आवरण
तापक्रम वृद्धिले अनौपचारिक क्षेत्रका श्रमिकलाई काम गर्न सकस, स्वास्थ्यमा असर
पाल्पाका रनबहादुर रानाले काठमाडौँमा दुई दशकयता निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका छन्। घर, पुलपुलेसालगायत पूर्वाधार निर्माणको काम दिनभरि खुला आकाशमुनि गर्नुपर्ने हुन्छ। हपक्क गर्मीले गुम्स्याए पनि गुजारा चलाउन काममा नभिडी हुँदैन। निर्माण मजदुरीको लामो यात्रामा उनले टड्कारो महसुस गरिरहेको कुरा हो- पछिल्ला वर्षहरूमा गर्मी याममा अत्यधिक गर्मी हुन थालेको छ।
चरक्क घाममा सेकिएर काम गर्नुपर्दा सकस हुने र स्वास्थ्यमा पनि असर परेको उनी बताउँछन्। “गर्मी त बढी नै छ। काम गर्दा टाउको दुख्छ, रिँगटा लाग्छ,” उनी भन्छन्, “शरीर कमजोर र अस्वस्थ भए जस्तो हुन्छ।”
जलवायु परिवर्तनका कारण ग्रीष्म ऋतु अर्थात् गर्मी याममा विगत वर्षको तुलनामा बढी गर्मीको महसुस त सबै भेगका सबैले गरिरहेका छन्। तराई-मधेसमा गर्मी र तातो हावाले जनजीवन झनै आहत बन्ने गरेको छ। तर, यसरी बढिरहेको गर्मीमा रनबहादुर जस्ता अनौपचारिक क्षेत्रका श्रमिक झनै पिल्सिन्छन्। न्यूनतम सेवा-सुविधा र कतिपय त आधारभूत सुरक्षा मापदण्डविना काम गर्न बाध्य उनीहरू मौसमको पनि मारमा परिरहेका छन्।

सडकमा काम गर्दै श्रमिक। तस्बिर : रासस
एक अध्ययनले अनौपचारिक क्षेत्रका श्रमिक अत्यधिक गर्मीको कुन जोखिममा काम गर्न बाध्य छन् भन्ने तथ्य सार्वजनिक गरेको छ। पिपल्स करेज इन्टरनेसनल (पीसीआई) नामक संस्थाले दक्षिण र दक्षिणपूर्वी एसियाका पाँच सहर बाङ्लादेशको ढाका, फिलिपिन्सको क्वेजोन सिटी, भारतको दिल्ली, इन्डोनेसियाको जकार्ता र नेपालको काठमाडौँमा अनौपचारिक क्षेत्रका श्रमिकसँग सर्वेक्षण गरेर तयार पारेको प्रतिवेदनमा यो समुदाय अत्यधिक गर्मीको जोखिममा रहेको उल्लेख छ। अत्यधिक गर्मी र अनौपचारिक कामदारबारे छुट्टाछुट्टै नीति बनाउनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ।
तातो दिनको कहर
विगत केही वर्षदेखि नेपालमा ग्रीष्म याममा गर्मी बढिरहेको छ। मौसमविद्हरूका अनुसार सामान्यभन्दा धेरै तापक्रम भएको अवस्थालाई अत्यधिक गर्मी भनिन्छ। अधिक गर्मी भएको दिनलाई तातो दिन भनिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुनै क्षेत्रमा लगातार तीन दिन वा सोभन्दा बढी समयसम्म तातो दिन रहेमा यसलाई तातो हावाको लहर अर्थात् ‘हिटवेभ’ वा ‘लु’ भनेर परिभाषित गरेको छ। एकै तापक्रम मापन केन्द्रमा तीन दिनसम्मको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि माथिरहेमा ‘लु’ चलेको मानिन्छ।
जल तथा मौसम विज्ञान विभागको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा २०२५ भरि २२ दिन अत्यधिक ताता दिनका रूपमा रेकर्ड भएका थिए। उक्त वर्ष मार्चदेखि जुनसम्म तराईका धेरै तापक्रम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस्तै, त्यसअघि सन् २०२४ मा भने अत्यधिक ताता दिन ५० थिए।

दाङको घोराही उपमहानगरपालिका-१४ रतनपुरस्थित एग्रोमार्ट फार्ममा व्यावसायिक रूपमा गरिएको स्ट्रबेरी खेतीमा झार गोडमेल गर्दै कामदार। तस्बिर : कुलदीप न्यौपाने/रासस
वातावरणीय प्रदूषण, मौसमी विषमता, जलवायु परिवर्तनलगायत कारण विश्वव्यापी तापक्रम बढिरहेको छ। नेपालमा एक दशकयता तातो हावाको असर जनस्वास्थ्य, कृषि, वातावरणदेखि रोजगारीसम्ममा परिरहेको छ। तातो हावा र हपक्क गर्मीका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै र खुला वातावरणमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकले बढी कठिनाइ भोगिरहेका छन्।
खासगरी प्रकृतिमा धावा बोल्ने र वातावरण प्रदूषण गर्ने मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको भन्दै विश्वमै चिन्ताको विषय बनिरहेको छ। औद्योगीकरणका क्रममा विकसित राष्ट्रहरूले खनिज इन्धनको अत्यधिक प्रयोग गरेपछि हरितगृह ग्यास धेरै उत्सर्जन भएर पृथ्वीको वायुमण्डलभित्र ताप रोक्नाले तापक्रम बढेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आईपीसीसी) तथा मौसम र जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय वर्ल्ड मेटिओरोलजिकल अर्गनाइजेसन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले औँल्याएका छन्।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपाल (एफएओ)मा जलवायु परिवर्तन, चरम मौसमी घटना र भूउपयोग विज्ञका रूपमा कार्यरत प्रतिमा श्रेष्ठ विश्वव्यापी रूपमै सन् १९५० देखि नै गर्मी बढिरहेको र बर्सेनि गर्मी बढ्ने प्रक्षेपण निकै अगाडिदेखि गरिएको बताउँछिन्।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ दोभान डाँडामा रोपाइँका लागि ब्याडमा धानको बीउ काढ्दै किसान । तस्बिर : रासस
सन् २०१५ मा १९५ देशले हस्ताक्षर गरेको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले औसत तापमान १.५ डिग्रीभन्दा बढी बढ्न नदिने प्रतिबद्धता गरेको थियो। तर, सन् २०२४ को सेप्टेम्बरमा नै तापमान वृद्धिले यो मापक नाघिसकेको छ। इतिहासकै सबैभन्दा गर्मी वर्ष भनेर सन् २०२४ लाई अभिलेख गरिएको छ। वर्ल्ड मेटिओरोलोजिकल अर्गनाइजेसनका अनुसार पछिल्लो दशकमा प्रत्येक वर्ष अत्यधिक गर्मीले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। भविष्यमा वर्षमै ६० दिन अत्यधिक गर्मी हुने प्रक्षेपण गरिएको छ।
नेपालमा पछिल्लो ५-६ वर्ष लगातार विशेषगरी पश्चिम तराईमा ४० डिग्री सेल्सियसभन्दा बढीको तापमान अभिलेख गरिएको छ। गत जेठमा मात्र कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा आठ जना सुरक्षाकर्मी बेहोस भएको खबर सञ्चारमाध्यममा आएको थियो। यस्तै, तराईका विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि विद्यालयहरू बन्द गरिएका थिए।
बहुआयामिक असर
अत्यधिक गर्मीले विषम मौसमी घटनालगायत बहुआयामिक असर निम्त्याउने गर्छ। आईपीसीसीका अनुसार तापक्रम एक डिग्री बढ्दा वर्षा सात प्रतिशत बढ्छ। तापक्रम बढ्दा हावामा आर्द्रता सोस्ने क्षमता बढ्नाले यस्तो मौसमी प्रवृत्ति देखिने एफएओकी जलवायु परिवर्तनविज्ञ श्रेष्ठ बताउँछिन्। “यसले आरीघोप्टे वर्षा हुने सम्भावना बढाउँछ,जसबाट बाढीपहिरोका घटना बढ्छ,” उनी भन्छिन्।
अत्यधिक गर्मीले सुक्खापन पनि बढाउँछ। खडेरी लागेर कृषि उत्पादनमा असर पर्छ। पानी कतै धेरै कतै थोरै परेर पारिस्थितिकीय प्रणालीमा असर पर्छ। अत्यधिक गर्मी हुँदा तालतलैया सुक्छन्, वन डढेलोको जोखिम बढ्छ।
गर्मीले जनजीवनको दैनिक चर्यादेखि स्वास्थ्यमै असर पार्छ। गर्मीले रिँगटा लाग्ने, बेहोस हुने जस्ता असर देखिन्छन् भने यसले प्रजनन स्वास्थ्यमा पनि असर पार्न सक्छ।

काठमाडौँको वसन्तपुरमा छाता ओढेका व्यापारी।
गर्मीले सबैको जनजीवन कष्टकर बनाए पनि विशेषगरी तराई क्षेत्रमा यसले धेरै प्रभाव पारेको श्रेष्ठ बताउँछिन्। “तराईमा ज्यालामजदुरी गर्ने, रिक्साचालक, किसान आदि घाममा काम गर्नुपर्ने न्यून आय भएका मानिसहरूलाई अत्यधिक गर्मीले बढी असर गरेको छ,” उनी भन्छिन्। विद्यालयको भौतिक संरचना वातानुकूलित नभएको तथा पर्याप्त पानी,पंखाको व्यवस्था नभएकाले विद्यार्थीले पनि गर्मीको कहर भोग्नुपरिरहेको उनको भनाइ छ।
आन्तरिक आप्रवासनको बहाव
पीसीआईको प्रतिवेदनले अत्यधिक गर्मीलगायत जलवायुजन्य कारणले दक्षिण र दक्षिणपूर्वी एसियामा आन्तरिक आप्रवासन बढाएको र ती आप्रवासीलाई असमान रूपमा असर पारेको जनाएको छ।
पीसीआईकी प्रमुख अनुसन्धाता अमिना किडवाई आन्तरिक बसाइँसराइ हुनुमा रोजगारीको अवसरमा कमी, थोरै ज्यालालगायत आर्थिक कारण प्रमुख भए पनि यी सबैमा जलवायु परिवर्तनको अप्रत्यक्ष भूमिका रहेको बताउँछिन्। “आन्तरिक आप्रवासन गर्ने धेरैजसो मानिसहरू आफ्नो थातथलोमा कृषिमा संलग्न भएका हुन्छन्, उत्पादन नभएपछि उनीहरू जीविकोपार्जनको खोजीमा बसाइँ सर्छन्,” उनी भन्छिन्, “कृषिमा उत्पादकत्व कम हुनुको कारण अक्सर चरम मौसमी घटनाहरू हुने गरेका छन्।”
पाल्पाका रनबहादुर पनि यसै प्रवृत्तिका उदाहरण हुन्। दुई दशकअघि गाउँमा खेतीकिसानीले जीवन धान्न कठिन भएपछि काठमाडौँ पसेको उनी बताउँछन्। “सिँचाइ समस्या, हावाहुरी, असिनापानीले खेती नसप्रिएपछि घरपरिवारको पेट पाल्न सकिन्न। त्यसपछि दुई-चार पैसा कमाउन कि त सहर पस्नुपर्यो, कि त परदेश लाग्नुपर्यो,” उनी भन्छन्।
यसरी आन्तरिक आप्रवासी बनेका मानिस काम खोज्न सहर पसेपछि धेरैजसो अनौपचारिक क्षेत्रको काममा संलग्न हुने गरेका छन्। जसमा निर्माण क्षेत्र, घरेलु काम, ट्याक्सी चलाउने, फोहोर व्यवस्थापनलगायत काम पर्छन्। सहरी अर्थतन्त्र र सहरको दैनिकी चलायमान बनाउनका लागि मेरुदण्ड रहेको यस समूहले सामना गर्ने ठूलो चुनौतीमध्ये अत्यधिक गर्मी पनि पर्ने किडवाई बताउँछिन्।

दाङको घोराही उपमहानगरपालिका-४ स्थित सुनपुरमा विद्युत् टावर निर्माण गर्दै कामदार। तस्बिर : रासस
पछिल्ला वर्षहरूमा सहरहरूमा ‘अर्बन हिट आइल्यान्ड’ बढिरहेको छ। यो भनेको घना बस्ती भएका सहरी क्षेत्रको तापक्रम वरिपरिका भूभागभन्दा बढी हुनु हो। मानव गतिविधि र सहरको संरचनाका कारण वरपरका क्षेत्रभन्दा सहर बढी तातो हुन्छ। यसले गर्दा अनौपचारिक क्षेत्रका कामदार उखुम गर्मीमा पिल्सिरहेका हुन्छन्।
नेपालमा रोजगार मानिसमध्ये ८६ प्रतिशत अर्थात् ४४ लाखभन्दा बढी मानिस अनौपचारिक क्षेत्रमा कार्यरत छन्। जसअन्तर्गत निर्माण क्षेत्रका मजदुर, घरेलु कामदार, भरिया, सडकका विक्रेता आदि पर्छन्। काठमाडौँमा मात्र अनुमानित ६-७ लाख मानिस अनौपचारिक क्षेत्रमा काम गर्छन्।
किडवाईका अनुसार अनौपचारिक क्षेत्रका कामदारको कार्यस्थल मात्र असहज हुँदैन, बसोबास क्षेत्र पनि उस्तै कठिन हुन्छ। उनीहरूको बसोबास क्षेत्रमा प्रायजसो भेन्टिलेसन अर्थात् हावा खेल्ने ठाउँ हुँदैन। “निर्माण क्षेत्रका कामदारले टन्टलापुर घाममा काम गर्नुपर्ने हुन्छ, उनीहरूले घरभित्र काम गरेको खण्डमा पनि कारखाना जस्ता ठाउँमा भिडभाड हुन सक्छ,” उनी भन्छिन्, “पानी जस्ता आधारभूत सुविधामा समेत पहुँच नभएर कामदारहरू जोखिममा हुन्छन्।”
‘साइलेन्ट किलर’ लाई बेवास्ता
नेपालमा बाढी-पहिरोलगायत प्राकृतिक विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न नीति र पूर्वतयारी योजना बनाइने भए पनि अत्यधिक गर्मीलाई प्रकोपका रूपमा पहिचान र सम्बोधन नै गरिएको छैन। हालसम्म सरकारले लु अर्थात् तातो हावाको लहरका विषयमा सूचनाहरू जारी गरिरहेको छ तर निरन्तर हुने अत्यधिक गर्मीलाई सम्बोधन गरेको छैन।

रिक्साचालक।
एफएओकी जलवायु विज्ञ श्रेष्ठ अत्यधिक गर्मी ‘साइलेन्ट किलर’ अर्थात् मौन प्रकृतिको जोखिम भएको बताउँछिन्। “यसले नदेखिने गरी असर गर्ने भएकाले बाढीपहिरो जस्तो प्रकोपको तुलनामा ध्यान तान्दैन। चारपाँच वर्षयता यो विषय उठिरहेको हुनाले अब चाहिँ नेपालमा यसलाई प्रकोपकै मान्यता दिनुपर्नेबारे छलफल भइरहेको छ,” उनी भन्छिन्।
यसो भएमा गर्मीसम्बन्धी कार्ययोजनाका लागि आर्थिक प्रतिबद्धता हुनसक्छ र स्वास्थ्य पुनर्लाभको प्रणाली स्थापित गर्न सकिने हुन्छ।
पीसीआईले सर्वेक्षण गरेका सहरहरूमध्ये दिल्लीबाहेकमा अत्यधिक गर्मीसम्बन्धी कार्ययोजना छैनन्। अरू देशले तातो हावाको लहर चल्दा आपत्कालीन योजना बनाएर कार्यान्वयन गर्छन्, तर निरन्तर हुने अत्यधिक गर्मीलाई सम्बोधन गरेका छैनन्। यीमध्ये धेरैजसो नीतिले अनौपचारिक कामदारलाई छुट्टै सम्बोधन गरेका छैनन्।

पीसीआईकी प्रमुख अनुसन्धाता किडवाई सहरको निर्माण गर्नेदेखि सहरको दैनिकी चलाउने ठूलो भूमिका भएका अनौपचारिक क्षेत्रका कामदारलाई नीतिसम्बन्धी छलफलमा बेवास्ता गरिनु विडम्बना भएको बताउँछिन्। “घरभित्र वा बाहिर जता काम गरे पनि कार्यस्थल र आवासको अवस्था हेर्दा उनीहरू सबैभन्दा जोखिममा हुन्छन्। तर, यो कुराको बुझाइ कम छ र यससम्बन्धी नीति पनि कम छन्,” उनी भन्छिन्, “गर्मीबाट सबैभन्दा बढी असर भोगिरहेको यस समुदायलाई नीतिगत रूपमा छुट्टै सम्बोधन नगरेसम्म उनीहरूको समस्या समाधान हुन सक्दैन।”
नीतिगत सिफारिस
अनौपचारिक क्षेत्रका कामदारका लागि गर्मीमा अनुकूलनका उपाय खर्चिला हुन सक्छन्। उनीहरूको बसोबास क्षेत्रमा सामान्यतया निःशुल्क र स्वच्छ पिउने पानीसमेत उपलब्ध नहुने हुँदा त्यसमा कामदारलाई खर्चको भार थपिन्छ। कामदारहरूले थप खर्च नगरी आधारभूत सुविधामा पहुँचको व्यवस्था गर्नुपर्ने र यसमा सरकार, निजी क्षेत्र र समाजसेवीहरूले सहयोग गर्नुपर्ने किडवाई बताउँछिन्।
श्रेष्ठ भने कामदारलाई चर्को गर्मीको तापबाट राहत दिन समग्र सहरको ‘अर्बन हिट आइल्यान्ड’ कम गर्ने गरी हरियाली क्षेत्रहरू बनाउनुपर्ने विचार राख्छिन्। “रुखमुनि र अन्यत्रको तापक्रम तुलना गर्दा रुखमुनि पाँच डिग्री कम तापक्रम भएको पाइन्छ। त्यसैले धेरै गर्मी हुने ठाउँहरूमा रुखहरू रोपेर हरियाली बढाउनुपर्छ,” उनी भन्छिन्, “चिस्यान कायम राख्न पोखरीहरू खन्ने, जल पुनर्भरणका लागि ससाना खाल्डो बनाउने गर्नुपर्छ। भएका सामुदायिक वनका कार्ययोजनाहरू कार्यान्वयन र नवीकरण गर्नुपर्छ। पर्यापर्यटनको विकास गर्नुपर्छ।” यी काम गर्न सबै क्षेत्र एकीकृत ढंगले अगाडि बढ्नुपर्ने उनको सुझाव छ।

पीसीआईको प्रतिवेदनले स्वास्थ्य समस्या आउँदा अक्सर आन्तरिक आप्रवासीले उपचार र आराम गर्न समस्या भोग्ने गरेको देखाएको छ। रनबहादुर रानाकै कुरा गर्दा गर्मीका कारण स्वास्थ्यमा समस्या हुँदा उपचार खोज्ने नगरेको उनी बताउँछन्। “गर्मी धेरै हुँदा स्वास्थ्यमा समस्या त आउँछ, तर धेरै साह्रो नपरेसम्म हामी भन्दैनौँ, देखाउँदैनौँ। स्वास्थ्य बिमा छैन र उपचार खर्च महँगो भएकाले अलिअलि समस्या त त्यत्तिकै पचाउने चलन हुन्छ,” उनी भन्छन्। आफूहरूलाई सरकारले बेलाबेला निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा दिनुपर्ने उनी बताउँछन्।
गर्मीले कामदारको स्वास्थ्यमा पार्ने असर नियन्त्रण गर्ने उपाय विद्यमान सामाजिक सुरक्षाका नीतिहरूमै समेट्नुपर्ने पीसीआईको सिफारिस छ।