राजनीति
तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको रास्वपाको पहिलो महाधिवेशन उद्घाटनमा झरी, प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन र मोहीको स्टलको विशेष चर्चा
चितवन। उखरमाउलो गर्मीबीच ढिलो सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन समारोह दुई घण्टा ४५ मिनेटमा सकिएको छ।
पार्टीले महाधिवेशनमा सहभागीलाई दिउँसो १ बजे आमन्त्रण गरेर २ बजे उद्घाटन कार्यक्रम सुरु हुने जनाएको थियो। तर, उद्घाटन सत्र तोकिएको समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भयो। बिहानैदेखि कार्यक्रमस्थल पुगेका सहभागी चर्को घामले असिनपसिन थिए। कार्यक्रम सुरु हुने बेला परेको पानीले भने उनीहरूलाई केही राहत दियो।

महाधिवेशनस्थल। तस्बिरहरू : सविता श्रेष्ठ
अतिथिहरूको लामो प्रतीक्षापछि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह एकसाथ कार्यक्रमस्थल प्रवेश गरेपछि मात्र औपचारिक कार्यक्रम सुरु भएको थियो।
ढिलो पुगेका शीर्ष नेता, पर्खिरहेका अतिथि
लामिछाने र शाह पुग्नुअघि नै अधिकतर अतिथि मञ्चमा पुगिसकेका थिए। कांग्रेस सभापति गगन थापा दिउँसो ३ बजे कार्यक्रमस्थल पुगेका थिए। त्यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवाली, जनता समाजवादी पार्टी नेता उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत अतिथि मञ्चमा बसिसकेका थिए।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थित विभिन्न राजनीतिक दलका नेताहरू। तस्बिर : प्रदीपराज वन्त/रासस
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह दिउँसो ३:२० बजे कार्यक्रमस्थल पुगेपछि उद्घाटन सत्र सुरु गरिएको थियो। कार्यक्रमबीच थारू नाच र सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो।
प्रधानमन्त्रीको अहिलेसम्मकै लामो भाषण
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन सत्रमा १० मिनेट सम्बोधन गरे। प्रायः छोटो बोल्ने प्रधानमन्त्री शाहको सार्वजनिक राजनीतिक सम्बोधनमध्ये यो लामो हो। प्रधानमन्त्री निर्वाचित भएपछि उनले गरेको यो पहिलो सार्वजनिक सम्बोधन हो।
कांग्रेस सभापति गगन थापाले प्रतिपक्षी दलको नेताका रूपमा १२ मिनेट बोले। सभापति लामिछानेले १९ मिनेट सम्बोधन गर्दै उद्घाटन सत्र समापन गरे। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले १३ मिनेट मन्तव्य राखे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : प्रदीपराज वन्त/रासस
परराष्ट्रमन्त्री शिशिर खनाल र एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नौ नौ मिनेट बोले। नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले आठ आठ मिनेट मन्तव्य राखे। जसपा नेता उपेन्द्र यादवले पाँच मिनेट र जनमत पार्टीका अध्यक्ष सीके राउतले १४ मिनेट बोले।
रास्वपाका जिल्ला सभापति मिनीमाधव खनाल र भरतपुर महानगर समितिकी सभापति सीता ज्ञवालीले स्वागत मन्तव्यका लागि ६–६ मिनेट लिएका थिए।
पानीले हिलाम्मे चउर
कार्यक्रम सुरु हुने समयमा परेको पानीले भरतपुरको गेस्ट हाउस चउर हिलाम्मे भएको थियो। जर्मन प्रविधिको ह्यांगरबाट बनाइएको कार्यक्रमस्थलको भुइँमा पानी जमेको थियो।

रास्वपाको महाधिवेशनस्थलको दृश्य।
अघिल्लो राति पनि पानी परेपछि चउरमा पानी जमेको थियो। सहभागीलाई हिँड्न सहज बनाउन बिहान ग्राभेल हालिएको थियो। तर, लामिछाने र शाह कार्यक्रमस्थल प्रवेश गर्ने बेला फेरि पानी दर्कियो। दुवै जना एउटै समयमा छाता ओढेर कार्यक्रमस्थल पुगेका थिए।

पानी परेपछिको हिलाम्मे महाधिवेशनस्थल।
महीको स्टलमा भिड
महाधिवेशनस्थलमा मही वितरण गरिएको थियो। गर्मीका कारण उद्घाटन समारोहमा मही पिउने सहभागीको भिड देखिएको थियो। चितवनको गर्मीमा मही पिउन सहभागी कार्यकर्ताबीच हारालुछ जस्तै देखिएको थियो।
उत्पादन बिक्रीका लागि राखिएको डीडीसीको स्टलमा पनि भिड लागेको थियो। डीडीसीले रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहितको बोर्ड राखेको थियो।

महीको स्टलमा देखिएको भिड।
रास्वपाले हालसम्म ६४ जिल्लामा अधिवेशन गरिसकेको छ। सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, ६०९ पालिकामा अधिवेशन सम्पन्न भइसकेको पार्टीले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन मंगलबारसम्म चल्नेछ।