काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

स्मृतिशेष

देवेन्द्रराज पाण्डेको सबैभन्दा ठूलो गुण इमानदारी र निडरता थियो। आन्दोलनका बेला उहाँ सडकको बीचमा झन्डा बोकेर हिँड्नुहुन्थ्यो। म भने पेटीबाट हेर्थें। उहाँ जेल जान तयार हुनुहुन्थ्यो, म डराउँथेँ।

४ श्रावण २०८३
अ+
अ-

२९ पुस २०८० मा मैले ‘स्वावलम्बन अवधारणा र डा. देवेन्द्रराज पाण्डेको योगदान’ बारे बोलेको थिएँ। त्यसबेला डा. पाण्डे मेरै सामु बसेर सुनिरहनुभएको थियो। दुःखद कुरा, अब उहाँको भौतिक शरीर हामीमाझ छैन। उहाँले छोडिगएका सम्झना भने ताजै छन्। उहाँका योगदान र मार्गदर्शन अनुकरणीय छन्।

मेरो जन्म विशालनगरमै भएकाले उहाँ मेरो छिमेकी हुनुहुन्थ्यो। उहाँको कान्छो भाइ कल्याणराज पाण्डे मेरो साथी। स्कुल अलग थियो तर हामी सँगै क्रिकेट खेल्थ्यौँ।

डा. पाण्डेलाई झल्याकझुलुक देखे पनि कुरा हुँदैनथ्यो। उहाँकी श्रीमती पद्माको माइतीघर र मेरो बसाइ सडक वारि-पारि थियो। उहाँको विवाह हुनुअघिदेखि नै देखादेख भइरहन्थ्यो, चिनजान र बोलचाल भने थिएन। तर, हामी एक-अर्काका सपरिवारलाई नै चिन्थ्यौँ।

त्यसपछिको चिनारी डा. पाण्डेका दाजु नरेन्द्रराज पाण्डेसँग भयो। भारतबाट एमए गरेर फर्किएपछि मेरो पहिलो जागिर रेडियो नेपालद राइजिङ नेपालमा भयो। भारतमा समाजशास्त्रमा स्नातकोत्तर पढेर फर्केको थिएँ। आफ्नै क्षेत्रमा तत्काल काम नपाएकाले अंग्रेजी भाषामा ठिकठिकै ज्ञानका आधारमा रेडियो नेपालमा अवसर पाएँ। अंग्रेजी बोल्न असहज लागे पनि लेख्न भने सक्थेँ। मैले समाचारपछि प्रसारण हुने पाँच मिनेटको समसामयिक कार्यक्रमका लागि लिखित सामग्री तयार गर्नुपर्थ्यो। रेडियो नेपालको अंग्रेजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी नरेन्द्रराजकै थियो। मैले उहाँसँग करिब डेढ वर्ष काम गरेँ। त्यो मेरा लागि ठूलो सिकाइको अवधि थियो।्

देवेन्द्रराज पाण्डे, राजेन्द्र दाहाल र चैतन्य मिश्र।

उहाँबाट सिकेको एउटा कुरा आजसम्म मैले बिर्सिएको छैन। मैले विकास, पर्यटन, संस्कृति, जात्रा जस्ता विविध विषयका ‘कटिङ’ संकलन गरेर राख्नुपर्थ्यो। त्यसबेला उहाँले मलाई भन्नुभएको थियो, ‘सबै कुरा कण्ठ गर्नुपर्दैन। तथ्य कहाँ छ भन्ने थाहा भए पुग्छ।’

नयाँ कुरा सोच्न दिमाग खाली राख्नुपर्छ भन्ने उहाँको त्यो कुरा जीवनभर उपयोगी भयो। अहिले पनि म अंक, तिथिमिति केही सम्झन्नँ। चाहिएको स्रोत आवश्यक पर्दा कहाँ भेटिन्छ भन्ने थाहा भए पर्याप्त हुन्छ भन्ने उहाँबाटै सिकेँ।

सरकारी जागिरबाट राजीनामा दिएपछि डा. देवेन्द्रराज पाण्डे आईडीएस (पछि आईआईडीएस- इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज)सँग जोडिनुभयो। त्यो संस्था कुलशेखर शर्मा, भेषबहादुर थापा र प्रकाशचन्द्र लोहनीले सुरु गर्नुभएको थियो। डा. पाण्डेले एकदिन मलाई भेट्न बोलाएर विदेशी सहायतासम्बन्धी विषयमा कार्यपत्र लेखिदिन आग्रह गर्नुभयो। संस्थाले आयोजना गर्ने एउटा गोष्ठीका लागि म जस्तै पाँचसात जनालाई कार्यपत्र लेख्न लगाइएको रहेछ।

सुरुमा अलि अनकनाएँ। मलाई दिइएको विषय त्यतिबेला समाजशास्त्रभन्दा टाढाको विषय जस्तो लाग्थ्यो। तर, नाइँ भन्न सकिनँ, त्यसलाई अवसरका रूपमा लिएँ। त्यहीँबाट उहाँ र मेरो चिनजान भयो। त्यसपछि सन् १९८७/८८ तिर आईआईडीएसका अन्य काममा पनि संलग्न भएँ।

डा. पाण्डेको मान्यता थियो, अर्थशास्त्र, राजनीति र समाजलाई अलग अलग गरेर बुझ्न सकिँदैन विश्वविद्यालयमा विषयहरू छुट्टाछुट्टै हुन्छन् तर जीवन र समाजमा ती सबै मिसिएका हुने भएकाले  समाज बुझ्न सबै कुरा जोडेर हेर्नुपर्छ भन्ने उहाँको सोच थियो।

त्यसको केही वर्षपछि सन् १९९८ मा डा. पाण्डेले नेपालको पहिलो मानव विकास प्रतिवेदन हामी मिलेर लेखौँ भनेर फेरि बोलाउनुभयो। एक-डेढ वर्ष लगाएर केही साथीको सहयोगमा तयार पारेको त्यस प्रतिवेदनले एकदमै सकारात्मक प्रतिक्रिया आयो। प्रतिवेदनले विकासलाई केवल आर्थिक वृद्धिको दृष्टिले होइन, मानव जीवन, शिक्षा, स्वास्थ्य, अवसर र सामाजिक न्यायको दृष्टिले हेरेको थियो।

उहाँ स्वतन्त्रता, लोकतन्त्र, विकासबीचको अन्योन्याश्रित सम्बन्धबारे स्पष्ट हुनुहुन्थ्यो। हामीले सहकार्य गरेको नेपाल विकास प्रतिवेदन ‘हरेक नागरिक र नागरिक समूहको क्षमता अभिवृद्धि एवं विस्तारमा नै विकास र स्वतन्त्रता अडेको हुन्छ’ भन्ने अवधारणामा आधारित थियो। हामीले अमर्त्य सेनको स्वतन्त्रता र विकासबीचको अन्योन्याश्रित सम्बन्ध र उनकै जस्तो धारणा बोक्ने विचारकहरूको अवधारणा पछ्याएका थियौँ। त्यसले नेपालमा विकासको बहसमा एउटा नयाँ अध्याय सुरु गर्‍यो।

त्यसपछि हामीले धेरै काम त गरेनौँ, तर हाम्रो भेट भइरह्यो, सम्बन्ध चलिरह्यो। छिमेकी भए पनि हाम्रो सम्बन्ध व्यक्तिगत नभई एकदमै व्यावसायिक प्रकृतिको थियो। यद्यपि, उहाँ चाबहिल, मित्रपार्कमा रहेको मेरो हालको घर पनि आउनुभएको छ, म उहाँको घर गएको छु। एकअर्काका श्रीमती, छोराछोरी सबैलाई चिन्छौँ हामी।

उहाँकी श्रीमती पद्माजीले ज्ञानेश्वरमा स्कुल खोल्नुभएको थियो, इन्टरनेसनल स्कुल। मेरी छोरीले प्रि-स्कुल त्यहीँ पढिन्। छोरी लिन जाँदा उहाँसँग भेट भइराख्थ्यो। परिवारले परिवारलाई चिने पनि डा. पाण्डे र मेरोबीच व्यक्तिगत तहको सम्बन्ध होइन। हामी निजी जीवनका कुरा कम गर्थ्यौं। भेट हुँदा देश, विकास, अनुसन्धान, नीति, राजनीति, समाज र विश्वको कुरा हुन्थ्यो। यही कारण म हाम्रो सम्बन्धलाई अत्यन्त सम्मानपूर्ण र व्यावसायिक भन्छु।

सोच र जीवन

डा. पाण्डेको एउटा परिचय अर्थशास्त्री पनि हो। तर, उहाँले आजकालको जस्तो ‘इकोनोमिक्स’ मा नभई ‘डेभलपमेन्ट इकोनोमिक्स’ (विकास अर्थशास्त्र)मा विद्यावारिधि गर्नुभएको हो। विकास अर्थशास्त्र भनेको केवल अर्थतन्त्रको अध्ययन होइन, त्यसमा राजनीति, समाज, संस्कृति, राज्य, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्ध सबै जोडिन्छन्। त्यसैले उहाँ अर्थशास्त्र, राजनीति र समाजलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्नुहुन्नथ्यो। उहाँको सोचको दायरा व्यापक  थियो।

उहाँको मान्यता थियो, अर्थशास्त्र, राजनीति र समाजलाई अलग अलग गरेर बुझ्न सकिँदैन। विश्वविद्यालयमा विषयहरू छुट्टाछुट्टै हुन्छन् तर जीवन र समाजमा ती सबै मिसिएका हुने भएकाले  समाज बुझ्न सबै कुरा जोडेर हेर्नुपर्छ भन्ने उहाँको सोच थियो।

डा. पाण्डे अमेरिका पढ्न गएको समयमा मार्टिन लुथर किङको नेतृत्वमा रंगभेद र असमानताविरोधी सिभिल राइट्स आन्दोलन भइरहेको थियो। त्यो समयसम्म अमेरिकालाई धेरैजसो एकताबद्ध र समस्या नभएको समाजका रूपमा प्रस्तुत गरिन्थ्यो। समाजलाई के कुराले जोड्छ भन्ने विषयमा धेरै ध्यान थियो।

सन् १९६० को दशकपछि अमेरिकी समाजभित्रको विभाजन, असमानता र संघर्षहरू स्पष्ट रूपमा देखिन थाले। त्यसमा भियतनाम युद्धले पनि ठूलो प्रभाव पारेको थियो। युद्धमा भएका हिंसा देखेर धेरै मानिस आक्रोशित थिए। मानिसहरू सडकमा निस्कन्थे, विरोध गर्थे। रंगभेद, लैंगिक विभेद, गरिबीविरुद्धको आन्दोलन उठिरहेका थिए।

डा. पाण्डेले काम गरेको पाल्पाको झडेवा गाउँका दलित वा सीमान्त मानिसको जीवन विश्व अर्थतन्त्रसँग कसरी जोडिएको छ भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्नुहुन्थ्यो। यही उहाँको बौद्धिक विशेषता थियो।

सडकदेखि विश्वविद्यालयहरूसम्म यस्ता आन्दोलनको प्रभाव परेको थियो। डा. पाण्डे यी कुराबाट प्रभावित हुनुभयो। अमेरिकाका मानिसहरू अधिकारका लागि सडकमा उत्रिएको देख्दा, युद्ध र अन्यायका घटनाहरू देख्दा उहाँको सोच अझ फराकिलो भएको भयो।

सिभिल राइट्स आन्दोलन अवलोकन गर्न जाँदा उहाँलाई एकदिन प्रहरीले थुनामा समेत राखेको थियो। त्यसबेला उहाँको मनमा पक्कै आयो होला, अमेरिका जस्तो शक्तिशाली देशमा पनि सीमान्तीकृत मानिसहरू छन् भने नेपाल जस्तो देशमा त झन् धेरै समस्या छन्।

मेरो आफ्नै अनुभवले पनि यस्तै भन्छन्। भारतबाट फर्किएपछि लाग्यो, मैले किताब त पढेँ तर संसार बुझ्न बाँकी रहेछ। त्यसपछि अमेरिका जाने बेलामै सोच बनाइसकेको थिएँ, अमेरिका जानु भनेको केवल किताब पढ्न होइन, संसार पढ्न जाने हो। समाजशास्त्र पढ्ने भए पनि समाज बुझ्नुपर्छ, अमेरिका बुझ्नुपर्छ, संसार बुझ्नुपर्छ भन्नेमा प्रस्ट थिएँ।

त्यसैले पाँच वर्ष विद्यावारिधि गर्ने समयलाई संसार बुझ्ने अवसरका रूपमा हेरेँ। डा. पाण्डेको सन्दर्भमा पनि यस्तो भएको हुनुपर्छ भन्ने लाग्छ।

केही विशेष गुण

डा. पाण्डेका केही विशेष गुण थिए, जुन मेरा लागि प्रेरणादायी छन्।

उहाँ कामप्रति गम्भीर लगाव र प्रतिबद्धता भएको मान्छे हुनुहुन्थ्यो। कुनै काम गर्ने निर्णय लिएपछि गर्नैपर्ने, त्यसमा तलमाथि छैन। हरेक काम उत्कृष्ट ढंगले गर्नुपर्ने उहाँको मान्यता थियो। लटरपटर, औसत कामले चल्दैनथ्यो।

काम अत्यन्तै छिटो गर्नुहुन्थ्यो। दोलखामा सञ्चालन भएको एकीकृत ग्रामीण विकास कार्यक्रमसम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्नुपर्ने थियो। तोकिएको समयमै काम सक्न उहाँले करिब ७०-८० पृष्ठको प्रतिवेदन दुई रातमै तयार गर्नुभयो। त्यो असाधारण क्षमता हो। उहाँमा रहेको प्रतिबद्धता केवल विचारमा होइन, समयप्रतिको अनुशासनमा पनि देखिन्थ्यो।

श्रीमती पद्मा पाण्डेका साथ देवेन्द्रराज पाण्डे। तस्बिर स्रोत : देवेन्द्रराज पाण्डेको फेसबुक पेजबाट

उहाँ एकदमै गम्भीर लगाव भएको मान्छे। नेपाल मात्र होइन, विश्वसँग लगाव थियो उहाँको।

म आफ्ना विद्यार्थीहरूलाई भन्छु– जीवन र सिद्धान्त घोल्न सकियो भने त्यो सार्थक सिकाइ भयो। नत्र पण्डित्याइँ हुन्छ। आकाश र जमिन जोड्नुपर्छ।

डा. पाण्डेका लागि पदभन्दा नैतिकता ठूलो थियो। उहाँबाट मैले सिकेको सबैभन्दा ठूलो कुरा अनुसन्धान वा लेखनको सीप मात्र होइन, बौद्धिक इमानदारी थियो।

डा. पाण्डे यही कुरा व्यवहारमा उतार्न सफल व्यक्ति हुनुहुन्थ्यो। उहाँ आकाश-पाताल जोड्न सक्नुहुन्थ्यो। उहाँले काम गरेको पाल्पाको झडेवा गाउँका दलित वा सीमान्त मानिसको जीवन विश्व अर्थतन्त्रसँग कसरी जोडिएको छ भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्नुहुन्थ्यो। यही उहाँको बौद्धिक विशेषता थियो।

पाल्पाको एउटा गाउँमा मानिसले कसरी राम्रो जीवन बाँच्न सक्छ, कसरी शिक्षा, स्वास्थ्य र आयमा सुधार आउन सक्छ भन्ने प्रश्नदेखि लिएर अन्तर्राष्ट्रिय विकास सहयोगको संरचनासम्म उहाँ एउटै दृष्टिले हेर्नुहुन्थ्यो।

उहाँले नेपाललाई मात्र हेर्नुभएन। संसारबाट सिक्ने र संसारलाई नेपालबारे सिकाउने दृष्टिकोण राख्नुभयो। उहाँ भन्नुहुन्थ्यो, ‘विदेशी सहायताले हामीलाई आफ्नै गल्ती गरेर सिक्ने अवसर पनि दिएन।’

विकासको प्रक्रिया आफ्नै समाजले आफ्नै अनुभवबाट सिक्दै अघि बढ्नुपर्छ। गल्ती गर्ने, त्यसबाट सिक्ने र फेरि सुधार गर्ने क्षमता विकासको आधार हो। जब सबै निर्णय बाहिरबाट निर्देशित हुन्छन् भने त्यो सिकाइ नै अवरुद्ध हुन्छ भन्ने उहाँको बुझाइ थियो।

मलाई एउटा सेमिनारको सम्झना छ। विदेशी सहायताबारे ठूलो कार्यक्रम आयोजना गरिएको थियो। सामान्यतया यस्ता कार्यक्रममा प्रमुख अतिथि, उद्घाटन, आसन ग्रहण, लामो स्वागत मन्तव्य र औपचारिकतामा धेरै समय बित्छ। धेरै परम्परा हामीले सोच्दै नसोची पछ्याइरहेका हुन्छौँ। उहाँ भने त्यस्ता अनावश्यक परम्परा तोड्न सक्ने व्यक्ति हुनुहुन्थ्यो।

स्वतन्त्र नागरिक

उहाँको इमान, निष्ठा र हकी स्वभाव जगजाहेर छ। दातृ संस्था, सरकार वा कुनै पनि शक्तिशाली पक्षसँग कुरा गर्दा उहाँले आफूलाई सही लागेको कुरा नधकाई-नचपाई भन्न सक्नुहुन्थ्यो। कसैलाई खुसी पार्न आफ्नो विचार परिवर्तन गर्ने स्वभाव उहाँमा थिएन। यही स्वभावले सरकारी पदबाट राजीनामासमेत दिनुभयो।

यस्तो निडरताको मुख्य कारण उहाँको निष्ठा हो। किनकि, उहाँका लागि पदभन्दा नैतिकता ठूलो थियो। उहाँबाट मैले सिकेको सबैभन्दा ठूलो कुरा अनुसन्धान वा लेखनको सीप मात्र होइन, बौद्धिक इमानदारी थियो। उहाँ कहिल्यै व्यक्तिगत लाभका लागि आफ्नो प्रभाव प्रयोग गर्नुहुन्नथ्यो। नेपालमा सामान्यतया प्रभावशाली व्यक्तिसँग नातेदार वा साथीहरूले सहयोगको अपेक्षा गर्छन्। तर, उहाँले यस्तो काम कहिल्यै गर्नुभएन।

उहाँले आफ्नो किताब द आइडिया अफ इन्टिग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सनमा ‘इन्टिग्रिटी’ को अवधारणालाई परिभाषितसमेत गर्नुभएको छ।

डा. पाण्डेले आफ्नो इमानदारी, सत्यनिष्ठा र नैतिकतालाई ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल शाखालगायत सो संस्थाको बर्लिन, जर्मनीमा रहेको मुख्य कार्यालयमा समेत बसेर पुष्टि गर्नुभएको छ। दक्षिण एसियाकै प्रभावशाली बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो। बौद्धिक सञ्जालहरूमा पनि सक्रिय हुनुभयो। दक्षिण एसियाका मानवअधिकार, लोकतन्त्र र सार्वजनिक नीतिमा काम गर्ने क्षेत्रीय संस्थाहरूमा उहाँको महत्त्वपूर्ण भूमिका रह्यो। उहाँको साथ लागेर मैले श्रीलंका, भारत, पाकिस्तानलगायत देशहरूमा भ्रमणसमेत गरेको छु। पाकिस्तानको निर्वाचन अवलोकन गर्न जाँदा मैले धेरै कुरा सिक्ने अवसर पाएँ।

इमानदार, निडर र नैतिकवान् भएकै कारण डा. पाण्डे स्वतन्त्र हुनुहुन्थ्यो। त्यो स्वतन्त्रता नै उहाँको सबैभन्दा ठूलो शक्ति थियो।

उहाँको जीवन र उहाँको किताबको शीर्षक एक ज्यान, दुई जुनी ठ्याक्कै मिलेको अनुभूति हुन्छ। धेरै मानिस सुरक्षित जीवनमै सन्तुष्ट हुन्छन्। राम्रो सरकारी जागिर, प्रतिष्ठा र सुविधा पाएपछि त्यहीँ रोकिन्छन्। तर, उहाँले सधैँ चुनौती र इमानको बाटो रोज्नुभयो।

म उहाँलाई सम्झँदा पदभन्दा बढी उहाँको निडरता सम्झन्छु। उहाँले पढ्नुभएको, लेख्नुभएको, सचिव हुनुभएको वा पीएचडी गर्नुभएको महत्त्वपूर्ण कुरा हुन्। तर, आफ्नो जीवनलाई आवश्यकताअनुसार परिवर्तन गर्न सक्ने साहस त्योभन्दा ठूला कुरा हो।

डा. पाण्डेको सबैभन्दा ठूलो गुण इमानदारी र निडरता थियो। त्यो स्तरको निडरता ममा छैन। आन्दोलनका बेला उहाँ सडकको बीचमा झन्डा बोकेर हिँड्नुहुन्थ्यो। म भने पेटीबाट हेर्थें। उहाँ जेल जान तयार हुनुहुन्थ्यो, म डराउँथेँ। उहाँको त्यो गुण ममा छैन।

मलाई लाग्छ, उहाँमा यो आत्मविश्वास दुई कारणले आएको थियो। पहिलो, उहाँले संसार देख्नुभएको थियो। धेरै देशको अनुभव, अध्ययन र अनुसन्धानका आधारमा उहाँ आफ्नो कुरा राख्नुहुन्थ्यो।

उहाँ अध्ययनमा समर्पित हुनुहुन्थ्यो। अमेरिका जाँदा पनि उहाँकी छोरी वा नातिनातिनासँग बाहेक मुख्य समय विश्वविद्यालयको पुस्तकालयमा बित्थ्यो। अध्ययन, लेखन, छलफल वा सार्वजनिक बहस जस्ता कामले उहाँलाई निरन्तर सक्रिय राखेको थियो।

अहिलेको परिवर्तित राजनीतिक सन्दर्भमा नागरिकहरूले फेरि त्रास सिर्जना भएको महसुस गर्दै छन्। यसबारे डा. पाण्डे आफ्ना अन्तिम दिनसम्मै चिन्तित हुनुहुन्थ्यो।

दोस्रो, उहाँले नेपालको विकट गाउँदेखि मन्त्रालयसम्म प्रत्यक्ष अनुभव गर्नुभएको थियो। त्यसैले कुनै विदेशी विज्ञले दिएको सुझावलाई उहाँ अन्तिम सत्य ठान्नुहुन्नथ्यो।

समाज र देशप्रतिको समर्पण अत्यन्त गहिरो थियो। विकास उहाँका लागि कुनै पेसागत विषय मात्र थिएन, त्यो नैतिक जिम्मेवारी थियो। त्यसैले उहाँ सधैँ मान्छेहरूको माझमा र सडकमा भेटिनुभयो। उहाँको सक्रियता पदका कारण होइन, बौद्धिक जिज्ञासा र सार्वजनिक जिम्मेवारीको भावनाबाट आएको थियो।

निस्वार्थ र निडर भएकैले उहाँ स्वतन्त्र हुनुहुन्थ्यो। त्यो स्वतन्त्रता नै उहाँको सबैभन्दा ठूलो शक्ति थियो। जीवनभर स्वतन्त्र बौद्धिकका रूपमा रहनुभयो। कुनै दल, कुनै सरकार वा कुनै संस्थाको स्थायी प्रवक्ता कहिल्यै बन्नुभएन। आवश्यकता र परिस्थितिअनुसार समर्थन र आलोचना गर्नुभयो।

उहाँले हरेक बोलाइ र लेखाइमा निरन्तर ‘स्वतन्त्र नागरिक’ को मान्यतालाई जोड दिनुभएको छ। मलाई लाग्छ, उहाँले आफू र अरूलाई पनि स्वतन्त्र नागरिक बन्न उत्प्रेरित गर्नुभयो। इतिहासको उर्लंदो भेलसँग जुध्ने मानिसकै विचार खारिने हो। उहाँ जति उमेर बित्दै गयो, त्यति खारिँदै जानुभयो।

उहाँ आफूलाई नागरिक भएर हेर्नुहुन्थ्यो। नेपालीलाई रैतीबाट नागरिक हुनुको अर्थ बुझाउन उहाँले देखाएको सक्रियता र साहसकै कारण धेरैले उहाँलाई नागरिक आन्दोलनका अगुवा माने।

अहिलेको परिवर्तित राजनीतिक सन्दर्भमा नागरिकहरूले फेरि त्रास सिर्जना भएको महसुस गर्दै छन्। यसबारे डा. पाण्डे आफ्ना अन्तिम दिनसम्मै चिन्तित हुनुहुन्थ्यो। यो संकट बढ्दै गयो भने हामीलाई फेरि उहाँ जस्तै स्वतन्त्र, निष्ठावान् र निर्भीक बौद्धिक नागरिकको खाँचो पर्नेछ।

(प्राध्यापक मिश्रसँग प्रभाकर गौतमले गरेको कुराकानीमा आधारित।)