काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २१ फागुनमा हुने निर्वाचन तथा पार्टीको १५औँ महाधिवेशनसम्बन्धी औपचारिक निर्णय केन्द्रीय समिति बैठकले लिने बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १३ कात्तिकबाट सुरु हुने केन्द्रीय समिति बैठकले चुनाव, पार्टी अधिवेशन र देशको वर्तमान अवस्थाबारे औपचारिक निर्णय घोषणा गर्ने बताए।
यद्यपि, नेपाली कांग्रेस चुनावका लागि भने सधैँ तयार रहेको उनले बताए। “हामी पार्टीको अधिवेशन, चुनाव, र देशका हालका गम्भीर समस्यासम्बन्धी केन्द्रीय समितिबाट आधिकारिक निर्णय गर्नेछौँ। यसका साथै, विगतका कमजोरीहरूको आत्मस्वीकार, नयाँ विश्वास र भरोसाका साथ, देश र परिवर्तनप्रतिको जिम्मेवारी वहन गर्ने हाम्रो उद्देश्य र प्रतिबद्धतासहित विभिन्न निर्णयहरू सार्वजनिक गरिनेछन्। त्यसपछि मात्र नेपाली कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुनेछ, र सबैले त्यसलाई नै पार्टीको आधिकारिक मतका रूपमा लिनुपर्नेछ‚” उनले भने।
कार्यवाहक सभापति खड्काले प्रहरीबाट लुटिएका हतियारहरू अहिलेसम्म फिर्ता भइनसकेको र भागेका कैदीहरूलाई अझै नियन्त्रणमा ल्याउन नसकेको विषय पनि उजागर गरे। “प्रहरीहरूको मनोबल इतिहासमै पहिलोपटक यति तल्लो स्तरमा पुगेको छ। यस सम्पूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सरकारले निर्वाचन घोषणा गरेको हो। अब सरकारले परिवर्तनको माध्यमबाट प्रहरीको मनोबल उच्च बनाउनुपर्छ। सुरक्षाकर्मीहरूको आत्मबल बढाउनुपर्छ‚” उनले भने।
खड्काले आगामी चुनावमा भाग लिनका लागि राजनीतिक दलहरूमा सरकारले उत्साह जगाउनुपर्ने र आम मतदातामाझ सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्नुपर्ने धारणा पनि राखे।
उनले आफ्ना नेताहरूमाथि विभिन्न आरोप लागिरहेको भन्दै कानुनी प्रक्रियाअन्तर्गत हुने छानबिन वा अनुसन्धानमा पूर्णरूपमा सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारे। “हाम्रो पार्टी खुला र पारदर्शी छ। तर, पूर्वाग्रहपूर्ण ढंगले आरोप लगाउने, भ्रम फैलाउने वा अन्यलाई कमजोर देखाउने प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण कुरा हो। सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूबाट यस्ता अभिव्यक्ति आउनु अझै दुःखदायक छ। त्यसप्रति म यस सभामार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु‚” उनले भने।