काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई आर्थिक हिसाबलेभन्दा पनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन्।
नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा शनिबार उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षाभन्दा पनि प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुपर्ने धारणा राखे।
उनले आफ्नो क्षमताअनुसार काम र कर्तव्य पूरा गर्ने कोसिस गरेको भन्दै एनपीएलको दोस्रो संस्करण सकिएपछि यसको मूल्यांकन गर्ने बताए।
पुरस्कार राशि नबढ्ने
एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि नबढ्ने भएको छ। क्यानका सचिव खड्काका अनुसार पहिलो संस्करणको पुरस्कार राशिलाई यसपल्ट पनि निरन्तरता दिइएको हो। त्यसैगरी प्रतियोगिताको उपविजेताले ५१ लाख रुपैयाँ पाउनेछन्। तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुने टोलीले १५ लाख प्राप्त गर्नेछ।
पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले एक करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाएको थियो। त्यस्तै तेस्रो स्थान हासिल गरेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ हात पारेको थियो।
एनपीएलको तयारी पूरा
सचिव खड्काका अनुसार पर्सि (सोमबार) देखि २७ मंसिरसम्म हुने एनपीएलको सबै तयारी पूरा भएको छ। एनपीएलमा विभिन्न आठ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ।