सात सवाल
नेपाली महिला भलिबलकी ‘लिबेरो’ खेलाडी हुन्– शान्तिकला तामाङ। राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लब दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने उनी रिसिभ र ब्याक-डिफेन्समा विशेष दक्ष, चुस्त र भरोसायोग्य खेलाडी मानिन्छिन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी छन्।
भलिबलसँगै संगीतप्रति पनि उनको विशेष लगाव छ। सानैदेखि गीत गाउने रहर पालेकी उनी एफएममा बज्ने गीत सुनेर मेलापात, घाँसदाउरा गर्न जाँदासमेत गुनगुनाउँथिन्। सन् २०२४ मा उनले आफ्नै पहिलो गीत ‘भन को हौ?’ सार्वजनिक गरिन्। उनीसँग नेपालन्युजले गरेको संगीत संवाद :
१) सबैभन्दा मन पर्ने गीत?
‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ एकदमै मन पर्छ।
२) मन पर्ने गायक, गायिका र संगीतकार?
गायकमा राजु लामा, गायिकामा अन्जु पन्त र संगीतकारमा अर्जुन पोखरेल।

शान्तिकला तामाङ
३) आफ्नै गीत रेकर्ड भएपछि पहिलोपटक सुन्दाको अनुभव?
हुन त म भलिबल खेलाडी। फरक क्षेत्रमा हात हाल्नु नै नौलो अनुभव हो। आफ्नै गीत सुनेर मक्ख परेँ, आत्मविश्वास पनि बढ्यो।
४) गीत सुनेर रुनुभएको छ?
स्वरूपराज आचार्यको स्वरको ‘सधैँ रोइरहेको छु, हाँस्ने दिन कहिले आउला’ गीत सुनेर निकै भावुक भएकी थिएँ।
५) उदास भएको बेला तपाईंलाई हँसाउने गीत छ कुनै?
त्यस्तो त कुनै छैन।
६) कस कसको कन्सर्टमा जानुभएको छ?
अहिलेसम्म कसैको कन्सर्टमा गएकी छैन।

शान्तिकला तामाङ
७) गीत सुनेर भेट्न मन लागेको कुनै गायिका/गायक?
सम्भव भएको भए नारायण गोपाल र अरुणा लामालाई भेट्ने रहर थियो। तर, अब त्यो सम्भव नै छैन।