शिक्षा
कक्षा ४ र ५ मा आन्तरिक मूल्यांकन विधिबाट विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्ने मार्गदर्शन तयार
सरकारले कक्षा ४ र ५ का विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्न मार्गदर्शन तयार पारेको छ। गत २६ वैशाखमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको ‘आधारभूत तह कक्षा ४-५ मा विद्यार्थी मूल्यांकन मार्गदर्शन, २०८३’ मा विभिन्न आधारबाट विद्यार्थीको आन्तरिक मूल्यांकन गरिने उल्लेख छ।
जसमा कक्षागत उपस्थिति, लिखित तथा मौखिक अभ्यास, परियोजना तथा प्रयोगात्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत अभिलेख, स्व र सहपाठी मूल्यांकन तथा अभिभावकको प्रतिक्रियालगायतलाई आधार बनाइने भनिएको छ।
१३ चैत २०८२ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीको एउटा बुँदामा कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य नयाँ शैक्षिक सत्रदेखि बन्द गर्ने र उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार पार्ने उल्लेख थियो। यसैअनुसार कक्षा ४ र ५ का विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने मार्गदर्शन ल्याइएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरे बताउँछन्। भन्छन्, “मूल्यांकनको विधि र प्रक्रियालाई बालमैत्री बनाइएको छ।”
तयार पारिएको मार्गदर्शन चालु शैक्षिक सत्रबाट देशभरिका विद्यालयमा एकैसाथ लागु गरिँदै छ। यसको प्रभावकारी कार्यान्वयनका लागि अन्तरक्रियात्मक कार्यक्रम आह्वान गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले ३० वैशाखमा सूचना जारी गरेर गुगल मिट वा जुमबाट २ देखि ४ जेठसम्म सबै विषयमा कक्षा ४ र ५ का विद्यार्थीको मूल्यांकन मार्गदर्शनबारे प्रबोधीकरण गर्ने कार्यक्रम राखेको छ। “कार्यक्रममा मार्गदर्शन कार्यान्वयनका लागि चाहिने सैद्धान्तिक आधार र सीप सिकाउने उद्देश्य राखिएको छ,” केन्द्रका निर्देशक घिमिरे भन्छन्।
कक्षा ४ र ५ मा सरकारले यसअघि नै आंशिक रूपमा भने आन्तरिक मूल्यांकन लागु गरिसकेको थियो। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा ४ र ५ मा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्यांकनको व्यवस्था गरेको थियो।
कक्षा १ देखि ३ सम्म भने शतप्रतिशत आन्तरिक मूल्यांकनबाटै सिकाइ उपलब्धि मापन हुँदै आएको छ। जसमा कक्षाकार्य, सिकाइ क्रियाकलापमा सहभागिता, परियोजना कार्य, सिर्जनात्मक कार्य, गृहकार्य, उपलब्धि परीक्षा, हाजिरी, अनुशासन, व्यवहार परिवर्तनको अवलोकन आदिका माध्यमले आन्तरिक मूल्यांकन गर्ने पद्धति छ।
कक्षा ४ र ५ मा समेत शतप्रतिशत आन्तरिक मूल्याकंन नै लागु गरिएपछि अब कक्षा ५ सम्मको पढाइ लिखित परीक्षामुक्त हुने भएको छ। कक्षा १ देखि ५ सम्मका प्रारम्भिक कक्षामा मूल्यांकनका नाममा लिइने औपचारिक प्रकृतिका परीक्षाले बालबालिकामा शैक्षिक तनाव सिर्जना गर्ने भएकाले शतप्रतिशत आन्तरिक मूल्यांकनमा केन्द्रित गरेको घिमिरे बताउँछन्।
शिक्षाविद् र सरोकारवालाहरू भने आन्तरिक मूल्यांकनलाई प्रभावकारी कार्यान्वयन गर्न नसके सिकाइ उपलब्धि झन् खस्किने बताउँछन्। शिक्षाविद् विद्यानाथ कोइराला सिकाइ मूल्यांकनमा शिक्षक संवेदनशील नभए मूल्यांकन विधिको अर्थ नहुने बताउँछन्। “कक्षा १ देखि ३ सम्म आन्तरिक मूल्यांकन विधि पहिल्यै लागु भइसकेको छ, शिक्षकले पालना गरे र? कक्षा ४ र ५ मा पनि १ देखि ३ कक्षाकै मूल्यांकन प्रणाली हुबहु सारिएको छ,” उनी भन्छन्, “यो कागजी कामका लागि त ठीक भयो, व्यावहारिकतामा कमी छ।”
विद्यार्थीको निरन्तर सिकाइ मूल्यांकन र पृष्ठपोषणमा शिक्षक इमानदार र जिम्मेवार हुनुपर्ने उनी सुझाव दिन्छन्। “शिक्षकले मेरो जिम्मा हो, मैले गर्नुपर्छ भन्ने ठानेर मूल्यांकन गरेमा प्रभावकारी हुन्छ। सरकारले लगाएको काम हो, गरिदिऊँ न त भन्ने हो भने अर्थ छैन,” उनी थप्छन्।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक घिमिरे भने नयाँ शिक्षकले विश्वविद्यालयको पढाइबाट सिकेर आउने र सेवारत शिक्षकलाई तालिम दिएर नयाँ पद्धतिको मूल्यांकनका लागि तयार पारिने बताउँछन्।