काठमाडौँ। नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को अक्सन सम्पन्न भएको छ।
काठमाडौँमा आइतबार आयोजना गरिएको अक्सनका क्रममा राष्ट्रिय तथा प्रादेशिक स्तरका ‘ए’, ‘बी’ र ‘सी’ क्याटेगोरीका खेलाडीमाथि ६ वटै टिमले उत्साहजनक रूपमा बोली लगाएका थिए।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितबहादुर चन्दले नेपालमा भलिबलको क्रेज र लोकप्रियता तीव्र रूपमा बढिरहेको बताए। उनले पछिल्लो समय महिला तथा पुरुष भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलताले नेपाल दक्षिण एसियामै भारतपछिको बलियो टोलीका रूपमा स्थापित भएको दाबी गरे।

अध्यक्ष चन्दले भलिबललाई थप व्यावसायिक बनाउन र खेलाडीको भविष्य सुरक्षित गर्न यस्ता फ्रेन्चाइज लिगहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यसपटकको नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवाराज र खप्तड फाल्कन्स गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
नेपाली भलिबलको इतिहासमा पहिलोपटक फ्रेन्चाइज मोडलमा आयोजना हुन लागेको यस लिगले खेलाडीलाई नयाँ अवसर र नेपाली भलिबलको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। एनभीएलको पहिलो संस्करण १२ भदौदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ।