काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
आज सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुनसक्ने फाइल एकैदिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यकपर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिएका हुन्। सञ्चारमन्त्री तिमिल्सिनाले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताए।
सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उनले जोड दिए। सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै सञ्चारमन्त्रीले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड्नुपर्ने खाँचो औँल्याए। समीक्षा बैठक विगतको मूल्यांकनमा सीमित नभई सुधारको नयाँ आधार बन्नुपर्ने बताउँदै उनले कर्मचारीले आफ्नो जिम्मेवारीबारे आत्ममूल्यांकन गर्दै समस्या समाधानका लागि समयमै नेतृत्वलाई जानकारी गराउनुपर्ने बताए।
उनले प्रत्येक कर्मचारीले आफ्नो शाखाबाट दैनिक रूपमा सम्पन्न भएका कामको जिम्मेवारी लिनुपर्ने बताउँदै विधि र प्रक्रिया पालना गर्दै ऐन–कानुनले निर्धारण गरेका उद्देश्यअनुसार परिणाममुखी ढंगले काम गर्नसमेत निर्देशन दिए। चालु आवको बजेट सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्णय प्रक्रिया र फाइल व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले फाइल कहाँ पुगेको छ र किन रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्न पनि निर्देशन दिए।
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दैनिक प्रतिवेदन बनाउनेगरी मूल्यांकन प्रणाली लागू गर्न, प्रत्येक शाखाले बिहान कार्ययोजना तयार गरी साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक समीक्षा बैठक नियमित सञ्चालन गर्न उनले निर्देशन दिए।
उनले कार्यसम्पादन सम्झौताका आधारमा कर्मचारीको मूल्यांकन गर्नुपर्ने र मातहतका कर्मचारीलाई जवाफदेही बनाउन नसक्ने नेतृत्व पनि उत्तरदायी हुनुपर्ने प्रणाली विकास गर्नुपर्ने धारणा व्यक्त गरे।