सात सवाल
नेपाललाई चिनाउने, नेपाली कथा र नेपाली संवेदनालाई विश्वसामु पुर्याउने सिनेमाहरूमा जोडिएर आफ्नो तर्फबाट सानै भए पनि योगदान दिन सकूँ भन्ने चाहना छ।
अमेजन प्राइम भिडिओमा २२ जेठमा रिलिज भएको सिरिज द पिरामिड स्किम यतिबेला ट्रेन्डिङमा छ। श्रेयंश पाण्डेय र आशिष आर शुक्लाले निर्देशन गरेको र टीभीएफले निर्माण गरेको यो वेबसिरिजको चर्चासँगै एक नेपाली युवा कलाकारसमेत दृश्यमा आए। उनी हुन्, झलनाथ खत्री। रंगमञ्च हुँदै सिनेमामा प्रवेश गरेका क्षेत्री हाल मुम्बईमा संघर्षरत कलाकार हुन्, जो त्यहाँका सडक नाटकहरूमा समेत सक्रिय छन्। द पिरामिड स्किममा गणेशको भूमिकामा अभिनय गरेर प्रशंसासमेत पाइरहेका उनै खत्रीसँग नेपालन्युजका लागि गरिएको सात सवाल :
१. तपाईंले अभिनय गरेको वेब सिरिज द पिरामिड स्किम चर्चामा छ, ट्रेन्डिङमा समेत आयो। कस्तो अनुभव भइरहेको छ?
ट्रेन्डिङ नम्बर १ मा देख्दा साँच्चै धेरै खुसी लाग्यो। अझ खुसीको कुरा, मेरो चरित्रलाई पनि दर्शकहरूले मन पराइरहनुभएको छ र सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ। विभिन्न भेटघाटमा मेरो कामको चर्चा गर्नेहरू भेटिएका छन्। यस्ता प्रतिक्रियाले कलाको सीमा नहुने रहेछ भन्ने कुरा अनुभव गर्न पाइरहेको छु।
अर्को महत्त्वपूर्ण कुरा पनि सिकाएको छ, सपना देख्न कहिल्यै छोड्नु हुँदैन। आफूले इमानदारीपूर्वक मिहिनेत गरेको छ भने हामी जहाँबाट आए पनि, जुन भाषा बोले पनि, संसारको जुनसुकै ठाउँसम्म पुग्न सक्छौँ भन्ने कुरा महसुस भइरहेको छ।
२. यसमा तपाईं गणेश पात्रको भूमिकामा देखिनुभएको छ। सिरिजमा यो पात्रको भूमिका कति महत्त्वपूर्ण छ? गणेशको स्क्रिन प्रेजेन्स कति समयको छ?
गणेश एउटा युवा हो, जो एक वृद्ध दम्पतीको हेरचाह गर्छ। छोरा-बुहारी जर्मनीमा बस्ने दम्पतीको सहारा नै गणेश हो। उनीहरू पनि गणेशलाई छोरासरह माया र विश्वास गर्छन्।
गणेश पिरामिड स्किमको जालमा फसेपछि कथामा ट्विस्ट आउँछ र उनीहरूको सम्बन्धमा पनि उतारचढाव देखिन्छ। कथाभित्रको महत्त्वपूर्ण चरित्रमध्ये एक यो पात्रको ‘क्यारेक्टर आर्क’ अर्थपूर्ण छ। स्क्रिन टाइमको हिसाबले यस शृंखलामा मेरो ३५-४० मिनेट उपस्थिति छ।
३. दाङको मान्छे, मुम्बईको फिल्म नगरीसम्मको यात्रा कसरी तय भयो?
फिल्म र अभिनयप्रति सानैदेखि मोह थियो। हाम्रो गाउँमा दुईतीन रुपैयाँ जुटाएर फिल्म हेर्न जानु नै ठूलो कुरा हुन्थ्यो। कहिलेकाहीँ फिल्म हेर्नकै लागि घरबाट पैसासमेत चोरियो।
बुबासँग एउटा सानो मोबाइल थियो, जसमा १०-११ सेकेन्ड मात्र भिडिओ खिच्न मिल्थ्यो। त्यही फोनमा साना साना दृश्यहरू खिचेर जोड्दै मैले आफ्नै शैलीमा फिल्म बनाउन थालेँ। एन्ड्रोइड फोन आएपछि साथीहरूसँग मिलेर छोटा भिडिओ बनाउने, आफूले हेरेका फिल्महरूबाट प्रभावित भई आफ्नै कथा तयार गर्न थाल्यौँ।
पछि परिवार काठमाडौँ आयो। गाउँ छोड्ने बेला साथीहरूलाई भनेको थिएँ, ‘फिल्म सिकेर गाउँ फर्किन्छु र गाउँमै फिल्म बनाउँछु।’ तर, काठमाडौँ आएपश्चात् फिल्म पढ्ने वा अभिनय सिक्ने आर्थिक अवस्था थिएन। आमाले बिहान सबेरै तरकारी ल्याएर सडकमा बेच्ने, दिउँसो सिंहदरबारको क्यान्टिनमा काम गर्ने र साँझ फेरि तरकारी बेच्ने गरेर परिवार धान्नुभएको थियो।
मैतीदेवीमा हामीले सानो चिया पसल चलाएपछि जीवन धान्न सहज भयो, तर फिल्म पढ्ने अवस्था अझै बनेको थिएन। म खसीको बोसो संकलन गरेर बेच्थेँ र त्यसबाट कमिसन पाउँथेँ। त्यही समयमा नियमित रूपमा पत्रपत्रिका, फिल्मसम्बन्धी लेख र म्यागेजिनहरू पढ्थेँ।
त्यतिबेला अभिनय सिक्न थिएटर नै मुख्य बाटो मानिन्थ्यो। भारतको नेसनल स्कुल अफ ड्रामाबारे सुनेपछि त्यहाँ पुग्ने सपना देख्न थालेँ। मैले कमाएको थोरै पैसा बचत गरेँ र २६ मे २०१८ मा रक्सौल हुँदै दिल्ली पुगेँ।

‘द पिरामिड स्किम’ को दृश्य।
हिन्दी राम्रोसँग आउँदैनथ्यो। बाँच्नका लागि होटलमा १२ घण्टा काम गर्न थालेँ। एकदिन ‘अस्मिता थिएटर ग्रुप’ को कार्यशालाबारे थाहा पाएर सहभागी भएँ। रातभरि काम गर्ने र दिउँसो थिएटर सिक्ने मेरो दिनचर्या बन्यो। त्यसरी थिएटर, स्ट्रिट प्ले र विभिन्न नाटक गर्दै अभिनयको अभ्यास जारी राखेँ।
लकडाउनमा नेपाल फर्किएँ। अस्कर अन्तर्राष्ट्रिय फिल्म कलेजमा अध्ययन गर्न थालेँ। पढाइसँगै छोटा फिल्म, नाटक र विभिन्न सिर्जनात्मक कामलाई निरन्तरता दिइरहेँ। केही समयपछि फेरि मुम्बई पुगेँ। त्यहाँको प्रतिस्पर्धा निकै ठूलो थियो। विभिन्न अडिसन दिएँ र एक समय त ‘अब नेपाल फर्किन्छु’ भन्ने सोच पनि आएको थियो। तर, करिब डेढ महिनापछि एउटा अडिसनमा छनोट भएको खबर आयो।
४. द पिरामिड स्किममा काम गर्दाको सबैभन्दा रमाइलो अनुभव?
द पिरामिड स्किनमा काम गर्दाको सबैभन्दा रमाइलो पक्ष भनेकै यति ठूलो प्रोजेक्टमा आबद्ध हुनु थियो। भ्यानिटी भ्यान, व्यवस्थित टिम, उत्कृष्ट सुविधा, फाइभ स्टार होटलमा बसाइ। यी सबै कुरा पहिलो पटक भइरहेको थियो।
सिरिजमा एउटा दृश्य छ जहाँ मेरो पात्रलाई घरबाट निकालिन्छ। त्यो दृश्यको तयारी गर्दै जाँदा म आफ्नो पात्रको अवस्थालाई साँच्चिकै महसुस गर्न थालेको थिएँ। मलाई यस्तो लाग्न थाल्यो कि म वास्तवमै घरबाट निकालिएको छु, मसँग कोही छैन। त्यो भावनाले यति गहिरो असर गर्यो कि दृश्य छायांकनका क्रममा म निकै भावुक बनेँ।
५. सिरिज सार्वजनिक भएपछि पाएको महत्त्वपूर्ण प्रतिक्रिया?
मेरो कामप्रति सबैभन्दा राम्रो प्रतिक्रिया निर्देशकहरू, क्रु सदस्यहरू र कास्टिङ निर्देशकहरूबाट आइरहेको छ। धेरैले खुलेरै प्रशंसा गर्नुभएको छ र भविष्य राम्रो हुने विश्वास व्यक्त गर्नुभएको छ। तर, मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको परिवारको खुसी हो।
विशेषगरी मेरी आमा, बुबा र दाइ धेरै खुसी हुनुहुन्छ। मेरो परिवारका सदस्यहरूको अनुहारमा छाएको खुसी नै मेरो जीवनको सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ हो।

‘द पिरामिड स्किम’ को दृश्य।
६. भारतको ठूलो ब्यानरमा काम पाउनु र त्यसले चर्चासमेत बटुल्नुले तपाईंको आगामी कला यात्रामा कस्तो अर्थ राख्छ?
अवश्य पनि ठूलो अर्थ राख्छ। यसले मलाई कला जहाँसुकै पुग्न सक्छ र कलाकारका लागि सम्भावनाका ढोका सधैँ खुला हुन्छन् भन्ने बुझाएको छ।
मलाई लाग्छ, यो म जस्ता धेरै कलाकारलाई सपना देखिरहन प्रेरित गर्ने अवसर हो। हाम्रो पृष्ठभूमि जे भए पनि निरन्तर मिहिनेत र विश्वास भए आफ्नो कला संसारको जुनसुकै मञ्चसम्म पुर्याउन सकिन्छ भन्ने दृष्टान्त म आफैँ भएँ कि!
७. तपाईंको भावी योजना र सपना के छ?
नयाँ प्रोजेक्टका लागि प्रस्ताव आइरहेको छ। छिटै केही राम्रा प्रोजेक्ट पनि आउँदै छन्। भावी योजनाको कुरा गर्दा, अहिले नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा विस्तारित भइरहेको छ। कलाकारका रूपमा मेरो सबैभन्दा ठूलो चाहना यही यात्राको हिस्सा बन्नु हो। नेपाललाई चिनाउने, नेपाली कथा र नेपाली संवेदनालाई विश्वसामु पुर्याउने सिनेमाहरूमा जोडिएर आफ्नो तर्फबाट सानै भए पनि योगदान दिन सकूँ भन्ने चाहना छ।