काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
समीर अली
अ+
अ-

भैरहवा। नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले समीर अली मुसलमानलाई ‘आइकोनिक प्लेअर’को रूपमा छनोट गरेको छ। लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समीर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक खेलाडीको रूपमा छनोट भएका हुन्।

कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित उत्कृष्ट तीन खेलाडी छनोट गरिएको हो।

आइकोनिकको रूपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडल अर्डरमा ब्याटिङ गर्छन्। उनले लुम्बिनी प्रदेशबाट यू-१८ र यू-१६ प्रतियोगितासमेत खेलेका छन्।

यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको ‘हिरो’ खेलाडीको रूपमा छनोट भएका छन्। अब समीर अली लुम्बिनी लायन्सको मुख्य स्क्वाडमा समावेश हुनेछन् भने आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन्।

ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडी सहभागी रहेको र त्यसमा अभ्यास खेलहरू खेलाएर ‘आइकोनिक प्लेअर’ छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए। “हामी ट्यालेन्ट हन्टका लागि एक सयजना जति खेलाडी छानेर केही अभ्यास म्याचहरू खेलायौँ। त्यसबाट उत्कृष्ट खेलाडी आइकोनिक प्लेअरको रूपमा छनोट गरेका छौँ। उनीहरू नयाँ छन् तर धेरै सम्भावना छ। आशा छ भविष्यमा राम्रो गर्नेछन्”, गौचनले भने।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यसपटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षण गरिरहेको छ। एनपीएल दोस्रो संस्करण टीयू मैदानमा फ्लडलाइटमा हुने भएकोले लुम्बिनी लायन्स टिमले एक्स्ट्राटेकमा फ्लडलाइटमा प्रशिक्षण गरिरहेको छ।

लुम्बिनीले विदेशी खेलाडीमा अस्ट्रेलियाका डार्सी सर्ट, अफगानिस्तानका गुल्बादिन नइब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ भने बाँकी विदेशी खेलाडी चाँडै सार्वजनिक गरिने जनाएको छ।