शैली
आयोजकहरूलाई पारदर्शिता र विश्वसनीयता कायम राख्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढ्ने चुनौती
हालै नेपालका दुई प्रभावशाली मानिएका पुरस्कारका मनोनयन सूची सार्वजनिक भए। १५ असारमा खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारमा छनोट भएका १५ कृतिको विस्तारित सूची सार्वजनिक गर्यो। ४ साउनमा मदन पुरस्कार गुठीद्वारा अन्तिम १० प्रतिस्पर्धी किताबको सूची सार्वजनिक भयो।
सूची सार्वजनिक भएयता सामाजिक सञ्जालमा सम्बन्धित सर्जकहरूलाई पाठक लेखकहरूले बधाई तथा शुभकामना दिने क्रम अझै जारी छ। पाठक तथा लेखकवृत्तमा कुन कृतिले पुरस्कार पाउला भन्ने अड्कलबाजीसमेत सुरु भइसकेको छ। पुस्तक पसलहरूमा मनोनीत पुस्तकहरू खोज्ने ग्राहक भेटिन थालेका छन्। रमाइलो कुरा, मनोनीत सूची सार्वजनिक भएसँगै मिडियामा ती पुस्तकको समीक्षासमेत प्रकाशित गर्ने गराउने क्रम तीव्र देखिन्छ।
प्रत्येक वर्ष मनोनय सूची सार्वजनिक भएसँगै पुरस्कारबारे आलोचना गर्नेहरू मुखर हुन्छन्। पुरस्कारबारे केही सदाबहार र समयसान्दर्भिक टीकाटिप्पणी यसपटक पनि जारी छन्– मनोनित सूचीमा यो कृति किन छुट्यो? त्यो किताब किन परेन?
उदाहरणका लागि धेरै पाठकलाई लाग्न सक्छ, २०८२ मा प्रकाशित भई चर्चा पाएका अर्चना थापाको अग्निगर्भा, लोकरञ्जन पराजुलीको सन्धिकाल जस्ता कृति किताब यी दुई पुरस्कारका सूचीमा किन अटाएनन्? वा, महेशराज पन्तलिखित जयतु संस्कृतम् आन्दोलन र संस्कृत शिक्षा, पृथ्वीनारायण शाह, तृतीय पुरुष, रिक्थ र इतिहास, लिच्छविशासनमध्ये कुनै एउटा मात्र पनि मनोनयनमा किन परेन?यो पनि प्रश्न गर्न सकिन्छ, हरेक वर्ष विभिन्न पुरस्कारको सूचीमा यस्ता महत्त्वपूर्ण कृति किन छुट्छन्?

२०८१ सालको मदन पुरस्कार विजेता छुदेन काविमो (देब्रेबाट दोस्रो) र जगदम्बा श्री सम्मानबाट सम्मानित प्रेमदेव गिरी (दायाँबाट दोस्रो)।
धेरै हदसम्म यसको जवाफ पुरस्कार प्रदान गर्ने संस्थाहरूको नियम, छनोट प्रक्रिया र मापदण्डमा भेटिन्छ। मदन पुरस्कार र पद्मश्रीका हकमा पनि यही कुरा लागु हुन्छ।
यहाँनेर ध्यान दिनुपर्ने कुरा, मदन पुरस्कार पाइसकेको लेखकलाई पुनः मदन पुरस्कार दिइँदैन। त्यसैले कतिपय उत्कृष्ट पुस्तक वा लेखक स्वतः प्रतिस्पर्धाबाहिर पर्न सक्छन्। पद्मश्रीमा पनि यही नियम छ। एकै वर्ष मदन पुरस्कार र पद्मश्री पनि पाउने कृति झमक घिमिरेको जीवन काँडा कि फूल मात्र हो। त्यसैले यी दुई पुरस्कारमा मनोनीत हुने सर्जकमध्ये कोही न कोही दुईमध्ये एक पुरस्कार पाइसकेको हुने सम्भावना रहन्छ नै।
यसबाहेक पूर्वप्रकाशित भइसकेका सामग्री धेरै भएका कृतिहरू उत्कृष्ट भएरै पनि पुरस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउँदैनन्। दीपक अर्यालका अनुसार पूर्वप्रकाशित सामग्रीबारे मदन पुरस्कारको विधानमै उल्लेख गरिएको छ। उनी भन्छन्, “यो नयाँ नियम होइन, धेरै अघिदेखि लागु हुँदै आएको व्यवस्था हो। अहिले यसको महत्त्व झन् बढेको छ, किनभने कथा, कविता र निबन्धजस्ता विधाका धेरै सामग्री पहिले पत्रपत्रिका वा अन्य माध्यममा प्रकाशित भएर पछि पुस्तकका रूपमा छापिन्छन्।”
विधानमा एकतिहाइ पूर्वप्रकाशित सामग्री भएमा त्यसलाई पुरस्कारका लागि योग्न नमान्ने नियम छ।
यसबाहेक कतिपय लेखकको पुरस्कारका लागि पुस्तक नपठाउने निर्णयले पनि कृतिहरू छुट्छन्। जस्तै, अग्निगर्भा उपन्यासकी लेखक तथा अक्षर क्रिएसन्स प्रकाशनकी संस्थापक अर्चना थापा कुनै पनि पुरस्कारका लागि आफूले आफ्ना कृति दर्ता नगर्ने बताउँछिन्। उनको असन्तुष्टि पुरस्कारभन्दा पनि प्रक्रियाप्रति देखिन्छ। उनी भन्छिन्, “लेखकले आफैँ निवेदन दिने प्रक्रियामा मेरो आपत्ति हो।”

खेमलाल हरिकला सम्मान ग्रहण गर्दै शिक्षाविद् केदारभक्त माथेमा। तस्बिर : जीवा लामिछानेको फेसबुक
लेखक थापा जस्तै कुमार नगरकोटीले पनि कृति दर्ता नगराउने घोषणा गरेका थिए। तर, प्रकाशन गृहमार्फत दर्ता भएपछि नगरकोटीको कल्पग्रन्थ मदन पुरस्कारको मनोनयन सूचीमा पर्यो। पुरस्कार प्रदान गर्ने संस्थाहरूले भने लेखक वा प्रकाशक दुवै आधिकारिक पक्ष मानेका छन्।
पुस्तक छान्ने प्रक्रिया
हुन त पृष्ठभूमिका हिसाबले मदन पुरस्कार र पद्मश्री फरक समयमा फरक उद्देश्यले स्थापना भएका पुरस्कार हुन्।
रानी जगदम्बाले मदनशमशेर राणाको स्मृतिमा २०१२ सालमा मदन पुरस्कारको स्थापना गरेकी हुन्। २०१३ सालमा घोषणा भएको पुरस्कार २०१४ सालमा प्रदान गरिएको थियो। तत्कालीन समयमा चार हजारबाट सुरु भएको यो पुरस्कारको राशि हाल चार लाख रुपैयाँ पुगिसकेको छ।
२०६३ सालमा स्थापना भएको पद्मश्री साहित्य पुरस्कार काठमाडौँबाहिर प्रकाशित हुने उत्कृष्ट कृतिलाई प्रदान गर्ने उद्देश्यबाट सुरु भएको थियो।

२०३४ सालको मदन पुरस्कार वितरण समारोह। तस्बिर : मदन पुरस्कार गुठीको वेबसाइट
२०६६ देखि मोफसलको दायरा विस्तार गर्दै पद्मश्रीले नेपाल र विदेशबाट प्रकाशित नेपाली भाषाका कृतिहरूलाई समेट्न थालेको हो।
तथापि, यी दुईबीच थुप्रै समानता र तुलनायोग्य विषयसमेत छन्। २०४५ देखि मदन पुरस्कार गुठीले कृति नभई सर्जकलक्षित जगदम्बा श्री सम्मान सुरु गरे जस्तै प्रतिष्ठानले पनि २०६६ सालयता व्यक्तिलाई सम्मान गर्ने अभ्यास सुरु गरको छ। यसलाई पद्मश्री साधना सम्मान नाम दिइएको छ। यसबाहेक २०७८ समाजमा विशिष्ट योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई दिइने पद्मश्री गौरव पुरस्कार पनि थपिएको छ। यी सबै सम्मानको घोषणा एउटै कार्यक्रममा गरिन्छ र कोजाग्रत पूर्णिमाका दिन औपचारिक रूपमा वितरण गरिन्छ।
मदन पुरस्कार होस् वा पद्मश्री, दुवै पुरस्कारको दौडमा सामेल हुन अघिल्लो वर्ष प्रकाशित पुस्तकहरू दर्ता हुनैपर्ने नियम छ। यसरी बुझाइने पुस्तक लेखक वा प्रकाशकले बुझाउन सकिने नियम छ। पद्मश्रीमा फाराम नभरी पुस्तक दर्ता गर्न सकिन्छ भने मदन पुरस्कार गुठीमा भने विवरण पत्रसमेत भर्नुपर्ने हुन्छ। दुवै संस्थाले नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित कृतिसमेतलाई पुरस्कारका लागि खुला राखेका छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार २०८२ सालमा गुठीमा दर्ता भएका कुल २९८ पुस्तकलाई मूल्यांकन गरी १० कृति छनोट गरिएको हो।
त्यसैगरी, पद्मश्रीका संस्थापक तथा अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार २०८२ सालमा प्रकाशित भई प्रतिष्ठानलाई प्राप्त १९२ वटा पुस्तकमध्येबाट १५ वटा किताबको विस्तारित सूची छानिएको हो।

पद्मश्री पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रतीक घिमिरे, नवराज पराजुली र नगेन्द्रराज शर्मा। फाइल तस्बिर
गुठीका सदस्यसचिव दीपक अर्याल नेपालभित्र तथा नेपालबाहिरबाट एक वर्षभित्र कुन कुन किताब प्रकाशित भए भन्ने भरपर्दो रेकर्ड नहुने भएकाले गुठीमा बुझाइएका पुस्तक मात्र पुरस्कारका लागि योग्य हुने प्रावधान राखिएको बताउँछन्।
पद्मश्रीका लागि भने सुरुका वर्षहरूमा पुस्तक दर्ता अनिवार्य थिएन। प्रतिष्ठानका उपाध्यक्ष रवीन्द्र समीर पछि व्यावहारिक तथा कानुनी जटिलता सिर्जना भएकाले पुस्तक दर्ता अनिवार्य गर्नुपरेको बताउँछन्।
“कतिपय पुस्तक हाम्रो जानकारीमै नआउने भए। कतिपय लेखकले आफूले दर्ता नगरेको पुस्तक कसरी मूल्यांकन गरियो भन्ने प्रश्नसमेत उठाए। त्यसपछि हामीले दर्ता प्रणाली लागू गर्यौँ,” उनी भन्छन्।
मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार दुवैको छनोट प्रक्रिया लगभग एउटै छ। मदन पुरस्कारका सन्दर्भमा, पुस्तक दर्तापछि संस्थाबाहिरका सदस्यहरूको बहुमत रहने छनोट समितिले पुस्तक अध्ययन गरेर सर्टलिस्ट तयार गर्छ। त्यसपछि अघिल्लो समितिका सदस्य नदोहोरिने गरी नयाँ समिति गठन हुन्छ, जसले सर्टलिस्टका पुस्तक अध्ययन गरी आवश्यकताअनुसार विषयगत विज्ञहरूको राय पनि लिन्छ। नयाँ समितिले उत्कृष्ट पुस्तकको नाम मदन पुरस्कार गुठीलाई सिफारिस गर्छ। समितिको सिफारिस सर्वसम्मत भए साधारणसभाले अनुमोदन गर्छ, मतभेद भए साधारणसभाले छलफलपछि अन्तिम निर्णय गर्छ।

२०२४ सालको मदन पुरस्कार ग्रहण गर्दै लेखक शंकर लामिछाने। तस्बिर : मदन पुरस्कार गुठीको वेबसाइट
पद्मश्रीमा पनि पुस्तक छनोट प्रक्रिया दुई चरणमा सम्पन्न हुन्छ। पहिलो चरणमा पुस्तक छनोट समितिले दर्ता भएका सम्पर्ण कृतिको अध्ययन गरी १५ पुस्तकको विस्तारित सूची तयार पार्छ। त्यसपछि पुरस्कार छनोट समितिले ती १५ पुस्तकको पुनःमूल्यांकन गरी पाँच पुस्तकको छोटो सूची बनाउँछ। अन्ततः ती पाँचमध्ये एक कृतिलाई पुरस्कारका लागि सिफारिस गरिन्छ र कार्यसमितिबाट औपचारिक निर्णय गरिन्छ।
पद्मश्रीको छोटो सूची १५ भदौ आसपास सार्वजनिक हुन्छ भने कोजाग्रत पूर्णिमामा विजेता घोषणा तथा सम्मान कार्यक्रम आयोजना गरिन्छ। सामान्यतया भदौ-असोजमा विजेताको नाम घोषणा गरिने मदन पुरस्कार भने कोजाग्रत पूर्णिमाका अवसरमा आयोजित समारोहमा समर्पण गरिन्छ।
यी दुई पुरस्कारको समयतालिका मात्रै मिल्दैन, पुरस्कार राशि पनि समान चार लाख छ। “हामी मदन पुरस्कारका लागि कुनै पनि कृतिले नेपाली भाषामा गरेको योगदान, कृतिको मौलिकता र नवीनतालाई प्राथमिकतामा राख्छौँ,” अर्याल बताउँछन्।
समीर भन्छन्, “पद्मश्री पुरस्कारका लागि हामीले साहित्यका मुख्य चार विधालाई आधार मानेका छौँ। कविता, नाटक, आख्यान (कथा र उपन्यास) र निबन्ध (यात्रासंस्मरणलगायत) समावेश छन्। यी चार विधाभित्रका मौलिक साहित्यिक कृतिहरू मात्रै मूल्यांकनका लागि स्वीकार गरिन्छ।”

अद्वैत उपन्यासका लागि पद्म श्री ग्रहण गर्दै श्री कृष्ण गौतम। तस्बिर : जीवा लामिछानेको फेसबुक
हामीकहाँ आसेपासे रिझाउने भद्रगोल सरकारी पुरस्कार पाउनुभन्दा नपाउनुलाई सम्मान मान्नुपर्ने अवस्था छ। यस्तो माहोलमा निजी स्तरबाट प्रदान गरिने केही पुरस्कारले पुरस्कारको साख जोगाउने प्रयत्न गरिरहेका छन् भन्दा फरक नपर्ला। कम्तीमा उनीहरू सानो समूहबीच भए पनि पुरस्कार किन दिने वा नदिने भन्नेबारे चरण चरणको प्रक्रियामा सामेल देखिन्छन्।
तर, निर्णायक मण्डलमा को को छन् र पुरस्कृति छनोट हुने मापदण्ड के थियो भन्ने स्पष्ट व्याख्या नहुँदा पुरानो र प्रतिष्ठित मदन पुरस्कारसमेत आलोचित हुँदै आएको छ। र, मदन पुरस्कारलाई नै पछ्याएको जस्तो देखिने पद्मश्रीको अभ्यास पनि उस्तै हुँदा आलोचना आउने नै भयो।
विदेशका प्रतिष्ठित बुकर वा नोबेल पुरस्कारका निर्णायक सार्वजनिक गर्न मिल्ने तर नेपालमा गोप्य राख्ने कारणको चित्तबुझ्दो जवाफ यी संस्थाले दिन सकेका छैनन्।
यद्यपि, पद्मश्रीका तर्फबाट २०७९ सालमा २०७८ का लागि कृति छनोटका लागि राम लोहनीको संयोजकत्वमा स्रष्टाहरू नयनराज पाण्डे र कुमारी लामा निर्णायक समितिमा बसेका थिए। आयोजकका अनुसार पुस्तक चयन प्रक्रियालाई पारदर्शी र अधिकतम सहभागितामूलक बनाउन निर्णायक सार्वजनिक गरिएको थियो। तर, उक्त अभ्यासले अर्को वर्ष निरन्तरता पाउन सकेन।
उपाध्यक्ष रवीन्द्र समीर भन्छन्, “एक पटक पारदर्शिताका लागि निर्णायकहरूको नाम सार्वजनिक गरियो। तर, उहाँहरूलाई विभिन्न पक्षबाट अनावश्यक दबाब र प्रभाव पार्ने प्रयास भएको अनुभव भयो। यही कारणले अहिले निर्णायकहरूको परिचय गोप्य राख्ने नीति अपनाइएको छ।”
तर, लेखक कुमारी लामा पद्मश्रीको निर्णायकमण्डलमा बस्दा आफूलाई कुनै किसिमको दबाब नआएको बताउँछिन्।
पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक
लेखक लामा पुरस्कार छनोट प्रक्रियामा जुरी सदस्य र मापदण्ड सार्वजनिक गर्दा पारदर्शिता र विश्वसनीयता बढ्ने मत राख्छिन्। मदन पुरस्कारमा मनोनीतसमेत भएकी लामा भन्छिन्, “अन्तर्राष्टिय प्रतिष्ठित पुरस्कारहरूले गर्ने अभ्यास पनि यही हो। मदन पुरस्कार र पद्मश्रीले आफूप्रतिको संशय हटाउन र थप विश्वसनीयता आर्जन गर्न पनि पारदर्शी हुनैपर्छ।”
लेखक तथा प्रकाशक थापा सबै खालका साहित्यिक पुरस्कारको सीमा औँल्याउँछिन्। “पुरस्कारको एउटा मुख्य सीमा भनेको कृति प्रकाशित भएको वर्षमै त्यसको मूल्यांकन गरेर पुरस्कार दिनुपर्ने अभ्यास हो,” उनी भन्छिन्, “तर कुनै कृतिलाई पाठकले वर्षौंसम्म सम्झिराख्छन् र फेरि खोजेर पढ्न चाहन्छन् भने त्यो नै सबैभन्दा ठूलो पुरस्कार हो।”
इतिहासविद् महेशराज पन्त दशकौँ पुराना पुरस्कार दिनेहरू पारदर्शी नबनेकामा असन्तुष्ट छन्। उनी भन्छन्, “विवाद आउँछ भनेर अपारदर्शी हुने कि आँट गर्ने? आयोजकहरूले सोच्न ढिलो भइसकेको छ।”
पन्तको अर्को पनि असन्तुष्टि छ। “हाम्रा पुरस्कारहरू धेरैजसो साहित्यिक कृतिकेन्द्रित छन्,” उनी भन्छन्, “इतिहासकारले गरेका अनुसन्धानमुखी कृतिलाई पाठकसम्म पुर्याउन मिडियादेखि पुरस्कार दिने संस्थासम्मले थप ध्यान दिनु आवश्यक छ।”