टिप्पणी
‘दुलाहा आयो दुलही लिन, जन्ती आए किन?’ भनेजस्तै कानुन चाहिँदा राष्ट्रपतिकहाँ भटाभट अध्यादेश पठाइने र छाप लागेर आउने भएपछि संसद् चाहियो किन?
सानो छँदा हजुरआमाबाट सुनेको ‘दुलाहा आयो दुलही लिन, जन्ती आए किन?’ भन्ने प्रश्नको उत्तर आजसम्म चित्तबुझ्दो गरी पाएको छैन। पछि नेपाली लोकसाहित्यका पुस्तक/लेखहरूमा ‘बिहेको प्रश्नोत्तरी’ वा ‘मड्यौली खेल’ जस्ता शीर्षकमा यसको अघिल्लो अंश र यस्तै अरू अंश पनि पढ्न पाएँ। यो नेपाली समाजमा बिहेको समयमा दुलाहा पक्ष र दुलही पक्षबीच गाइने प्रश्नोत्तर शैलीको लोककविता रहेछ। बिहे चलिरहेको समयमा संस्कार र व्यवस्थापन पक्षमा लाग्नुनपर्ने व्यक्तिहरू बसेर यस्तो कविता भन्ने चलन हुँदो रहेछ। अहिले चल्तीमै रहेको दोहोरी गीत जस्तो दुई पक्षबीच गाइने यो कविता एकअर्कालाई होच्याउने, एकअर्काको बुद्धि र वाक्चातुर्य जाँच्ने र मनोरञ्जन लिने माध्यम रहेछ। यो कविताको एउटा अंश यस्तो छ:
दुलही पक्ष:
कता पर्यो मालमधेस कता पर्यो चीन
दुलाहा आयो दुलही लिन जन्ती आए किन?
दुलाहा पक्ष:
दक्खिन पर्यो मालमधेस उत्तर पर्यो चीन
दुलाहा आयो दुलही लिन जन्ती भतेर खान।
मौखिक परम्परामा चल्ने र तुरुन्तै उत्तर दिनुपर्ने भएको हुनाले यस्तो कविताका अनेकौँ भेद हुनु स्वाभाविक हुन्छ। त्यसैले मैले यहाँ दिएका श्लोकमा यस्तो होइन यस्तो हो भन्ने अनेक प्रतिक्रिया आए भने अनौठो मान्नु पर्दैन। मैले सुरुमै दिएको अंश भने सबैजसो भेदमा सुन्न पाइन्छ। मलाई अहिले पनि सोच्न बाध्य पार्ने अंश चाहिँ ‘जन्ती आए किन?’ भन्ने हो। जन्ती किन आउँछन् (वा जान्छन्) भन्ने कुरा मैले अहिले पनि बुझेको छैन। जन्ती भतेर खान आएका (वा गएका) हुन् भन्ने कुरा पत्याउन म अझै तयार भएकै छैन। तिनको केही न केही काम त होला, तर मलाई थाहा छैन। त्यसैले जन्तीको केही काम छैन भन्ने आफ्नो निष्कर्षमा म टसमस छैन। त्यसो भए कामै नभएका जन्ती किन आए त?
यसैमाथि फेरि अर्को प्रश्न थपिएको छ। नेपालमा भर्खरै संसद्को चुनाव भयो। झन्डै दुई तिहाइ पुग्ने गरी एउटा दलले जित्यो। बिचमा अलिअलि के-के खस्याङखुसुङ पनि गर्यो। राष्ट्रपतिलाई संसद्को अधिवेशन बोलाउन लगायो। बडो जुक्ति लगाएर राष्ट्रपतिले संसद्को अधिवेशन बोलाई पनि दिए। बोलाउन भ्याएकै थिएनन् फेरि अधिवेशन रोक्न पठाए। फेरि जुक्ति लगाएर राष्ट्रपतिले अधिवेशन रोकिदिए। अब परेन फसाद! सारा सांसद बेरोजगार! एक हुल सांसद सीडीओ अफिसमा धर्ना बस्न गए। पुरानो संसद्ले बनाएको मर्यादाक्रम मान्न मिलेन, नयाँले बनाएकै छैन।
धन्न अस्तिताका सरकार र संसद् फाल्दा राष्ट्रपति चाहिँ जोगाएर राखेछन् र अहिले काम लाग्या छ।
हुन त आफ्नै दलको भए पनि प्रधानमन्त्री-गृहमन्त्रीलाई देख्न सामाजिक सञ्जालै चहार्नुपर्ने भएपछि आफ्नो पहुँचमा हुन सक्ने केन्द्रीय सरकार (संघीय भन्न कसैगरी पनि नमिल्ने देखिएको हुनाले)को सबैभन्दा माथिल्लो प्रतिनिधिकहाँ जाने मात्रै विकल्प बचेको पनि हुन सक्छ। कोही हेडमास्टर थर्काउन गए। नानीदेखि लागेको बानी जे थियो त्यही गरे, केही बिराएनन्। एकाध सांसद उठिबास लागेका सुकुम्बासीका चुहिने पालमुनि पनि देखिए। संसद् र दलमा आफ्नो हैसियत पनि यस्तै हो भन्ने राम्ररी बुझेको देखियो यिनले। कम्तीमा दुई तिहाइमा एकाध यत्तिका बुझ्झकी निस्कनु पनि कम्ती खुसीको कुरा हो र!
उता सरकार संसद् अधिवेशन रोकेपछि थ्री नट थ्री राइफल पड्काए जस्तो गोडा दुई अध्यादेश राष्ट्रपति कार्यालयतिर हुत्याउँछ, एकछिन बिसाउँछ फेरि गोडा तिनेक फाल्छ। एवम् रीतले केही दिनको बीचमै सातआठ अध्यादेश राष्ट्रपतिकहाँ पुर्याउँछ। धन्न अस्तिताका सरकार र संसद् फाल्दा राष्ट्रपति चाहिँ जोगाएर राखेछन् र अहिले काम लाग्या छ।
संविधान संशोधन गर्ने भन्ने हल्ला पनि छ, त्यसका लागि साझा बहसपत्र तयार पार्न सरकारले कार्यदल गठन पनि गरिसकेको छ क्यार। प्रदेश राख्ने कि फाल्ने भनेर मान्छे दुईपट्टि उफ्रेका छन्। प्रदेश किन राख्ने भनेर उहिल्यै त्यो राख्नेहरूलाई सोध्नुपर्थ्यो, भ्याइएनछ। फाल्नुपर्छ भन्नेहरू चाहिँ खर्चिलो भयो भनेर फाल्ने भन्दा रहेछन्। मलाई चाहिँ यो प्रदेशतिर के अलमलिनु ठूला मान्छेले ठूलै कुरा गर्नुपर्छ भन्ने लागेर चुपचाप बसेको थिएँ। अध्यादेशको बाढीले टाउकामा के छिराइदियो:
कता पर्छ मालमधेस कता पर्छ चीन
मन्त्री चाहियो शासन गर्न, सांसद चाहियो किन?
यसो हेर्दा ती जन्ती र यी सांसदको भूमिका उस्तै छ नि त। तिनको पनि काम छैन, यिनको पनि छैन। मुलुकमा गोडा पन्ध्रेक थान मन्त्री (तिनको एउटा मुखिया त भई नै हाल्छ) र एउटा राष्ट्रपति भएपछि देश त यसै चल्दो रैछ। कानुन चाहियो भने राष्ट्रपतिकहाँ भटाभट अध्यादेश पठायो उताबाट फटाफट छाप लागेर आउँछ। संसद्को के काम! त्यसैले अब प्रदेश चाहिन्छ कि चाहिँदैन भन्ने बहस गर्ने समय छैन, संसद् नै फाल्दिऊँ खर्च पनि बच्छ, हर्जा पनि छैन। होइन भने उत्तर दिनुहोस्- सांसद चाहियो किन?