काठमाडौँ। प्रथम काठमाडौँ खेलमण्डल(एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिप हुने भएको छ।
काठमाडौँ खेल मण्डल, न्युरोड टिम (एनआरटी) ले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा नेपालका उत्कृष्ट १६ स्नुकर खेलाडीको सहभागिता रहनेछ।
मास्टर्स स्नुकर च्याम्पियनसिप १३ साउनमा २३ साउनमा समापन हुनेछ। प्रतियोगिताका विजेतालाई नगद एक लाख ११ हजार १११ सहित च्याम्पियन ट्रफी प्रदान गरिने काठमाडौँ खेल मण्डल, न्युरोड टिम (एनआरटी) का महासचिव सतिशकृष्ण श्रेष्ठले जानकारी दिए।
त्यस्तै उपविजेतालाई ५१ हजार रुपैयाँसहित ट्रफी र सेमिफाइनलिस्टद्वयलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने उनको भनाइ छ। साथै सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार रुपैयाँ दामाशाही र ८० अंकभन्दा बढी उच्च अंक ब्रेक गर्नेलाई नगद २० हजार रुपैयाँ दामाशाही र ट्रफी प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिए।
खेलको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ च्याम्पियनसिपको आयोजना गरिएको आयोजकको दाबी छ।