सात सवाल
पुष्पा भण्डारी लामो दूरीका दौडमा सक्रिय धावक हुन्। उनी १० हजार मिटर तथा म्याराथनजस्ता कठिन स्पर्धामा उत्कृष्ट प्रदर्शनका लागि परिचित छिन्।
बङ्गलादेशमा हुने बङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा सन् २०२१ र २०२३ मा स्वर्ण पदक उनले जितेका प्रमुख उपलब्धिमध्ये पर्छन्। जीवनका अनेक प्रतिस्पर्धा जित्दै अघि बढेकी प्रेरणादायी युवा खेलाडी उनै पुष्पासँग नेपालन्युजले गरेको ‘जित–हार’ संवाद।
तपाईंले जीवनमा भोगेको सबैभन्दा ठूलो असफलता के हो?
जीवनमा धेरै असफलता चाखेपछि बल्ल सीमित सफलता हात पर्छ। उचाइकै कारण जागिर खान गाह्रो भयो। नवौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गर्ने बेला खुट्टा भाँचिएपछि खेल नै छोड्नु पर्यो।
हारले के सिकाउँछ?
यसले प्रयास, क्षमता र आवश्यक तयारीको कुरा सिकाउँछ।

शेख मुजिव ढाका म्याराथनमा स्वर्ण जितेपछि पुष्पा भण्डारी।
असफलतापछि आफूलाई के कसरी हौसला दिनुहुन्छ?
असफलताको करण पत्ता लगाएर अर्को प्रयासमा सुधार्ने कोसिस गर्छु।
जितेपछि हार्नु र हारेपछि जित्नुमा के फरक छ?
यो भनेको समय र शरीर एकनास हुँदैन भन्नु हो। हारपछि जित्नु भनेको अर्को प्रयास नै सफलता वा जित रहेछ भन्ने बुझ्नु हो।
तपाईंका लागि सफल हुनु भनेको के हो?
आफ्नो लक्ष्य, सपना र उद्देश्य सफल हुनु नै हो।
मान्छेलाई जीवनमा सफल हुन चाहिने तीन कुरा?
लगातार प्रयास, एक लक्ष्य र असफलतापछि पनि मिहिनेत गर्न नछाड्ने जुनुन।
जीवन एउटा दौड हो भने विश्राम के हो?
जीवन एउटा भागदौड हो। एक ठाउँमै बसेर सफलता हात पार्न सकिँदैन। विश्राम भनेको चाहिँ मृत्यु नै होला।