क्रिकेट
लगातार दुई हारपछि विश्वकप छनोट प्रतियोगिताको सिधा यात्रामा टिकिरहन नामिबियाविरुद्ध जित्नैपर्ने दबाब
आईसीसी क्रिकेट विश्वकप लिग-२ बाट विश्वकप छनोट प्रतियोगितामा सिधै पुग्ने लक्ष्य बोकेको नेपाल दबाबमा परेको छ।
नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टस् पार्क मार्सचाल्करविर्ड मैदानमा जारी शृंखलाका लगातार दुई खेलमा पराजित भएपछि नेपालको अभियान थप चुनौतीपूर्ण बनेको हो। नेपालले पहिलो खेलमा नामिबियासँग आठ विकेट र दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो।
लगातारको हारपछि नेपाल सोमबार पुनः नामिबियाविरुद्ध मैदानमा उत्रँदै छ। विश्वकप छनोटको दौडमा आफूलाई कायम राख्न नेपालका लागि यो खेल ‘गर या मर’ जत्तिकै हुनेछ। त्यसैले जित निकाल्दै शृंखलामा पुनरागमन गर्ने दबाब टोलीलाई रहेको कप्तान रोहितकुमार पौडेल बताउँछन्।
“दुई खेल हारेपछि दबाब हुन्छ नै। अर्कातर्फ हामीले पाएका साना साझेदारीलाई ठूलोमा बदल्न सकेका छैनौँ। तर, हामीमा अझै राम्रो गर्ने क्षमता छ,” नेदरल्यान्ड्ससँगको हारपछि उनी भन्छन्।
लय गुमाएको नेपाल
केही साताअघिसम्म नेपाली टोली उत्कृष्ट लयमा थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमान, संयुक्त अरब इमिरेट्स (यूएई), स्कटल्यान्ड र अमेरिकाविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै नेपालले विश्वकप छनोटको यात्रालाई केही सहज बनाएको थियो।
लगत्तै एसियाली खेलकुद छनोटमा अपराजित रहँदै उपाधि जितेको नेपालले नेदरल्यान्ड्स प्रस्थानअघि न्यु जर्सीविरुद्धको दुई खेलको एकदिवसीय शृंखला पनि ‘क्लिन स्विप’ गर्दै उच्च मनोबलका साथ युरोप यात्रा गरेको थियो।
तर, नेदरल्यान्ड्स पुगेपछि नेपालको लय एकाएक खस्किएको छ। युट्रेच्टमा जारी लिग-२ शृंखलाका दुवै खेलमा नेपालको ब्याटिङ पूर्ण रूपमा निराशाजनक देखिएको छ। ५० ओभरका दुवै खेलमा टोलीले १६० रनको आँकडासमेत पार गर्न सकेन। फलस्वरूप नामिबियासँग आठ विकेट र घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्नुपर्यो।

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै कप्तान रोहितकुमार पौडेल।
लगातारको असफलतापछि कप्तान रोहितले पनि हारको मुख्य कारण ब्याटिङलाई नै मानेका छन्। “बोर्डमा ठूलो स्कोर नभए पनि बलरहरूले राम्रो संघर्ष गरेका छन्। तर, ब्याटिङ युनिटका रूपमा हामी पूर्ण रूपमा असफल भएका छौँ,” उनी भन्छन्।
नेपालको चिन्ताको मुख्य विषय शीर्षक्रमको प्रदर्शन बनेको छ। एसियन गेम्स छनोटमा दुई शतक प्रहार गर्दै उत्कृष्ट लयमा रहेका ओपनर कुशल भुर्तेलले यस शृंखलामा प्रभाव जमाउन सकेका छैनन्। अर्का ओपनर आसिफ शेख, ‘वान डाउन’ ब्याटर ईशान पाण्डे र कप्तान रोहित स्वयं पनि अपेक्षाअनुसार रन बनाउन असफल भएका छन्।
घरेलु शृंखलामा सानदार प्रदर्शन गर्दै मध्यक्रम धानेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो ब्याटबाट उल्लेखनीय योगदान दिन सकेका छैनन्। शीर्षक्रमसँगै मध्यक्रमले जिम्मेवारी वहन गर्न नसक्दा नेपाल दुवै खेलमा समान १५७ रनमा सीमित भयो। यसको प्रत्यक्ष असर नतिजामा परेको छ।
अब नेपाललाई खेलमा फर्किन यी ब्याटर लयमा आउनुको विकल्प छैन।
सहज छैन नामिबिया
नामिबियाविरुद्ध नेपालको इतिहास धेरै उत्साहजनक छैन। एकदिवसीय क्रिकेटमा यी दुई टोली पहिलो पटक ११ जुलाई २०२२ मा स्कटल्यान्डमा लिग-२ अन्तर्गत आमनेसामने भएका थिए। त्यस खेलमा २२० रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८० रनमा समेटिँदै ४० रनले पराजित भएको थियो।
त्यस टोलीका कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने अहिले पनि नेपाली टोलीका मुख्य सदस्य हुन्। तर, तिनै अनुभवी खेलाडी टोलीमा निरन्तर रहँदा पनि नामिबियाविरुद्ध नेपालको प्रदर्शनमा खास सुधार आउन सकेको छैन।
पहिलो भेटयता दुवै टोलीबीच आठ एकदिवसीय खेल भएका छन्। तीमध्ये एक खेल नतिजाविहीन रहँदा नेपालले दुई खेलमा मात्र जित हात पारेको छ भने पाँच खेलमा हार बेहोरेको छ। अर्थात् पछिल्ला चार वर्षमा नामिबियाले नेपालविरुद्ध स्पष्ट दबाब कायम राखेको देखिन्छ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी।
नेपालले नामिबियाविरुद्धका दुवै जित भने १४ र १८ फेब्रुअरी २०२३ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग-२ शृंखलामा निकालेको थियो। त्यसबेला एकदिवसीय मान्यता जोगाउन जित्नैपर्ने दबाबमा रहेको नेपालले १२ मध्ये ११ खेल जितेको ऐतिहासिक यात्राकै क्रममा नामिबियालाई पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो।
रोचक पक्ष के छ भने, ती दुई हारले नामिबियालाई पनि ठूलो धक्का दिएको थियो। उक्त चक्रको अन्त्यमा नामिबिया ३९ अंकसहित चौथो स्थानमा रहँदै नेपालभन्दा एक अंकले पछाडि परेको थियो।
अहिलेको २०२४-२०२७ को लिग-२ चक्रमा पनि दुवै टोली ३०-३० खेलपछि समान २४ अंकमा छन्। यद्यपि, नेट रनरेटमा पछि परेकाले नामिबिया नेपालभन्दा तल छ।
यही कारण सोमबार हुने नेपाल-नामिबिया भिडन्त दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा पुगेको छ। लगातारको निराशाजनक नतिजापछि विश्वकप छनोट प्रतियोगितामा सिधै पुग्ने झिनो सम्भावना जोगाइराख्न दुवै टोलीलाई जितको विकल्प छैन।
यी दुई टोलीभन्दा अगाडि ३१ अंकसहित ओमान छ। त्यस्तै, २८ खेल खेलेको क्यानडाको पनि २४ अंक छ। नेपालभन्दा ६ खेल कम खेलेको यूएईको खातामा १४ अंक छ। यस्तो अवस्थामा सोमबार हुने भेट दुवै टोलीका लागि अंकतालिकाको प्रतिस्पर्धासँगै मनोवैज्ञानिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ।
नामिबिया पनि उत्कृष्ट लयमा छैन। नेदरल्यान्ड्स आउनुअघि स्कटल्यान्डमा सम्पन्न लिग-२ शृंखलामा उसले घरेलु टोली स्कटल्यान्ड र ओमानसँग प्रतिस्पर्धा गरेको थियो। तर, उक्त शृंखला नामिबियाका लागि निराशाजनक रह्यो।

नेट अभ्यास गर्दै ओपनर आरिफ शेख।
ओमानसँग पाँच बल बाँकी छँदै तीन विकेटले पराजित भएको नामिबियाको स्कटल्यान्डविरुद्धको एक खेल वर्षाका कारण नतिजाविहीन रह्यो। अर्को खेलमा उसले सात विकेटको एकपक्षीय हार बेहोरेको थियो। त्यसैले शीर्ष चारमा उक्लिने उसको प्रयास सफल हुन सकेन।
नेदरल्यान्ड्समा जारी शृंखलामा पनि नामिबियाले नेपालको कमजोर ब्याटिङको फाइदा उठाउँदै एक जित निकाल्नुबाहेक उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन। शनिबार घरेलु टोली नेदरल्यान्ड्ससँग भएको खेलमा उसले ५८ रनको फराकिलो हार बेहोरेको थियो।
लिग-२ को प्रतिस्पर्धा नामिबियाका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रावधानअनुसार लिग-२ का शीर्ष चार टोलीले एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
अर्को वर्ष दक्षिण अफ्रिका र जिम्बाबेसँग संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको नामिबियाले आयोजक राष्ट्रका रूपमा स्वतः विश्वकप खेल्ने अवसर पाएको छैन। त्यसैले विश्वकप पुग्ने उसको बाटो पनि छनोट प्रतियोगितामै निर्भर छ।

त्यसका लागि लिग-२ मा शीर्ष चारभित्र रहनु अनिवार्य भएकाले नामिबियालाई पनि उत्तिकै दबाब छ। अंकतालिकामा अपेक्षाअनुसार नतिजा निकाल्न नसक्दा उसको विश्वकप यात्रा अझै अनिश्चित छ। त्यसैले नेपालविरुद्धको खेल नामिबियाका लागि पनि शीर्ष चारको दौडमा टिकिरहने अवसरका रूपमा हेरिएको छ।
यही कारण सोमबार हुने नेपाल-नामिबिया भिडन्त दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा पुगेको छ। लगातारको निराशाजनक नतिजापछि विश्वकप छनोट प्रतियोगितामा सिधै पुग्ने झिनो सम्भावना जोगाइराख्न दुवै टोलीलाई जितको विकल्प छैन।