन्दा धेरै तल आयो। सावा गाउँमा होमस्टे सञ्चालनमा आयो। सावा गाउँबाट सिधै हाँसपोखरी जाने पैदल बाटो स्तरोन्नति भयो। अप्ठ्यारो ठाउँमा सिँढीहरू बनाइए।

यता पाङखाङ सिधा माथितिर मैयुङ पुग्ने पुरानै तर जमानामा कम चल्तीको बाटोलाई बढी प्रयोग गर्न थालियो। सावा खोला तर्नै नपर्ने। गाउँमा पहिला जस्तो धेरै पशु पाल्ने र खर्क खर्क डुलाउने चलन स्वाट्टै कम भयो। टाढा खेती धाउने चलन पनि अन्त्य भयो। छाँगाको बाटो भएर खर्क, गोठ, गौबारी धाउने कोही भएनन्।

मैयुङ जानेहरूमध्ये एकथरी सावाबाट सिधै मास्तिर र अर्कोथरी पाङ्खाङबाट सिधै मास्तिर जाने भएपछि सावा छाँगामा कोही नपुग्ने भए। यसपालि भर्खरै पाङखाङ बिखेबाट गुफा हेक्कुले हुँदै गोकेलेसम्म खुलेका सडक ट्र्याक अलि राम्रो भएपछि मैयुङ जानेहरू सरासर जान्छन्। तर, स्थानीय पनि नपुग्ने र पर्यटक पनि नपुग्ने, कतै जाँदा बाटोमा पनि नपर्ने भएपछि छाँगालाई नै अन्तिम लक्ष्य बनाएर को आउने? त्यसमाथि पर्यटन पूर्वाधार नै छैन।

सावा छाँगाको प्रचारमा स्थानीय मात्र नभई जिल्ला नै लागेको देखिन्छ। तर, त्यहाँ पुग्ने गोरेटो राम्रो चाहिन्छ भनेर कसैले सोचेको देखिँदैन। पुरानो बाटो वर्षौंदेखि मर्मतसम्भार त परको कुरा, सफाइ पनि गरिएको छैन। पाङखाङपट्टिबाट आउने बाटो ठाउँ ठाउँमा पहिरोले भत्काएको अवस्थामै छ। बाटोको दायाँबायाँको झाडीले उबेलाको फराकिलो बाटोलाई गोरेटो बनाएको छ।

सावा छाँगालाई साँच्चै पर्यटन केन्द्र बनाउने हो भने पाङखाङ चोक्कोलिमादेखि आउने, सावा सिरानबाट आउने र चिपचिपे निस्किने तीन वटा पुराना बाटोलाई मर्मतसम्भार गरी राम्रो बनाउनुपर्छ। छाँगा नजिकै वनभोजस्थल बनाउनु उपयुक्त हुन्छ। रमिता हेर्न अडिने, तस्बिर खिच्ने ठाउँहरू बनाउनुपर्छ।

सावा सिरानबाट आउने तेर्सो बाटोमा मुस्किलले पैताला अट्छ। त्यसलाई पनि बीचबाट मोडेर ठूलो छाँगातिर लगिएको छ। ठूलो छाँगो पुग्ने ठाउँनेर सिँढी हालिएको छ। सानो छाँगातिर जाने पहिलाको मूल बाटोको अस्तित्व मेटिएको छ। छाँगादेखि सिधा उकालो चिपचिपे निस्किने बाटो त धेरैजसोमा बाटोको अस्तित्व नै छैन। भएकोमा पनि चुथ्रो र पानाझ्यालले पूरै ढाकेका छन्।

सावा छाँगा हेर्नकै लागि टाढाबाट कोही मान्छे धाएर, खर्च गरेर आउने अपेक्षा गरिहाल्ने बेला भएको छैन। कतै हिँड्दा बाटोमै सावा छाँगा जस्तो एकैठाउँमा तीन वटा छाँगा देखियो भने जोकोही एक-डेढ घण्टा अलमलिन सक्छन्। पर्यटन प्रवर्द्धन कुनै ठाउँ वा वस्तुको सुन्दरताको बखान र प्रचार गरेर मात्रै पुग्दैन। मुख्य कुरा, भौगोलिक पहुँच र भौतिक पूर्वाधार हो।

सावा छाँगालाई साँच्चै पर्यटन केन्द्र बनाउने हो भने पाङखाङ चोक्कोलिमादेखि आउने, सावा सिरानबाट आउने र चिपचिपे निस्किने तीन वटा पुराना बाटोलाई मर्मतसम्भार गरी राम्रो बनाउनुपर्छ। छाँगा नजिकै वनभोजस्थल बनाउनु उपयुक्त हुन्छ। रमिता हेर्न अडिने, तस्बिर खिच्ने ठाउँहरू बनाउनुपर्छ। अझ सावा जाने सडकदेखि सावा खोलैखोला उकालो र छाँगा हुँदै उकालैउकालो हाँसपोखरीसम्म नयाँ साहसिक मार्ग बनाउन सकियो भने झन् काइदा हुन्छ। तर, त्यसका लागि चाहिन्छ, दूरदृष्टि र ठूलो बजेट।

सावा छाँगा प्रवर्द्धनका लागि मुख्य कुरा सावाली र पाङखाङलीबीचको अस्वस्थ प्रतिस्पर्धा र जिद्दीपन अन्त्य गर्नुपर्छ। सावालीहरू मैयुङ जानेहरू सावाकै बाटो सिँढी नै सिँढी उकालो लागून् र त्यही बाटो भएर फर्कियून् भन्ने चाहन्छन्। पाङखाङलीहरू पाङखाङको बाटो हेक्कुले हुँदै जाऊन् र त्यसैबाट फर्कियून् भन्ने चाहन्छन्। यस अवस्थामा सावा छाँगामा कसैको ध्यान छैन।