काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

टिप्पणी

सत्ता र शक्तिलाई पुनः आफ्नै सिन्डिकेटमा फर्काउने मनसायले भएको देउवा-ओलीको भेट जेन-जी आन्दोलनप्रतिको अपमान हो।

२३ मंसिर २०८२
१९ मंसिर २०८२ मा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता। तस्बिर : केपी शर्मा ओलीको सचिवालय
अ+
अ-

२३-२४ भदौको जेन-जी आन्दोलनमा सुरक्षाकर्मीको सहयोगमा ज्यान जोगाउन हेलिकोप्टर चढेर मकवानपुर पुगेका थिए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली। आन्दोलनकारीको सांघातिक आक्रमणपछि थिलथिलो भई बाँचेका सत्ता गठबन्धनका सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। सरकार विघटन, संसद् भंग र सुशीला कार्की नेतृत्वमा नयाँ चुनावी नागरिक सरकार गठन।

जेन-जी आन्दोलनसिर्जित नयाँ राजनीतिक परिस्थितिमा समयावधि सकिएका ठानिएका यी दुई नेता आन्दोलनको तीन महिना लाग्न लाग्दा १९ मंसिरमा देउवानिवास महाराजगन्जमा कुराकानी गरिरहेको तस्बिर सार्वजनिक भयो। जेन-जी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीद्वयको यो पहिलो औपचारिक भेटघाट थियो। सपत्नी देखिएका उनीहरूले सौहार्दता साटासाटका लागि भेट भएको भन्दै हाँस्दै तस्बिर पनि खिचे।

तर, त्यो भेटलगत्तै २१ मंसिरमा कांग्रेसले सर्वोच्चमा संसद् पुन:स्थापना माग्दै रिट दायर गर्‍यो। कांग्रेसका आठ सांसदको यो प्रयास पार्टीको संस्थागत निर्णयको विरुद्ध थियो।

देउवासँगको भेटमा ओलीले ‘संसद् पुन:स्थापना भए तपाईं नै प्रधानमन्त्री’ भनेर आश्वासन दिएको सहजै बुझ्न सकिन्छ। किनकि, ओली कार्की नेतृत्वको नयाँ सरकारलाई असंवैधानिक मात्र भनिरहेका छैनन्, संसद् पुन:स्थापना माग्दै सर्वोच्चमा रिट नै दायर गरेका छन्। ओलीको यही अडान र आश्वासनले नै हुनुपर्छ, बुढ्यौलीका कारण राजनीतिबाट निवृत्ति लिन तयारझैँ देखिएका देउवा एक्कासि पार्टी केन्द्रीय कमिटीको निर्णयविपरीत संसद् पुन:स्थापनामा लोभिएका हुन सक्छन्।

१९ मंसिर २०८२ मा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आर्जु राणा तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यबीच भएको भेटवार्ता। तस्बिर : केपी शर्मा ओलीको सचिवालय

देश २१ फागुनमा तय निर्वाचनको माहोलमा छ। नयाँ आठ लाख मतदाता थपिएका छन्। निर्वाचन तयारीका सुरुआती काम निर्वाचन आयोगले सकिसकेको छ। सम्भावित उम्मेदवारहरू मतदाता भेट्दै छन्, युवा उत्साहित छन्। यसपटक पुराना यथास्थितिवादीहरूलाई बढारेर नयाँ नेपाल बनाउने सपना उनीहरूसँग छ।

जेन-जी आन्दोलनले यी दुवै वृद्ध नेतालाई लखेटेको थियो। लाखौँ जनता सडकमा उत्रिए, ७६ जनाको ज्यान गयो, प्रधानमन्त्री ओलीले राजीनामा दिए, देउवाले सभापति पद छाडेर पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिए। तर, बीचको तीनमहिने अवधिमा यो पनि प्रस्ट हुँदै छ कि आन्दोलनले यी दुईको गठजोडलाई जरैदेखि उखेल्न सकेन।

सर्वोच्चमा अहिले संसद् पुन:स्थापनाका एकपछि अर्को रिट थपिएका छन्। एमाले पहिल्यै संसद् पुन:स्थापनाको पक्षमा थियो। ओलीसँगको भेटघाटपछि कांग्रेस पनि एमालेकै लाइनमा उभियो। यो संयोग होइन, समन्वय हो।

नतिजा यी बूढा नेताहरूमा सत्ताप्रतिको अभीप्सा पुन: जागेको छ। सत्ता बाँडफाँडमा जुटेका छन्। निर्वाचनमा जनताको अभिमत आफूविरुद्ध हुने संकेत पाएपछि उनीहरू अदालतको ढोका ढकढक्याउन दौडिएका छन्। भेटले स्पष्ट पारेको छ– देउवा र ओलीलाई जनादेश चाहिएको छैन, सत्ताको सिन्डिकेट चाहिएको छ।

कुनै बेला एकअर्कालाई सत्तोसराप गर्ने यी दुई नेता सत्ताका लागि फेरि ‘भाइ भाइ’ बन्छन्। कहिले देउवाले ओलीलाई सत्तारोहणमा साथ दिन्छन्, कहिले ओलीले देउवालाई। यी दुईलाई खेलाएर पटक पटक प्रधानमन्त्री बन्ने अर्को म्याजिक नम्बरवाला पुष्पकमल दाहाल।

पुष्पकमल दाहाल। तस्बिर : बिक्रम राई

नेपालमा पछिल्लो दशक तीन ठूला दलको सिन्डिकेटको शासन नै चल्यो। मुलुकमा ठूलो विध्वंस निम्त्यायो– युवा पलायन, भ्रष्टाचार, अस्थिरता, गरिबीको चक्र। तर, यी शीर्ष नेताहरू अझै पुरानै सिन्डिकेट कायम राख्न उद्यत छन्।

युवाले रोजगारी चाहेका छन्। अभिभावक चाहन्छन्– सन्तान विदेश जानु नपरोस्। महँगी नियन्त्रण होस्। स्वास्थ्य, शिक्षा सहज र निःशुल्क उपलब्ध होस्। हामीले तिरेको करको सदुपयोग होस्, नेताको गोजी नभरियोस्। नेताका सन्तानले मात्र होइन, हाम्रा सन्तानले पनि सबै क्षेत्रमा समान अवसर पाऊन्। स्थिर सरकार होस्, पाँच वर्षमा पाँच प्रधानमन्त्री फेरिने व्यवस्था होइन।

अबका मतदातामा अधिकतर युवा छन्। उनीहरूले परिवर्तनको स्वर बोलिरहेका छन्– यसपटक मतदाताले जेन-जी पुस्ताको भावना सुन्नेछन्। त्यही युवा आवाजबाट डराएरै देउवा र ओली मिल्न पुगेका हुन्।

संसद् पुन:स्थापना गरेर निर्वाचन रोक्ने, सत्तामा जाने, फेरि तालमेलको नाममा जनमत लुट्ने, पालैपालो सत्ता चलाउने उनीहरूको योजना छ। घरी वाम गठबन्धन, घरी कांग्रेस-वाम गठबन्धन। यी नेताहरूले यसअघि पनि ‘गठबन्धनलाई भोट नदिए देश डुब्छ’ भनेर जनतालाई डर देखाए। धेरै ठाउँमा जनताले मन पराएको उम्मेदवारलाई भोट हाल्नै पाएनन्। स्वतन्त्रहरू सीमित भए, साना दल सिद्धिए।

सर्वोच्चमा अहिले संसद् पुन:स्थापनाका एकपछि अर्को रिट थपिएका छन्। एमाले पहिल्यै संसद् पुन:स्थापनाको पक्षमा थियो। ओलीसँगको भेटघाटपछि कांग्रेस पनि एमालेकै लाइनमा उभियो। यो संयोग होइन, समन्वय हो। यदि संसद् फर्कियो भने फेरि ओली-देउवा गठबन्धन बन्छ, सत्ता बाँडिन्छ, जनताका समस्या ज्युँका त्युँ रहनेछन्।

मतदाताले यसपटक यी वृद्ध नेताहरूलाई माफ गर्नेछैनन्। उनीहरूले नयाँ पुस्तालाई मौका दिनेछन्। यो देश स्वार्थी बूढापाकाको बिर्ता होइन भन्ने सन्देश दिनेछन्।

जनतालाई अब साँचो अर्थमा विकास र परिवर्तन चाहिएको छ। अब पुराना अनुहार होइन, नयाँ र इमानदार अनुहार चाहिएको छ। अब तालमेलको त्रासले होइन, आफ्नो विवेकले भोट हाल्ने स्वतन्त्रता चाहिएको छ। जेन-जी आन्दोलनले सडकबाट पुराना नेताहरूलाई लखेट्यो, अब मतपेटिकाले यी नेताहरूलाई सधैँका लागि बिदा गर्नुपर्नेछ।

आउँदो निर्वाचनलाई केवल निर्वाचन होइन, जनताको विद्रोहको पर्याय बनाउनुपर्नेछ। जेन-जी आन्दोलनलाई संस्थागत गर्ने आन्दोलन – मतपेटिकाको जनआन्दोलन।

जेन-जी आन्दोलनका दौरान बानेश्वरमा जम्मा भएका युवा। तस्बिर : बिक्रम राई

अब बिउँझने समय आएको छ। देउवा-ओलीको भेटमा देखिएको कुटिल हाँसोले जेन-जीमा आक्रोश छाएको छ। पुराना दलहरू अझै नचेतेको अर्थमा मात्र होइन, पुन: राजनीतिको शक्तिमा आफू नै आउने उनीहरूको चलखेलले देशलाई फेरि पनि २३ भदौकै अवस्थामा नफर्काउला भन्न सकिन्न। यदि त्यही परिस्थिति दोहोरियो भने हिजो धन्न ज्यान जोगाएका यी नेताहरूको अब के जोगिएला? पहिलेजस्तै सेनाले जोगाइदेला? लोकतन्त्र रहला? संविधान बँच्ला?

मतदाताले यसपटक यी वृद्ध नेताहरूलाई माफ गर्नेछैनन्। उनीहरूले नयाँ पुस्तालाई मौका दिनेछन्। यो देश स्वार्थी बूढापाकाको बिर्ता होइन भन्ने सन्देश दिनेछन्। यो वास्तविकता मनन गरी नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नु देउवा, ओली, दाहाललगायतको दायित्व हो। नत्र त भन्नैपर्ने हुन्छ- विनाशकाले विपरीत बुद्धि!

– घिमिरे अधिवक्ता हुन्।