वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच एकताको आह्वान
काठमाडौं। नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए।
समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवादी क्रान्तिको प्रारम्भिक संकेत’का रूपमा व्याख्या गरे। उनले भने, “२३ र २४ भदौका घटनाक्रमले देखाएको छ- क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”
उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्तिप्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे। “हाम्रो निरन्तरको प्रयासमा सहिद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने।
दाहालले जनयुद्ध र जनआन्दोलनका क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गरे। उनले भने‚ “हामीले त्यतिबेलै भनेका थियौं- नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।” उनका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ। “हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं- क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,” उनले भने।
जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ भन्ने पुष्टि भयो।
दाहालले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरे। “हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ- समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उनले भने।
उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वानसमेत गरे। गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुँजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताए। इतिहासको समीक्षा गर्दै उनले भने,“संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो।”
एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाइ छ। दाहालले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच बृहत् एकताको आवश्यकता औंल्याए। उनले भने‚ “अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन- प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो।”
शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन निरन्तर प्रयास जारी छ।
उनले सहिद प्रतिष्ठान नेपाललाई सहिद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्तिप्रक्रियाका बाँकी कामको खोजीमा सक्रिय हुन निर्देशन पनि दिए। उनले भने,“म विश्वास गर्छु- यो साधारणसभाले फेरि जनताको तागतलाई केन्द्रित गर्नेछ, सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ। म संरक्षकको हैसियतले यो अभियानमा सहयोग गर्नेछु।”